भेन्टिलेटर र आइसीयुका उपकरण पनि ल्याइँदै

|

काठमाडौं : कोरोना संक्रमण हुने क्रम बढ्दै जाँदा सरकारले परीक्षणका लागि चाहिने अत्यावश्यक परीक्षण कीट तथा स्वास्थ्य सुरक्षा सामग्री खरिद प्रक्रियालाई तीव्रता दिएको छ ।

सरकारसँग हाल करिब ३५ दिनलाई पुग्‍ने पिसिआर परीक्षण कीट छ। तर कोरोना समुदायस्तरमा पुगेर तीव्र गतिमा फैलिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकैपटक अत्यधिक मात्रामा  कोरोना परीक्षणका लागि प्रयोगशालामा आवश्यक रिएजेन्टसहित अन्य सामाग्री खरिद गर्न लागेको हो।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति व्यवस्था शाखाले यसै हप्ता ४३ करोड बढीको स्वास्थ्य सामग्री खरिदका लागि टेन्डर आव्हान गरेको छ।

शाखाले यसै हप्ता तीन लाख थान आरटिपिसिआर किट, त्यही परिमाणमा भिटिएम, ५० हजार आरएनए एक्सट्याक्सन कीट लगायत सामग्री खरिदका लागि टेन्डर आव्हान गरेको हो । यस्तै ५ करोड रुपैयाँको पिपिई सेटसमेत खरिदका लागि टेन्डर आव्हान भइसकेको छ।  

भेन्टिलेटर र आइसीयुका उपकरण पनि 

व्यवस्थापन महाशाखाका प्रमुख डा. रमेश खरेलले आपूर्ति व्यवस्था शाखाले यो साता टेन्डर प्रक्रिया अघि बढाएको बताए। उनले सम्झौता भएको बढीमा १० दिनसम्ममा सामान आइपुग्‍ने जानकारी दिए। 

उनले ३५ करोड रुपैयाँको आरटिपिसिआर, झण्डै ५ करोडको भिटिएम र त्यति नै रुपैयाँ बराबरको पिपिई सेट खरिदका लागि टेन्डर आव्हान भइसकेको बताए।

उनले अब यसै हप्ता भेन्टिलेटरसहितका सामाग्रीको पनि टेन्डर आव्हान हुने बताए । 'हाल लक्षणसहितका संक्रमित बढ्न थालेका छन्। यस्तो अवस्थामा आइसियु र भेन्टिलेटरको धेरै आवश्यक पर्न सक्छ, त्यसैलाई मध्यनजर गर्दै भेन्टिलेटर पनि खरिदको टेन्डर गर्न लागेका छौं', उनले भने। 

यसअघि मन्त्रालयको कोभिड-१९ स्वास्थ्य क्षेत्र द्रुत योजनामा नेपालमा कोरोना संक्रमणको अवस्था खराब रुपमा अघि बढ्यो भने असोजको अन्तिमसम्ममा १ लाख ८० हजार व्यक्ति संक्रमणमा पर्ने प्रक्षेपण गरेको थियो।

गत असार पहिलो सातादेखि असोजको अन्तिमसम्म १६ हप्ता यो योजनाले आइसियु र भेन्टिलेटरमा जाने बिरामीको संख्या २० हजारको हाराहारीमा पुग्‍ने अनुमान गरेको थियो। 

यस्तै मृत्यु हुनेको संख्या पनि उल्लेख्य हुने अनुमान थियो। त्यही अनुमानसहित मन्त्रालयले स्वास्थ्य सामाग्री मौज्दात राख्न खरिद प्रक्रिया अघि बढाएको हो।

हाल देशका ४० बढी प्रयोगशालाबाट कोरोना परीक्षण हुँदै आएको छ। यी प्रयोगशालाको क्षमता दैनिक २० हजार बढी भए पनि अहिलेसम्म एक दिनमा १४ हजारसम्मको परीक्षण भएको छ। आपूर्ति व्यवस्था शाखाले भने गत असारदेखि नै दैनिक १५ हजार परीक्षण हुने अनुमानका साथ सामग्री व्यवस्थापन गरेको जनाएको छ।

'हामीले असारबाटै दैनिक १५ हजारको दरले परीक्षण हुन्छ भन्‍ने अनुमानका साथ  सामग्री व्यवस्थापन गरेका थियौँ। त्यहीकारण हालसम्म अभाव भएको छैन', व्यवस्थापन महाशाखा प्रमुख डा खरेलले भने, 'अब पनि खराब अवस्था हुँदै गएमा परीक्षणका लागि कीट अभाव नहोस भन्‍ने योजनासहित काम गरिरहेका छौं। त्यसैले हालको अवस्थालाई मध्यनजर गर्दै सामाग्री खरिद प्रक्रिया अघि बढाएका हौं।'

पछिल्लो समय काठमाडौं उपत्यका लगायत प्रमुख शहरहरुमा कोरोना समुदायस्तरमा फैलिएको छ। साउन ७ मा लकडाउन खुलेयता लक्षणसहितका  संक्रमितहरु भेटिएर आइसियु र भेन्टिलेटर भरिने क्रम बढ्दै गएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.