|

रुपन्देही : बुटबलमा बिहीबारदेखि सुरु भएको प्रतिष्ठित १९ औं तिलोत्तमा गोल्डकपमा विभागीय टोली एपीएफले जीत हासिल गरेको छ। एपीएफले पाहुना टोली शेरे एफसी कालिम्पोङलाई १-० ले हरायो।  

पहिलो हाफको २१ औं मिनेटमा एपीएफबाट सरोज कोइरालाले गोल गरेका थिए। त्यही गोल खेलमा निर्णायक बन्यो। अधिकांश समय बललाई आफ्नो नियन्त्रणमा राखे पनि एपीएफले थप गोल गर्न सकेन।

खेलको ६९ औं मिनेटमा एपीएफले अग्रता दोब्बर पार्ने अवसर पाएको थियो। शेरे एफसीका गोलरक्षक विवेक तामाङले एपीएफका राम कुमाललाई फल गरेपछि फिफा रेफ्री विकास महतले एपीएफलाई पेनाल्टीको अवसर दिएका थिए। तर कप्तान मिलन राईको प्रहारलाई गोलकिपर तामाङले आकर्षक रुपमा जोगाए। 

खेलमा दुबै टोलीले पाएका राम्रा अवसर सदुपयोग गर्न सकेनन्। एपीएफका रुपक लामा 'म्यान अफ दि म्याच' घोषित भए।

प्रतियोगिता अन्तर्गत शुक्रबारको खेल त्रिभुवन आर्मी क्लब, काठमाडौं र  युनाइटेड सिक्किम, भारतबीच हुने रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष दीर्घबहादुर केसी (कुमार)ले जानकारी दिए।

यसअघि गोल्डकपको उद्घाटन रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले गरेका थिए। उद्घाटन कार्यक्रममा सिंहले खेलकुद प्रतियोगिताले पर्यटन प्रवद्र्धनमा टेवा पुग्‍ने बताए।

एन्फा एकेडेमी बुटवल–१३ देविनगरको खेल मैदानमा सञ्चालित प्रतियोगितामा अग्नी रुपन्देही ११, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल आर्मी, सिएमजी संकटा क्लब, धरान फुटबल क्लब, एचएम हिमालयन शेर्ष क्लब, रमपम झापा ११, सिक्किम युनाईटेड एफसी भारत र शेरे एफसी क्यालिङगपोङ भारतको सहभागिता रहेको छ।

फागुन २१ गतेसम्म सञ्चालन हुने खेलको विजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र शिल्ड तथा उपविजेताले ३ लाख ३३ हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगितको सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर प्रदान गरिनेछ। पाँच विधागत पुरस्कारबाट पनि खेलाडी पुरस्कृत हुनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.