|

ज्योतिष शास्त्रअनुसार चतुर्दशी तिथिका स्वामी हुन्, शिव। प्रत्येक पक्षको चतुर्दशीलाई शिवको उपासना गर्ने तिथिका रूपमा लिइन्छ। पुराणहरूअनुसार तीमध्ये पनि फाल्गुण कृष्ण चतुर्दशी विशेष मानिन्छ। त्यसैले यस दिनलाई महाशिवरात्रि भनिन्छ। 

शिवपुराणअनुसार सृष्टिको समयमा फाल्गुण कृष्ण चतुर्दशीको मध्यरातमा ‘रुद्र’ रूपमा शिव प्रकट भएका हुन्। ‘सृष्टिमा जब सात्त्विक शक्तिको अन्त्य भई तामसिक शक्तिमात्र बाँकी रहन्छ तब महाशिवरात्रिकै प्रदोषकालमा शिव ताण्डव नृत्य गर्दै प्रलय ल्याएर सृष्टिको अन्त्य गरिदिन्छन्’ भन्ने पौराणिक भनाइ पनि छ।
चन्द्रमालाई मानिसको मनकारक देवता वा ग्रह मानिएको छ। शिवको शिरमा पनि उनै चन्द्रमा रहेका छन्। चन्द्रमाको कला क्षीण भएर मानिसको मनमा समेत तामसिक भाव उत्पन्न हुने समय, चतुर्दशी। यसै समय भगवान् शिवको उपासनाले मानसिक तथा आध्यात्मिक बल प्राप्त हुने विश्वास गरिन्छ। नामैले पनि शिवरात्रि अर्थात् यस दिन शिवको पूजा विशेषगरी रात्रिमा फलदायी मानिएको छ। 

शिवपूजनको अनेक विधि छन् तर त्यस विधिलाई ग्रहण गर्न नसक्नेहरूले पञ्चाक्षरी मन्त्र ‘ओ३म् नमः शिवायः’ बाट आराधना गर्दा पनि शिव प्रसन्न हुने बताइन्छ। शिकार गरेर जीविका गर्ने एक ब्याधाले अञ्जानमा शिवलिंगमाथि बेलपत्र चढाउँदा पनि उसमा हिंसाको भाव हराएको र मुक्त भएको कथा लिङ्गपुराणमा आउँछ। भगवान् शिवका प्रिय श्रीखण्ड चन्दन, बेलपत्र, धतुरो आदि चढाएर पूजा गर्ने विधान छ। 

शिवमहिमा

शिव शब्दको अर्थ हो ‘कल्याण’। भगवान् शिवलाई देवाधिदेव महादेव पनि भनिन्छ संहारका देवता मानिए पनि भक्तको आराधनाबाट चाँडै प्रसन्न हुने ‘आशुतोष’का रूपमा पनि शिवको महिमा छ। वेदमा शिवलाई रुद्रको रूपमा उपासना गरिएको पाइन्छ । शुक्ल यजुर्वेदको सोह्रौ अध्यायमा रुद्रको वर्णन गरिएको छ। पर्वतमा निवास गर्ने, नीलो कण्ठ, सहस्र नेत्र, वृषभ बाहन भएका सेनापति एवं सभापतिरूपी रुद्रको वर्णन गरिएको छ।

यसैगरी सूर्यको किरण, वायुको वेग, मेघस्थित वृष्टिधारामा स्थित विविध  रूपधारण गर्ने  रुद्रको महिमा बताइएको छ। साथै प्राणीको पालन गर्ने, विभिन्न रोगरूपी, संकटरूपी शत्रुरूपी बाणहरूबाट रक्षा गर्ने देवताको रूपमा रुद्रको आराधना गरिएको छ। यस लोकमा सुख प्रदान गर्ने, पारलौकिक कल्याणदाता, पाप नाश गर्ने देवताका रूपमा शिवको उपासना गरिएको छ।

संस्कृत कोषमा शम्भु, ईश, पशुपति, शिव, शुली, महेश्वर, ईश्वर, शर्व, ईशान, शंकर, चन्द्रशेखर, भूतेश, खण्डपरशु, गिरिश, गिरीश, मृड, मृतुञ्जय, कृत्तिवासा, पिनाकी, प्रमधिप, उग्र, कपर्दी, श्रीकण्ठ, शितिकण्ठ, कपालभृत, वामदेव, महादेव, विरुपाक्ष, त्रिलोचन, कुशानुरेता, सर्वज्ञ, धुर्जटि, नीललोहित, हर, स्मरहर, भर्ग, त्र्यम्बक, त्रिपुरान्तक, गंगाधर, अन्धकाररिपु, क्रतुध्वंशी वृषभध्वज, व्योमकेश, भव, भीम, स्थाणु, रुद्र र उमापति गरी शिवका ४८ नाम रहेको उल्लेख  छ।
पुराणहरूमा आउने शिवस्तुतिहरूमा उपासकको शरीरलाई शिवको स्वरूप र उपासकले गर्ने कर्महरू शिवकै उपासना मानिएको छ। रुद्रीमा वैदिक मन्त्रोच्चारणसहित जलधाराले शिवको अभिषेक गराइन्छ। धर्म–अर्थ–काम–मोक्ष यी चार पुरुषार्थको इच्छा गर्नेहरुले रुद्री पाठद्वारा आशुतोष भगवान् रुद्रलाई प्रसन्न पार्दछन्। भिन्न–भिन्न वस्तुले अभिषेक गरी रुद्रीपाठ गर्नाले मनोवाञ्छित कामना पूर्ण हुने विश्वास गरिन्छ।

