|

काठमाडौं : नेपाल एयरलाइन्सको बोइङ १६ करोड ६२ लाख रूपैयाँमा लिलाम गर्न सकिने विदेशी मूल्यांकन परामर्शदाताले सुझाएको छ। उक्त अमेरिकी जेट विमानलाई एअरलाइन्सले २९ वर्षअघि एक अर्ब ३० करोड रुपैयाँमा खरिद गरेको थियो।

निगमले नागरिक उड्डयन प्राधिकरणमा दर्ता गरेको नाइनएन–एसीए कल साइन भएको बोइङ ७५८–२०० सिरिजको विमानलाई लिलाम गर्न हालै छानिएको परामर्शदाता कम्पनी स्वीटजरल्याण्डको फिनटेक एभिएसन सर्भिसले निगमलाई यो मूल्य सुझाएको हो। निगम स्रोतका अनुसार, फिनटेकका विज्ञहरूले काठमाडौंमा आई यो विमानको अहिलेको बजार मूल्य १६ करोड ६२ लाख रूपैयाँ निर्धारण गरेका हुन्। 

ती विज्ञले मंसिर १२ देखि १४ गतेसम्म विमानको इन्जिन, ल्याण्डिङ गियर (पाङ्ग्रा), एभियोनिक्स, उपकरण, एक्जिलरी पावर युनिट लगायतको मूल्यांकन गरेका थिए। यी सबैको अध्ययन गरेर परामर्शदाता फिनटेकले निगमलाई मंसिरमै प्रतिवेदन बुझाइसकेको थियो। 

लिलामबारे निगमले निणर्य गरेर सूचना सार्वजनिक भने गरिसकेको छैन।‘परामर्शदाताले यसको अहिलेको मूल्य तोकेको छ, तर यस्लाई कतिमा बिक्री गर्ने त्यो सञ्चालक समितिले निणर्य गर्ने विषय हो’, निगमका एक निर्देशकले भने। 

उनका अनुसार, सञ्चालक समितिले यसको लिलाम मूल्य जति पनि तोकेर बिक्री गर्न सूचना जारी गर्ने अधिकार छ। तर, परामर्शदाताले तोकेको मूल्यमा १० प्रतिशत तल\माथि गरी लिलाम गर्न सकिने प्रतिवेदनमा उल्लेख छ। जसअनुसार, यदि १० प्रतिशत मूल्य बढाएर बिक्री गर्दा १८ करोड २८ लाख २७ हजार रुपैयाँ र घटाउँदा १४ करोड ९५ लाख रुपैयाँ तोक्न सकिने प्रतिवेदनमा उल्लेख छ। तर, जहाज लिलाम प्रक्रियामा राखिएपछि जसले मूल्यांकन दरभन्दा धेरै कबोल गर्छ उसलाई दिनुपर्ने हुन्छ।    

निगमले यो विमानको इन्जिन अझ केही सय घण्टा उडानका लागि योग्य रहेको जनाएको छ। ‘अब यो विमान यात्रु ओसार्न होइन कार्गो ढुवानीका लागि प्रयोग गर्न सकिन्छ,’ निगमका एक इन्जिनियरले भने, ‘कुनैपनि एजेन्टले खरिद गरेर नेपालबाट आफ्नो मुलुकसम्म यो विमान उडाएर लैजान सक्ने छ । तर दुवै इन्जिनको पूर्ण मर्मत नगरी भने फेरि उडाउन सकिने छैन।’ 

एजेन्सीहरुका अनुसार, बोइङ कम्पनीले यो सिरिजको विमान उत्पादन १३ वर्षअघि (२००४ अक्टोवर) देखि बन्द गरिसकेको छ। सन् १९८३ मा पहिलो उडान भर्ने यो सिरिजको विमान उत्पादन भएको चार वर्षपछि निगमले त्यसबेला यो मोडल खरिद गरेर नेपाललाई पूर्वमा जापान हुँदै कोरियासम्म र पश्चिममा युरोपसम्म जोडेको थियो। २२ वर्ष मात्रै उत्पादन गरिएको यो सिरिजका कुल विमान २००७ सम्म नेपाल लगायत विश्वभर १ हजार १९ वटा विभिन्न एयरलाइन्सहरुले उडाउँदै आएका थिए । सन २००२ मा यो विमानको बजार मूल्य कम्तीमा ६ अर्ब रुपैयाँ थियो।  

यो विमान २९ वर्षअघि तत्कालीन शाही नेपाल वायु सेवा निगमका लागि पूर्व राजा ज्ञानेन्द्र शाहसमेत संलग्नतामा खरिद गरिएको थियो। निगमको कर्पोरेट विभागका अनुसार, त्यसबेला १ डलरको सटही दर २३ रुपैयाँ थियो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.