|
फोटो : पान ईटा उद्योगमा कार्यरत भारतीय कामदार

  • ईश्‍‍वर थापा 

धनकुटा : वर्षेनी रोजगारीको खोजीमा नेपालका थुप्रै युवाहरु विदेश जान्छन्। तर नेपालका उद्योगमा पनि ठुलो संख्यामा विदेशी कामदारहरु कार्यरत छन्। धनकुटामा रहेका २ उद्योगहरु अहिले अधिकांश भारतीय कामदारको भरमा सञ्चालन भैरहेका छन्।

नेपाली कामदारमा दक्षता नहुने, भएकाहरुले पनि स्थाई रुपमा काम नगर्ने र बढी कमाउने लोभमा विदेश पलायन हुने भएका कारण भारतीय कामदारका भरमा उद्योग चलाउनुपरेको व्यवसायीहरु बताउँछन्। भारतीय कामदारहरुले स्थायी रुपमै बसेर लामो समयदेखि काम गरिरहेको उद्योगीहरुले बताए।

धनकुटाको सिंधुवामा १ अर्ब २५ करोड लगानीमा २०६४ सालदेखि सन्चालित रहेको धनकुटाको एक मात्र सिमेन्ट उद्योग निगाले सिमेन्ट उद्योगमा २० भारतीय कार्यरत छन्। ६ हजार बोरा सिमेन्ट उत्पादन क्षमता भएको यस उद्योगमा दैनिक ८० कामदार आवश्यक पर्छ। तर कामदार अभावमा अहिले यस उद्योगले ३ हजार बोरा सिमेन्ट मात्रै उत्पादन गर्ने गरेको सञ्चालक दिनेश पौडेलले जानकारी दिए।

उनले उद्योगमा कार्यरत ४५ मध्ये २० जना भारतीय रहेको बताए। 'मुख्य काम गर्ने भारतीय कामदारहरु भएनन् भने उद्योग बन्द गर्नुको विकल्प हुन्‍न,' उनले भारतको दिल्ली र बैङ्लोरबाट आएका कामदारले नेपालका २५ युवालाई तालिम दिएर दक्ष बनाएको बताए। यस उद्योगले भारतीय कामदारहरुकै लागि वार्षिक रुपमा ६० लाख रुपैयाँभन्दा बढी खर्च गर्ने गरेको उनले बताए। 

'लामो समयदेखि भारतीय दक्ष जनशक्तिबाट नेपालीलाई काम सिकाएर दक्ष बनाएपनि काम सिकेर नेपालीहरु विदेश जाने गरेका छन्। त्यसैले पटक-पटक समस्या पर्छ। भारतीय कामदारकै भरमा उद्योग चलेको छ,' उनले भने।

२०६७  सालमा करिब ९० लाखको लगानीमा स्थापित धनकुटाको एक मात्र ईटा उद्योग पान ईटा उद्योगले दक्ष कामदारको अभावमा लक्ष्यअनुसारको उत्पादन गर्न सन्चालक नारायणजुन राईले बताउँछन्। धनकुटा नगरपालिकाको बेलहारा गुठीटारमा स्थापित उक्त उद्योगको बार्षिक १२ लाख ईंटा उत्पादन गर्ने क्षमता छ। तर कामदारको अभावमा ९ लाख भन्दा बढी ईंटा उत्पादन गर्न नसकेको राईले बताए।

नेपालमा दक्ष कामदार नपाउने र भारतबाट अग्रिम बुकिङ्ग गरेर ल्याएका कामदारले समेत बेला–बेलामा धोका दिने भएकाले उद्योगले उद्योगले पूर्ण क्षमतामा ईंटा उत्पादन गर्न नसकेको सन्चालक राईले बताए। 'अग्रिम पैसा दिएर बुकिङ्ग गरेको कतिपय कामदार नआउँदा उद्योगलाई वर्षेनी आर्थिक नोक्सानी हुने गरेको छ,' उनले भने,'आएका कामदारहरुले पनि बीचमा काम छाडेर भाग्‍ने समस्याले उद्योग भारतिय कामदारको ताकमा चल्न बाध्य छ,' उनले भने।

हाल  १ करोड १५ लाख लगानी पुगेको यस उद्योगलाई काम गर्न दैनिक ६० जना कामदार आवश्यक परेपनि ४५ जना भारतीय कामदारकै भरमा उद्योग चलिरहेको उनले बताए। यस उद्योगले भारतीय कामदारका लागि वार्षिक २५ लाख रुपैयाँभन्दा धेरै रकम खर्च गर्ने गरेको उनले बताए। उनले भारतको बिहार, दरभङ्गा लगायत स्थानबाट मजदुरी गर्न कामदारहरु आउने गरेको जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.