प्रहरीले अपराधी लुकाउन खोजेको मृतकका आफन्ताको आरोप

|

गरुडा : निषेधाज्ञाको समयमा पनि रौतहटको गरुडा बजारमा जुलुस प्रदर्शन भएको छ। 

गत साउन ३१ गते हत्या भएका गरुडा—८ जिगडियाका निरन्जन रामको हत्यारालाई प्रहरीले उन्मुक्ति दिन खोजेको भन्दै सोमबार दिउँसो मृतकका आफन्तसहित ठूलो संख्याले गरुडा बजारमा प्रदर्शन गरेका हुन्। 

समुदायस्तरमा कोरोना देखा परेको भन्दै गत साउन २४ गतेदेखि भदौ १४ गतेसम्म जिल्लामा निषेधाज्ञा गरिएको छ। हत्याका मुख्य अभियुक्त सच नर्सरीका संचालक राजाराम साहसहित उनका २ भाइ भएका र प्रहरीले उनीहरुलाई उन्मुक्ति दिन खोजेको निरन्जन राम हत्याकाण्ड जिल्ला संघर्ष समितिका संयोजक सोनेलाल रामले जानकारी दिए

प्रहरीले निर्दोष मान्छे दोषी बनाएर समातेको उनको आरोप छ। गत साउन ३१ ग्ते गरुडास्थित जिगडियामा रहेको एक सच फलफूल नर्सरीमा कार्यरत १७ वर्षीय निरञ्जन रामको घाँटीमा धारिलो हतियारले रेटी हत्या गरिएको थियो। हत्याको आरोपमा नर्सरीका संचालक राजाराम साह पनि प्रहरी हिरासतमा छन्। 

हत्यामा संचालक साहका भाइ लखन पनि संलग्न भएका र उनलाई प्रहरीले पक्राउ नगरेको संघर्ष समितिको आरोप छ। पीडित परिवारले भने वास्तविक पीडकलाई पक्राउ गर्नुको सट्टा निर्दोष व्यक्तिलाई हत्यामा संलग्न रहेको देखाउन खोजेको आरोप लगाएका छन्।

पीडित पक्षले हत्यामा संलग्नको किटानी दिँदासमेत प्रहरीले उजुरी दर्ता नगरेको र उल्टै दुव्र्यवहार गरेको दलितअधिकारकर्मी जितबहादुर विश्वकर्माले जानकारी दिए। 

यता इलाका प्रहरी कार्यालय गरुडा निरन्जन हत्याकाण्डमा ११ वर्षीय बालिकालाई अनुसन्धानको नाममा चरित्र हत्या गरेको आफन्तजनले लगाएका छन्।रौतहटको चन्द्रपुरमा आइतबार भएको पत्रकार सम्मेलनमा गरुडा नगरपालिकाको वडा नम्बर ८ जिगडियाका एक ११ वर्षीय नाबालिकालाई इलाका प्रहरी कार्यालय गरुडाले ५ घण्टा हिरासतमा राखेर ती नाबालिकाको चरित्र हत्या गरेको निरञ्जन राम हत्याकाण्ड जिल्ला संघर्ष समिति रौतहटले आरोप लगाएको छ।

संघर्ष समितिले हिजोे आइतबार घटनाबारे चन्द्रनिगाहपुरमा पत्रकार सम्मेलनसमेत गरेको थियो। सम्मेलनमा हत्या गरिएका निरञ्जन रामका बुवा नन्दलाल र आमासहित दलित अधिकारकर्मीको सहभागिता रहेको थियो।

उता इलाका प्रहरी कार्यालय गरुडाले घटनामा संलग्न रहेको आरोपमा सच नर्सरीका संचालक राजाराम साह सहित ७ जनामाथि कर्तव्य ज्यान मुद्दा चलाएको छ।निरन्जन हत्या आरोपमा सोही गाउँका शेख गुलाबीका छोरा आजाद, मनोहर महराका छोरा अजय कुमार रन्जन, शशिभुषण यादवका छोरा विवेक, मंगल रामका छोरा अर्जुन, हितलाल पासवानका छोरा सिकिन्द्र, पनिलाल महराका छोरा विजयलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक ज्ञान कुमार महतोले जानकारी दिए।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.