|

बुटवल : पञ्चायत कालमा सरकारले गाउँ/नगर पञ्चायतमा खेलकुद प्रतियोगिता आयोजना गर्न निर्देशन जारी गर्थ्यो। जनता खेलकुदमा रमाएर सरकारका गतिविधिमा ध्यान नदिउन् भन्ने उसको लुप्त ध्येय हुन्थ्यो।

त्यही निर्देशनको पालना अनुसारै बुटवलमा २०३१ सालमा तिलोत्तमा गोल्डकपको स्थापना भयो। त्यसको २ वर्षपछि २०३३ सालमा प्रतियोगिता आयोजना भयो।

बुटवलको मध्यभागबाट बग्ने तिनाउ नदीको पुरानो नाम तिलोत्तमाकै नामबाट गोल्डकप खेलाइयो। त्यतिबेला बुटवल नगर पञ्चायतले तिलोत्तमा गोल्डकप आयोजना गर्नका लागि छुट्टै टीम बनाउँथ्यो र केही बजेट दिन्थ्यो।

गोल्डकप आयोजनाका लागि उपयुक्त मैदान पनि थिएन। हालको बुटवल बहुमुखी क्याम्पसको मैदानमा शुरुका प्रतियोगिताहरु सञ्चालन भए। पछि प्रहरी तालिम केन्द्रको मैदानमा प्रतियोगिता गर्न थालियो।

‘बुटवल त उत्सव जसरी नै जुरुक्क उठ्थ्यो त्यो बेला, तिलोत्तमा गोल्डकप एउटा फुटवल प्रतियोगिता मात्रै थिएन, बुटवलकै उत्सव थियो’, त्यतिबेलाको चर्चित क्लब कालिका स्पोर्टिङ क्लबका महेन्द्र हमाल सम्झिन्छन्।

बुटवल नगरपञ्चायतको आयोजनामा हुने खेलमा सहभागी हुन भारतका त्यतिबेलाका चर्चित क्लबहरु एयरफोर्स इण्डिया, इन्डियन रेल्वे, महिन्द्रा एण्ड महिन्द्रा, कलकत्ता एफसी आउँथे। नेपालका ६ वटा र भारतका ६ वटा क्लब सहभागी गराइन्थ्यो। यसले पनि रोचक हुन्थ्यो प्रतियोगिता। नगरका घरघरबाट सहयोग उठाएर प्रतियोगिताको खर्च जुट्थ्यो।

‘नगर पञ्चायतले दिएको रकमले प्रतियोगिता सम्पन्न गर्न गाह्रो हुन्थ्यो, व्यक्तिसँग चन्दा मागेरै प्रतियोगिता आयोजना हुन्थे–जिल्ला फुटवल संघ रुपन्देहीका पूर्व अध्यक्ष हमाल भन्छन्–‘म पनि २ पटकका प्रतियोगिताको संयोजक भएर काम गरेँ, उतिबेला गोल्डकपको चर्चा बढी थियो, गोल्डकप जितेपछि नामै चर्चामा रहन्थ्यो, त्यसैले पनि उपाधि जित्न रस्साकस्सी हुन्थ्यो।’

पहिलो गोल्डकप (२०३३) सिद्धार्थ खेलकुद परिषद् रुपन्देहीले जित्यो। ३४ सालमा बम्बई फर्टिलाइजर भारतले जित्यो। ३५ सालको उपाधि महेन्द्र पुलिस क्लबको हातमा गयो। यसपछि लगातार ३९, ४० र ४१ सालमा बुटवलको कालिका स्पोर्टिङ क्लबले उपाधि कब्जा गर्‍यो।

‘तीन वर्ष लगातार हामीले गोल्डकप जित्यौं, लगातार जितेकै कारण हामीलाई ७५ हजार रुपैयाँ दिइएको थियो, शिल्डबाहेक अरु केही दिइन्नथ्यो, तरपनि यसको महत्व बेग्लै थियो’ हमाल सम्झिन्छन्–‘नेपालका टीमलाई केही भत्ता दिइन्थ्यो,  विदेशीलाई पनि सहभागी भएबापत् केही रकम छुट्टै दिने चलन थियो।’

अहिलेजस्तो विकास भइनसकेको त्यतिबेलाको बुटवलका होटल र पसलहरु यही प्रतियोगिताबाट राम्रो आम्दानी गर्थे। ‘बुटवलका सबैजसो होटलहरु भरिभराउ हुन्थो', हमाल सम्झिन्छन् ‘बुटवलले प्रतियोगिताकै कारण राम्रो आम्दानी गर्थ्यो, सबै क्षेत्रमा बेग्लै रौनक छाएको हुन्थ्यो, अहिले सम्झिदा त अनौठो लाग्छ।’

एकखालको गरिमा बोकेको गोल्डकप द्वन्द्व शुरु भएपछि गुमनाम भयो। ‘द्वन्द्व शुरु भएपछि प्रहरी तालिम केन्द्रमा टुर्नामेन्ट गराउन पाइएन, त्यसपछि त हामीलाई टुर्नामेन्ट गराउने ठाउँ नै भएन', जिल्ला फुटबल संघ रुपन्देहीका पूर्व अध्यक्ष हरि श्रेष्ठ सम्झिन्छन् ‘सरकारी निकायको ध्यान पनि अन्तै मोडियो, खेलकुदका गतिविधि नै हुन सकेनन्, गोल्डकप हुने कुरै भएन, रोकियो।’

