|

डडेल्धुरा : कोरोना महामारीका कारण स्थानीय प्रशासनले लगाएको आंशिक निषेधाज्ञाको फाइदा उठाउँदै यहाँका व्यवसायीले तरकारी तथा फलफूलको मूल्य ह्वात्तै बढाएका छन्।  

डडेल्धुरामा सुनको भाउझैं तरकारीको मूल्य आकासिएको छ। प्रतिदिन मूल्य बढ्दा तरकारी छोइनसक्नु छ। जसको मारमा उपभोक्ताहरू परेका छन्। तर, व्यवसायीहरू भने तरकारी र फलफूलको मूल्य बढ्नुको कारण लकडाउन र उत्पादनमा परेको प्रभाव देखाइरहेका छन्। साथै बर्खे तरकारीको उत्पादन सकिनु र भारतबाट तरकारी आयात कम पनि भइरहेको छ।

सर्वसाधारणको भान्सामा दैनिक उपभोगमा आउने आलु, प्याज, टमाटर, काउलीलगायत तरकारीको मूल्य लकडाउन अवधिको तुलनामा दोब्बर भएको छ। अहिले डडेल्धुरामा हरेक किसिमका तरकारीको मूल्य प्रतिकिलो सय रुपैयाँभन्दा बढी छ। जुन अघिल्लो वर्षको तुलनामा शतप्रतिशत बढी हो। 

तरकारीको मूल्य फरक–फरक

अहिले डडेल्धुरामा पसलै पिच्छे तरकारीको मूल्य फरक–फरक छ। टमाटर प्रतिकिलो एक सय २०, तिते करेला प्रतिकिलो एक सय ३०, लौका र फर्सी प्रतिकिलो ८०, घिरौला प्रतिकिलो एक सय ४०, आलु र प्याज प्रतिकिलो ७० रुपैयाँ मूल्य पुगेको छ। स्थानीय बजारमा दिनप्रतिदिन तरकारीको मूल्य फरक–फरक हुने गरेको छ।

लकडाउनका कारण बिक्री हुन नसक्दा गत चैत बैशाखमा कृषकहरूले लगाएको तरकारी खेतबारीमै कुहिएको कारण सोही समस्या दोहोरिने डरले कृषकले तरकारी नलगाउँदा बाहिरबाट ल्याउनु परेकोले तरकारीको मूल्य आकासिएको स्थानीय व्यवसायी हिमाल पन्तले बताए। विगतका वर्षहरुमा तरकारीको मूल्य प्रतिकिलो २०–२५ रुपैयाँ हुने गरेकोमा यो वर्ष दोब्बर तेबर भएको उनको भनाइ छ।

‘जिल्लामा उत्पादन छैन्। बाहिरबाटै चर्को मूल्यमा खरिद गरेर ल्याउनुपर्छ। अन्य पहाडी जिल्लाबाट आएको तरकारी पनि तराईका जिल्लाबाट व्यापारीहरू आएर बढी पैसा दिएर लैजान्छन्,’ उनले भने, ‘अहिले बर्खामा लगाएको तरकारीको उत्पादन सकिने बेला हो। लकडाउन सुरु भएपछि भारतबाट आयात हुने तरकारी पनि घटेको छ।’

किसानबाट तरकारी खरिद गर्दा सस्तोमा खरिद गर्ने र खरिद गरेको भन्दा दोब्बर तेबर मूल्यमा बिक्री गर्ने गरेकाले तरकारीको मूल्य एकाएक बढेको अगुवा कृषक प्रकाश अवस्थीले बताए। तरकारीको मूल्य बढ्नुमा बिचौलियाको भूमिका रहेको उनले दाबी गरे। सम्बन्धित निकायले यसतर्फ ध्यान दिन जरुरी रहेको उनको भनाइ छ।

तरकारी उत्पादनका लागि डडेल्धुरा जिल्ला सुदूरपश्चिम प्रदेशमै अग्रणी मानिन्छ। मौसमको कारणले तरकारी उत्पादनमा कमि आउँदा मूल्य बढेको कृषि ज्ञान केन्द्र डडेल्धुराका वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले बताए।

‘भारतबाट तरकारी आउदा भरतीय र स्थानीय तरकारीको प्रतिस्पर्धा हुन्थ्यो।’ उनले भने, ‘आजभोलि भारतबाट तरकारी नआउँदा  बजारमा स्थानीय तरकारी मात्र छ। बजारको माग अनुसारको उत्पादन जिल्लामा नभएकोले मूल्य बढेको विष्टको भनाइ छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.