|

मोरङ : विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा अध्ययनरत एक विद्यार्थीलाई डोजरले किचेर गम्भीर घाइते बनाएपछि आक्रोसित विद्यार्थी र प्रहरीबीच पटक-पटक झडप हुँदा ६ जना घाइते भएका छन्।

झडपमा कलेजका विद्यार्थी संजीव यादव र ५ प्रहरी घाइते भए। घटनाको विरोधमा विद्यार्थीले विराटनगर बजारसमेत केहीबेरका लागि बन्द गराएका थिए । उनीहरूले दुईवटा डोजरमा आगो लगाउने प्रयास समेत गरे।

जतुवा घर भै महेन्द्र मोरङ क्याम्पसमा अध्ययनरत विद्यार्थी रुपेशकुमार यादवलाई सडक निर्माणमा प्रयोग गरिएको कालिका कन्स्ट्रक्सनको डोजेरले किचेको थियो। त्यसपछि आक्रोसित भएका विद्यार्थी र प्रहरीबीच झडप भयो। सडक निर्माणको क्रममा रहेको डोजरले महेन्द्र मोरङ क्याम्पसमा बीबीएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी रुपेशकुमार यादवलाई किचेर घाइते बनाएको थियो।

विद्यार्थीलाई घाइते बनाउने चालकलाई लुकाएको भन्दै नजिकै रहेको होटल चिनारीमा  विद्यार्थीले ढुंगामुढा गरे। कलेजबाट बाहिर निस्किएका यादवलाई क्याम्पसको गेट नजिकै डोजरले ठक्कर दिएको थियो। ठक्करबाट घाइते भएका विद्यार्थीलाई चालकले डोजर पछाडी सारेर मार्न खोजेको भन्दै विद्यार्थी थप आक्रोशित भए।

ठक्करले घाइते भएका विद्यार्थी यादवको विराटनगरस्थित न्यूरो हस्पिटलमा उपचार भैरहेको छ। यादव खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिए। यादवको देब्रे खुट्टा भाँचिएको छ भने शरीरका विभिन्न भागमा चोटपटक लागेको छ।

यता विद्यार्थीको कुटाईबाट डोजर चालक पनि गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। विद्यार्थीले डोजर चालकलाई नियन्त्रणमा लिई कुटपिट गरेको मोरङका प्रहरी प्रमुख सन्दीप भण्डारीले बताए।

विद्यार्थीले घटनाको विरोधमा विराटनगरका विभिन्‍न ठाउँमा विरोध प्रदर्शन गर्नुका साथै जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर नाराबाजी गर्दै दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्। मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाले घटनाको अनुसन्धान भइरहेको भन्दै दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्। दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्ति नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी विद्यार्थी संगठनहरुले दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.