सक्रिय संक्रमित ४ हजार ७ सय, मृतकको संख्या ६२

|

जनकपुरधाम : प्रदेश २ मा कोरोना संक्रमितको संख्या ९ हजार नाघेको छ। सोमबार १ सय ८५ जनामा कोरोना पुष्टि भएको छ। योसँगै प्रदेशमा संक्रमित संख्या ९ हजार १७ पुगेको हो।

सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सबभन्दा बढी बारामा ९४ कोरोना संक्रमित थएिका छन्। यस्तै पर्सामा ३५ जना, रौतहटमा २१ जना र सिरहामा ८ जनामा कोरोना पुष्टि भएको छ। धनुषामा र महोत्तरीमा ३÷३ जना तथा सर्लाही र सप्तरीमा १० जना संक्रमित थपिएका छन्। 

एकजना संक्रमितको जिल्ला नखुलेको र उनी ६० वर्षीया महिला रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। पर्साका नयाँ संक्रमितमध्ये वीरगन्जका ५ जना, वीरगन्ज भिस्वाका १३ जना, नारायणी अस्पताल क्वार्टरका १ जना, इनर्वा मनियारीका १ जना, पर्सागढी नपास्थित हरपुर दलित स्कुलका १४ जना र ठाउँ नखुलेका १ जनामा संक्रमण देखिएको छ।

यस्तै रौतहटका संक्रमितमध्ये स्वास्थ्य कार्यालय गौरका ४ कर्मचारीमा कोरोना पुष्टि भएको छ। सिरहा, धनुषा, महोत्तरी, बारा, सर्लाही र सप्तरीका सबै संक्रमित सर्वसाधारण रहेका सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासन विजय झाले जानकारी दिए।

सोमबार कोरोनालाई १८ जनाले जितेर डिस्चार्ज भएका छन्। जसमध्ये २ महिला छन्। सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार हालसम्म ४ हजार २५५ जनाले कोरोनालाई जितेका छन्।

५ हजार बढीको रिपोर्ट आउन बाँकी 

हालसम्म गरिएको स्वाब संकलनमध्ये ५ हजार बढीको रिपोर्ट आउन बाँकी छ। सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार ५ हजार ७२१ जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ।

सबभन्दा बढी सप्तरीमा १ हजार १९१ जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ। यस्तै सिरहाका ३०३, धनुषाका १ हजार १ सय, महोत्तरीका ४ सय, सर्लाहीका ७ सय ६८, रौतहटका ८ सय ९७, बाराका ७ सय ६२ र पर्साका ३ सय ३० जनाको पिसिआर रिपोर्ट आएको छैन।

प्रदेश २ मा हालसम्म ८९ हजार ८ सय ६८ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षण गरिएको छ। जसमध्ये ७५ हजार १ सय जनाको रिपोर्ट नेगेटिभ आएको सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा छ।

प्रदेश २ मा हाल १ हजार ७३ जना आइसोलेसन र ३ हजार ६ सय २७ जना होम आइसोलेसनमा छन्। प्रदेश २ मा संक्रमित ९ हजार १७ मध्ये ४ हजार ७ सय जना सक्रिय संक्रमित छन्। 

मृतकको संख्या ६२ पुग्यो

कोरोनाको हटस्पट बनेको छ प्रदेश २। यहाँ सबभन्दा बढी प्रभावित पर्सा र धनुषा छन्। पर्सामा हालसम्म २८ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्। धनुषामा भने कोरोनाले मृत्यु हुनेको संख्या ११ पुगेको छ।

यस्तै बारामा ७ जना, सप्तरीमा ५ जना र महोत्तरीमा २ जना कोरोना संक्रमितको ज्यान गएको छ। कोरोनाकै कारण सिरहा, सर्लाही र रौतहटमा पनि ३÷३ जनाले ज्यान गुमाएका मन्त्रालयले तथ्यांक छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.