अधिकारीहरु भन्छन् : गलत विवरण दिएर हराउँछन्

|
फाइल फोटो

काठमाडौं : पछिल्लो समय काठमाडौं उपत्यका मा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ। निषेधाज्ञाको समयमा पनि दैनिक दुई सय भन्दा माथि संक्रमण देखिन थालेको छ। बुधबार मात्रै काठमाडौं जिल्लामै २३० जना संक्रमित भेटिएका छन्। 

संक्रमण बढेपछि हाल काठमाडौं महानगरपालिकाले सबै वडामा निगरानी बढाएको छ। पछिल्लो पटकको संक्रमणबाट काठमाडौंमा पनि कोरोना समुदायस्तरमा पुगिसकेको पुष्टि भएको छ।

काठमाडौंमा कोरोना फैलिँदै गएसँगै संक्रमित नै सम्पर्कविहीन हुने क्रम पनि बढ्दै गएको छ। काठमाडौं महानगरमा मात्रै  २७ जना कोरोना संक्रमित सम्पर्कविहीन रहेका छन्। 

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार केही संक्रमितहरु संक्रमणमुक्त भएर गाउँ फर्किए पनि अन्यहरु सम्पर्कमा नरहेको बताए। 'कतिपय संक्रमितहरु सम्पर्कमा नआउँदा संक्रमण अझै फैलिने डर छ', उनले भने। 

काठमाडौं महानगरपालिकामा  मात्रै २७ जना संक्रमित सम्पर्कमा नआएका हुन्। यसरी सम्पर्कविहीन हुनेहरुमा गलत नम्बर टिपाएका, नाकामा स्वाब दिएर आएका र फोन नम्बर दिएर पनि मोबाइल अफ गरेर बसेकाहरु छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार यस्ता बेपत्ताको संख्या करिब ४० रहेको छ। साउनको अन्तिम हप्ता यस्तै एक व्यक्ति सार्वजनिक यातायात चढेर टेकु पुगेपछि मन्त्रालयसम्म रिपोर्टिङ पुगेको थियो ।

सम्पर्कविहीन हुनेमा अधिकांश प्रभावित जिल्लाबाट आएका र अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरु रहेको बताइएको छ। केही सम्पर्कविहीनमध्ये अधिकांश कवाडी संकलनको काम गर्नेहरू छन्। 

 उनीहरू संक्रमित भए पनि सम्पर्कमा नरहेका कारण कवाडी संकलनका लागि घरघर पुग्‍न सक्ने जोखिम बढेको छ। हाल उपत्यकामा संक्रमण देखिएकामध्ये सबैभन्दा धेरै काठमाडौ महानगरपालिकामा छन्। महानगरपालिकामा मात्रै हाल करिब २ हजार संक्रमित रहेको महानगरपालिका प्रवक्ता डंगोलले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.