पशुपतिनाथको महिमा

पौराणिक ग्रन्थहरूमा पशुपतिनाथको ठूलो महिमा बताइएको छ। वेदमा समेत पशुपतिनाथको स्तुति गरिएको पाइन्छ — नमोः शङ्गवे च पशुपतये च नम...। नेपाल माहात्म्य र  पौराणिक ग्रन्थहरूमा मृगस्थलीमा शिवले मृगरूप भई विहार गरेको उल्लेख छ। शिवकै इच्छानुसार भगवान् विष्णुले शिवलाई मृग (पशु) रुपबाट मुक्ति दिई लिङ्गको रूपमा पवित्र वागमतीको तटमा स्थापना गरेको पुराणहरुमा उल्लेख छ।

पशुपतिनाथका पाँच वक्त्र (मुख) क्रमशः तत्पुरुष, वामदेव, अघोर, सद्योजात र ईशान हुन्। उनको पूजा पञ्चामृत स्नान, शुद्ध जलले स्नान गरी चन्दन पुष्पाक्षता र बिल्वपत्रले गरिन्छ। भगवान् पशुपतिको विशेष स्नान अथवा अभिषेक वेदका मन्त्रयुक्त रुद्रीपाठद्वारा गर्ने परम्परा छ। 

पुराणमा ज्योतिर्लिङ्गको ठूलो महिमा बताइएको छ । त्यसो त हिन्दूहरूका आराध्यदेव शिवका प्रख्यात मुख्य तीर्थस्थल द्वादश (१२) ज्योतिर्लिंग सोमनाथ, मल्लिकार्जुन, महाकालेश्वर, वैद्यनाथ, ओंकारेश्वर, भीमशंकर, नागेश्वर, विश्वनाथ, त्र्यम्वकेश्वर केदारनाथ रामेश्वर र घुमेश्वर) भारतमा पर्दछन्। 

ती ज्योतिर्लिङ्गको दर्शनपछि नेपालको काठमाडौंमा अवस्थित पशुपतिनाथको दर्शन नगरी तीर्थयात्र पूर्ण हुँदैन भन्ने मान्यता छ। त्यसैले भारतका हिन्दू धर्माबलम्बीहरू त्यहाँका ज्योतिर्लिङ्गहरूको दर्शन सकेपछि पशुपतिनाथको दर्शन गर्न नेपाल आउँछन्। भारतीय हिन्दूहरूमा पशुपतिनाथप्रति कति आस्था छ भने राजनीतिक भ्रमणका क्रममा आएका उच्च पदस्थ व्यक्तिहरू यहाँ नआई फर्किँदैनन्।

१०० वर्षअघि

‘...पर्वतीय बडो भारी उत्तर–खण्ड नामी स्वच्छन्द राज्यमा द्वादश ज्योतिर्लिंङ्गका लिंगरूपी पशुपतिनाथ हुनुहुन्छ...। यहाँ शिवरात्रि मेलामा देशी शास्त्री पण्डित महाशय दण्डी, योगीजन, फकिरी, साधुसन्त महन्त कति जाँदा रहेछन् त भनी अघि चीसापानी गढीमा मकैका गेडाले गिन्ती गर्दा पछिबाट गनेका मकै भर्दा दश पाथी भन्दा बढी हुन्थे अरे, यी फौजलाई खाने पिने हेरीकन बिदाइको बन्दोवस्त (गोरखा सरकार) बाट हुन्छ।’ 

युवाकवि मोतीराम भट्टका समकालीन कवि तथा लेखक शिखरनाथ सुवेदीले  ‘शिखरनाथ भाष्य’ मा उल्लेख गरेको अंश। उनको यस लेखमा पशुपतिनाथ र एक सय वर्षभन्दा अघि शिवरात्रिमा भारत तथा नेपालका विभिन्न भू–भागबाट पशुपतिनाथको दर्शन गर्न आउने श्रद्धालुबारेको चित्रण छ। शिखरनाथले उल्लेख गरेजस्तै महाशिवरात्रि हिन्दू धर्मावलम्बी, विशेषगरी शिवप्रति आस्था राख्नेहरूका लागि महाशिवरात्रि पशुपतिनाथको दर्शन गर्ने महत्त्वपूर्ण अवसर हो। 

अन्त्यमा,

भारतीय हिन्दू धर्मावलम्बी, योगी, सन्त–महन्त महाशिवरात्रिलाई नेपालीहरूभन्दा पनि बढी महत्त्व दिन्छन्। उनीहरूको खानपान, बास र दक्षिणाको जोहो गर्ने पक्ष पशुपति क्षेत्र विकास कोषका लागि टाउको दुखाइको विषय बन्ने गर्दछ। गाँस र बासको व्यवस्था मात्र होइन विदा गर्ने बेलामा सन्त महन्तको दर्जा हेरी दक्षिणाभेटी दिने चलन पनि छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.