|

डडेल्धुरा : डडेल्धुराको आलिताल गाँउपालिका वडा नं. ८ डोलामा सालका रुखहरू काट्नकै लागि ‘डोला चक्रपथ सडक’ निर्माण गरिएको संसदीय समितिले ठहर गरेको छ।

सुदूरपश्चिम प्रदेशसभाको अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिले आलिताल गाउँपालिकाको गोदामबाजारदेखि डोला जोड्ने सडकको आइतबार स्थलगत अनुगमन गरेको थियो।

समितिका संयोजक दीर्घराज सोडारीको नेतृत्वमा रहेको टोलीले अनुगमन पश्चात सोमबार डडेल्धुरामा पत्रकार सम्मेलन गरी सडक आवश्यकताभन्दा पनि रुख काट्नकै लागि योजनाबद्ध रुपमा सडक बनाइएको जानकारी गराएको हो।

स्थलगत अध्ययनका क्रममा जंगलमा चक्रपथ सडक निर्माण गर्न आवश्यक नदेखिएको समितिको ठहर छ। रुख काटेर तस्करी गर्न नियोजित रूपमा सडक निर्माण गरिएको संसदीय समितिले जनाएको छ। वातावरणीय प्रभाव मूल्यांकन नगरी डोला चक्रपथ सडक काठ तस्करी गर्ने नियतबाटै निर्माण गरिएको प्रदेश सभासदस्य सोडारीले बताए।

डोला चक्रपथ सडक निर्माणका लागि गाउँसभाबाट निर्णय नै नभएको नपाइएको समितिले जनाएको छ। अवैध रुपमा वन फडानी गर्ने मनषायका साथ काम भएको पाइएको संसदीय समितिका अर्का सदस्य महेशदत्त जोशीले बताए ।

स्थलगत अध्ययनका क्रममा त्यहाँ चक्रपथ सडक नै आवश्यक नभएको ठाउँमा सडक बनाएर काठ तस्करी गर्न खोजिएको प्रष्ट देखिएको समितिकी सदस्य पूर्णा जोशीले बताइन् । रिङरोडभन्दा पनि सालका रुखहरु विनास गरी काठ तस्करी गर्नु नै सडक बनाउने उद्देश्य दखिएको जोशीको भनाइ छ।

डिभिजन वन कार्यालयले कानुनी कारवाही प्रक्रियामा अगाडि बढिसकेको हुँदा राम्रोसँग अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाउन संसदीय समितिले निर्देशन दिएको वन डिभिजन प्रमुख विष्णुप्रसाद आचार्यले जानकारी दिए।

‘डिभिजन वन कार्यालयले २ जनालाई पक्राउ गरि हिरासतमा राखेर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।’ उनले भने, ‘यस विषयमा वन मन्त्रीलगायत मन्त्रालयका सचिवसम्म छलफल भइसकेको छ।’

वन डिभिजन कार्यालयले आलिताल गाउँपालिकालाई शुक्रबार पत्राचार गरी सडक निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन अध्ययन भए÷नभएको, ठेक्का प्रक्रिया लगायतका विषयमा लिखित जवाफ माग गरेको छ । 

वन कार्यालयको अनुमतिबेगर सालका रुखहरु काटी गाेलिया बनाएर लुकाई  राखेको अवस्थामा ११० थान गोलिया शुक्रबार बरामद गरेको डिभिजन वन कार्यालय डडेल्धुराका निमित्त प्रमुख डवलबहादुर बोहराले जानकारी दिए।

शुक्रबार वन कार्यालयको टोलीले उक्त सडक क्षेत्रमा काठका गोलिया बनाइरहेको अवस्थामा एक जना व्यक्ति र सोही सामुदायिक वनका अध्यक्षलाई नियन्त्रणमा लिई हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको कार्यालयले जनाएको छ । 

गोदाम बजारदेखि डोलागाउँ जोड्ने सडक करिब १ करोड ४५ लाखको बजेटमध्ये ७७ लाखमा उग्रतारा कन्स्ट्रक्सनको ठेक्का सदर भई २०७७ पुससम्म निर्माण सम्पन्न गरि सम्झौता भएको आलिताल गाउँपालिकाले जनाएको छ । 

एक करोडभन्दा माथिको ठेक्कामा प्रमुख प्रशासकीय अधिकृतले सम्झौतामा हस्ताक्षर गर्न नपाउने भएकोले गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङ र निर्माण कम्पनीका प्रतिनिधिबीच हस्ताक्षर भएको तत्कालीन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह ठगुन्नाले जानकारी दिए।

संघीय सरकार र आलिताल गाउँपालिको सम्पुरक बजेटबाट पुरानै सडकको सुधार विस्तार कार्य रहेकोले त्यसै कार्यअन्र्तगत रुखहरु काटिएको भन्ने जानकारी प्राप्त भएको गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङले बताए। उनका अनुसार पहिला नै ट्रयाक खोलिएको सडक भएको र समयावधी निकै कम भएकाले वातावरणीय प्रभाव मूल्यांकन नगरेरै निर्माण सुरु गरिएको हो।

डडेल्धुरासहित बझाङ, बैतडी र दार्चुलामा प्राकृतिक प्रकोपको अनुगमन गर्नका लागि सुदूरपश्चिम प्रदेश अर्थ, विकास तथा प्राकृतिक स्रोत समिति संयोजक दीर्घराज सोडारीको संयोजकत्वमा प्रदेशसभा सदस्य महेशदत्त जोशी, अक्कल रावल, पूर्णा जोशी, प्रेमप्रकाश भट्ट र सामाजिक विकास समिति सदस्य ग्याल्पु बोहरा रहेको टोलीले आलितालमा भएको वन फाडानी तथा पहिरोपीडितहरुको अनुगमन गरेको थियो।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.