ओखलढुंगा : कोदो रोप्दा रुम्जाटार पर्मेली गीतले गुञ्जायमान हुन्थ्यो। पूर्वेली भाकाको गीत गाउँदै रुम्जाटारमा कोदो रोप्नु सो क्षेत्रको पहिचान र संस्कृति नै थियो।
तर अहिले यस्तो छैन। आधुनिक गीत-संगीतले बजारमात्र नभई रुम्जाटारलाई पनि आफ्नो वशमा पारेको छ। स्थानीय लोकभाकाका गीत गाउँदै कोदो रोप्ने रुम्जेलीहरू यतिखेर विरलै भेटिइन्छन्।
पर्मेली गीतले दुई सय वर्षदेखि माइती र चेलीको सम्बन्ध जोडिरहेको हो। गीत-संगीतले जोडेको यो सम्बन्धलाई समयको बहावले टुटाउन खोजिरहेको छ। रोजीरोटीका लागि युवाहरू अन्यत्र भासिनुपर्ने र बसाइँ सर्नेहरूको ताँतीले रुम्जाटार अचेल एक्लिएको छ। यो एक्लोपनले बुढापाकाहरूलाई सबैभन्दा बढी पिरोल्छ।
पर्म लगाउने परम्परा अर्थात सामूहिक खेतीपाती गर्ने काम रुम्जाटारको संस्कृति नै थियो। तर रुम्जाटारको माटोमा उभिएकाहरु अहिले सुविधाको खोजीमा दूर-सुदूरमा पुगेका छन्। नतिजा उही हो : माटोमा उभिएकाहरू अन्यत्र हिँडे, माटोको संस्कृति ढल्दैछ।
कुनै बेला निकै चहलपहल हुने रूम्जाटारका घरहरू अहिले रित्तिँदैछन्। मानिस हिँडेपछि रित्तिएका घरुहररु रूग्ण देखिन्छन्। यतिखेर रुम्जाटारको जग्गामा खेती गर्न आसपासबाट मानिसहरू आइरहेका छन्।
तर, उनीहरूको आगमनले रुम्जाको रैथाने स्वाद भर्न सकेको छैन। बाहिरबाट आएकाहरूलाई न पर्मेली परम्पराप्रति चासो छ, न त त्यहाँको संस्कृतिलाई टपक्कै टिपेर जीवनशैलीमा जोड्न फुर्सद छ। गुरूङ समुदाय बाहुल्य रहेको रुम्जाटार कोदो उत्पादनका लागि यस क्षेत्रमै प्रख्यात स्थान हो।
रूम्जाटारमा अहिले पहिलाको तुलनामा पर्मेली परम्परा हराउन थालिसकेको सिद्धिचरण नगरपालिका–४, रूम्जाटारकी स्थानीय पदमकुमारी गुरूङ बताउँछन्। 'गाउँभरका माइती-चेली जुटेर एकैदिन मेलो सल्टाउँदा हामी जसरी रमाउँथ्यौँ, अहिले त्यस्तो छैन। कतैकतै मात्रै अर्मपर्म चलिरहेको भएपनि अब त यो परम्परा नै मासिने पो हो कि भन्ने चिन्ता लागेको छ।' उनी भन्छिन्।
रुम्जाटारमा साउन महिनाको पहिलो सातादेखि नै कोदो रोपाइँ सुरू हुन्छ। तर, पहिले झैं न पर्मेली हुन आउँछन्, न उनीहरूले गाउने पर्मेली गीतले टार नै गुञ्जायमान हुन्छ। स्थानीय लक्ष्मी गुरूङ भन्छिन्, 'बाजागाजासहित पर्मेली गीत गाउँदै र तामझाम गर्दै कोदो रोपाइँ गर्ने रुम्जाटारको चलन हो, कोदो त अहिले पनि रोपिन्छ, तर न पर्मेली हुल हुन्छन्, न उनीहरूले गीत गाउँछन्, विगत र अहिले तुलना गर्दा निकै नरमाइलो लाग्छ।'
चेलीले कोसेली दिएपछि माइती पर्म लगाउन तयार हुने र माइतीको समेत रोपाइँ सकेपछि अन्त्यमा हुक्काइ (भोज) खाएर कोदो रोपाइँ समापन गर्ने चलन यहाँको पुरानो परम्पराको रूपमा मानिन्छ। तर, अहिले बजारमा निस्किएका थरिथरिका आधुनिक गीत-संगीतले नयाँ पुस्तालाई प्रभावित तुल्याएपछि त्यसको असर पर्मेली गीतमा परेको छ। पर्मेली गीत गाएर कोदो रोप्ने चलनलाई विस्थापित गर्दै अहिले मोबाइलमा गीत बजाएर कोदो रोप्न थालिएको स्थानीयहरू बताउँछन्।
रुम्जाटारमा कुनै बेला कोदो रोप्दाको रमाइलो नै बेग्लै हुन्थ्यो। कोदो रोप्नका लागि जुटेका माइती र चेलीको हुलले साउन महिनामा रूम्जाटार ढाकेको हुन्थ्यो। बाँसुरी, मादल, बच्छेबाजालगायतका बाजा बजाएर मेलामा पर्मेली गीत गाउँदा कुनै ठूलै चाडको झल्को आउँथ्यो।
पर्मेली परम्परा हराउँदै गएपछि रूम्जाटारमा पर्मेली गीत गाउनेको अभाव हुन थालेको छ। उमेर ढल्केकाहरूले मात्रै पर्मेली गीत भाका हालेर गाउन सक्छन्। तर बुढ्यौलीका कारण उनीहरू मेलापातमा पुगेर भाका हाल्न सक्दैनन्। नयाँ पुस्ताले पर्मेली गीत बिर्सिसके।
तपाईंको ईमेल गोप्य राखिनेछ ।