|

सिन्धुपाल्चोक : जिल्लाको फुल्पिङकोटमा बर्थिङ सेन्टर खुलेसँगै गाउँका महिलालाई सुत्केरी हुँदा टाढासम्म पुग्नुपर्ने समस्या हटेको छ। यसअघि गाउँमा बर्थिङ सेन्ट नहुँदा महिलाहरुलाई सुत्केरी हुँदा सदरमुकाम चौतारा वा काभ्रेको धुलिखेलसम्म लैजानुपर्ने अवस्था थियो। 

‘बर्थिङ सेन्टरको जरुरत पहिले नै थियो, अब ढुक्क भइयो,’  स्थानीय स्वस्थानी कार्कीले भनिन्,‘सुत्केरी गराउँदा आमा र बच्चाको स्वास्थ्य राम्रो हुनेमा अब हामी विश्वस्त छौं।’ स्थानीय यमुना भण्डारीले गाउँमै सुत्केरी गराउँदा गाँउलेलाई सहयोग पुग्ने र मातृ तथा शिशु मृत्युदरमा कमी आउने विश्वास रहेको बताइन्। 

सुत्केरी अवस्थामा आपत्कालिन राहत पुगोस् भनी आकस्मिक कोष समेत खडा गरिएको छ। गाविसको चार स्थानमा सो कोष खडा गरिएको र सो कोषबाट सुत्केरी गराउँदा रकम खर्च गर्न मिल्ने व्यवस्था गरिएको छ। गाउँमा स्वास्थ्य चौकी पहिल्यै भएपनि सुत्केरी गराउने सुविधा थिएन।

आमा र बच्चाको सुरक्षाको लागि वर्थिङ सेन्टरको स्थापना गरिएको जनस्वास्थ्य प्रमुख सुरेन्द्र चौरासियाले जानकारी दिए।‘सेवा प्रवाह राम्रो भएमा आमा र बच्चाको ज्यान जोगाई मातृशिशु मृत्युदर शुन्यमा झार्ने लक्ष्य रहेको छ,’ उनले भने। सुत्केरी गराउने सामाग्री र जनशक्ति दुबै भएपछि सहज भएको स्वास्थ्य चौकी प्रमुख अहेब सुशीला थापाले बताइन्। फुल्पिङकोटमा बर्थिङ सेन्टरसँगै स्वास्थ्यचौकी पनि निर्माण भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.