गोल्डकपको संरक्षक रहेको नगरपालिकाले पनि चासो लिन छाड्यो। अस्तव्यस्त राजनीतिको चेपमा खेलकुद पर्‍यो। २०५२ सालपछि नगरपालिकाले जिल्ला फुटबल संघ रुपन्देहीलाई गोल्डकपको स्वामित्व सुम्पियो। स्वामित्व पाएपनि संघले प्रतियोगिता आयोजना गर्न सकेन।

मुलुक शान्ति प्रक्रियामा आएपछि खेलकुद क्षेत्र फेरि उठ्यो। यहीबीचमा लामो रस्साकस्सीबीच एन्फा टेक्निकल सेन्टर रुपन्देहीले पायो। बुटवल नगरका तत्कालीन मेयर भोजप्रसाद श्रेष्ठका पालामा बुटवल १३ देवीनगरमा एन्फा टेक्निकल सेन्टरका लागि जग्गा स्वीकृत भयो।

‘एन्फाको एकेडेमी आफ्नो ठाउँमा पार्न पूर्व र पश्चिमका धेरै साथीहरु लागेका थिए, हामीले त्यतिबेला जग्गा नपाएको भए एकेडेमी फिर्ता जान्थ्यो', श्रेष्ठ बताउँछन् ‘एकेडेमी आएपछि हामीले तिलोत्तमा गोल्डकपलाई निरन्तरता दिनसक्यौं, म अध्यक्ष रहेकै बेलामा मैले २ वटा टुर्नामेन्ट गराएँ। त्यसपछि गोल्डकपले निरन्तरता पाउन थालेको छ। कहिले राजनीतिक कारण, कहिले आर्थिक कारण त कहिले पूर्वाधारका कारण गोल्डकप निरन्तर हुन सकेन, अहिले निरन्तर हुन थालेको छ, राम्रो छ, यसलाई प्रोत्साहन गर्नुपर्छ, विजनेस हाउसहरुले प्रमोसन गर्नुपर्छ।’

अनेक उतारचढाव र उल्झन्हरु झेल्दै ४० वर्षको अन्तरालमा तिलोत्तमा गोल्डकपको १९ औं संस्करण बिहीबारदेखि आयोजना हुँदैछ। ‘हाम्राबीचमा धेरै चुनौतीहरु आए,–जिल्ला फुटवल संघ रुपन्देहीका अध्यक्ष दीर्घबहादुर केसी (कुमार) भन्छन् ‘तरपनि सबैको साथ पाएर २०७१ सालमा हामीले अठारौं गोल्डकप गर्‍यौं, अहिले १९औं संस्करण आयोजना गर्दैछौं, यसमा पनि सबैको साथ पाउनेछौं भन्ने हाम्रो विश्वास छ।’

विगतमा बुटवल नगरबाट १ लाख रुपैयाँ पाउने तिलोत्तमा गोल्डकपले अहिले १० लाख पाउन थालेको छ। गोल्डकप उपाधिको राशी साढे ५ लाख पुगेको छ। मुख्य प्रायोजकले १५ लाख दिने वातावरण बनेको छ। यसरी फुटवलमा सकारात्मक र आशालाग्दा सुधारहरु देखिएका छन्।

‘परिस्थिति बदलिदै गयो, उपाधिको राशी नै नभएर खेलाएको त्यो तिलोत्तमा गोल्डकप, घरघरमा पुगेर चन्दा उठाएर आयोजना गरेको गोल्डकपले अहिले धेरै फड्को मार्‍यो, ‘बच्चैदेखि तिलोत्तमा गोल्डकपलाई चिन्ने एन्फा उपाध्यक्ष श्रेष्ठ भन्छन् ‘यसले फुटबलमा जीवन समर्पित गर्नेहरुलाई उत्साह थप्छ। गोल्डकप आयोजना गर्नका लागि मरिमेटेकाहरुलाई जोश बढाउँछ।’

हुनपनि, यसैकारण देशकै पुरानो र चर्चितमध्येको तिलोत्तमा गोल्डकप जिउँदो रहिरह्यो। यसकै कारण रुपन्देहीलाई फुटबलका लागि उर्वर भूमि भनेर चिनाइरहन बल पुर्‍यायो। श्याम थापा, मधु कार्की, वसन्त थापाजस्ता कैयौं राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्‍यो।

कहिले कसले जिते?

२०३३ – सिद्धार्थ खेलकुद परिषद, रुपन्देही

२०३४ – बम्बई फर्टिलाइजर, भारत

२०३५ – महेन्द्र पुलिस क्लब, काठमाडौं

२०३९ – कालिका स्पोर्टिङ्ग क्लब, बुटवल

२०४० – कालिका स्पोर्टिङ्ग क्लब, बुटवल

२०४१ – कालिका स्पोर्टिङ्ग क्लब, बुटवल

२०४२ – जनकपुर चुरोट कारखाना लि., जनकपुर

२०४३ – आर.एन.ए.सी., काठमाडौ

२०५१ – महेन्द्र पुलिस क्लब, काठमाडौ

२०५२ – महेन्द्र पुलिस क्लब, काठमाडौ

२०५३ – महिन्द्रा एण्ड महिन्द्रा, भारत

२०५४ – त्रिभुवन आर्मी क्लब, काठमाडौ

२०५५ – महेन्द्र पुलिस क्लब, काठमाडौ

२०५७ – रुपन्देही ११, रुपन्देही

२०५८ – फ्रेण्ड्स क्लब, काठमाडौ

२०६५ – नेपाल आर्मी क्लब, काठमाडौ

२०६७ – जावलाखेल युथ क्लब, काठमाडौ

२०७१ – रुपन्देही ११, रुपन्देही

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.