सरकारले एउटा पीपीई सेटसमेत दिएन

|

काठमाडौं : हिसाब गर्दै जाने हो भने भुवन मगरले एम्बुलेन्स चलाउन थालेको १६ वर्ष पुग्यो। यो अवधिमा उनले कुन रोगका बिरामी बोकेनन् होला? देशको कुन ठाउँ पुगेनन् होला?

पहिले एम्बुलेन्स चालकलाई हेर्ने दृष्टिकोण नै सम्मानजनक थियो। तर, १६ वर्षको अवधिमध्ये पछिल्लो ६ महिनायता उनले यस्तो पनि अनुभव गरे, 'जहाँ मान्छे देख्दा मान्छे तर्सिन थाले, बिरामी बोक्ने एम्बुलेन्स देख्दा ढोका लगाउने थाले।'

उनी अहिले गम खान्छन्, 'कस्ता कस्ता रोगी बिरामी बोकियो। राजनीतिक आन्दोलन हुँदा पनि कसैले हामीलाई रोकेन। तर अहिले कोरोनाजस्तो सानो भाइरसले जिन्दगी अस्तव्यस्त बनाइदियो।'

एम्बुलेन्स चलाउन थालेको त्यो १६ वर्षभन्दा कोरोना महामारी फैलिएको हालैका ६ महिना उनका लागि एक शताब्दीजस्तो भइदिएको छ। भोको शरीर देशका कुना-कुना पुगेर भोकै पुन: आफ्नै घर आउनु उनीजस्ता धेरै एम्बुलेन्स चालकको दैनिकी हो। आखिर भोको शरीरले यात्रा गर्दा यस्तो महसुस त हुन्छ नै!

काभ्रेका उनी अहिले सुनसरीबाट देशका विभिन्‍न क्षेत्रमा बिरामी ओसार्छन्। उनको काम नै बिरामी ओसार्ने हो। यसकारण जुनसुकै प्रकृतिको बिरामीलाई अस्पतालबाट घर र घरबाट अस्पताल पुर्‍याउँछन्। यो उनका लागि सामान्य दैनिकी हो। तर, जब देशमा कोरोना संकट आयो, तब उनको मनमा पनि डरले डेरा बसाल्यो। अर्थात् मनोवैज्ञानिक त्रासको शिकार भए। उनी भन्छन्‌, 'आफूले रोगबारे जसोतसो बुझिएकै थियो। तर कोरोनाबारे जे जति हल्ला फैलिएको छ, त्यसैले पनि त्रास त सिर्जना गर्दोरहेछ नै।'

यो अवधिमा उनले अनेक प्रकारका बिरामी देखे। कोही साँच्चिकै बिरामी, कोही ढँटुवा बिरामी। साँचिक्कै बिरामीहरु भन्दा ढँटुवा बिरामीहरु खतरनाक हुने उनको अनुभव छ।

सरकारले लकडाउन लगाएपछि मान्छेले सार्वजनिक गाडी चढ्न पाएनन्। तब एम्बुलेन्स प्रयोग गरेर एक ठाउँबाट अर्को ठाउँ जाने 'निन्जा टेक्निक' लगाउन थाले।

'बिरामी भएँ भनेर सम्पर्क गरेपछि पुग्नै पर्‍यो। काठमाडौं पुग्ने भनेर इटहरीबाट लिएर आयो, धुलिखेलमा झरिदिन्छन्। यस्ता खालका बिरामीका कारण स्थानीय प्रशासन एम्बुलेन्स चालकमाथि प्रश्न तेर्स्याउँछ', उनी भन्छन् , 'बिरामी छु भनेपछि नलैजाने कुरा पनि भएन। लिएर गयो बाटोमै झर्छन्। किन झरेको भन्यो भने अनेक बहाना बनाउन थाल्छन्।'

लकडाउनमा यो त एउटा उदाहरण मात्रै हो, यस्ता सयौँ अनुभव सँगालेका छन यी एम्बुलेन्स चालकले।

यस्ता ढँटुवा बिरामीका कारण उनले प्रशासनको धेरै पटक अपमान सहेका छन्। अपमान सहँदा एम्बुलेन्स चलाउनै छोडौँ भन्‍ने पनि मनमा लाग्दो छ। तर, जो साँच्चैको बिरामी छ, उसलाई समयमा नै अस्पताल पुर्‍याउँदा मिल्ने सन्तुष्टिले यस्ता अपमानहरू केही छिनमा नै पानीका फोका जस्ता बनिहाल्छन्।

उनी स्वयम् मधुमेहका बिरामी हुन्। यो लकडाउन अवधिमा सुरक्षाका सम्पूर्ण सामग्री उपयोग गर्दै उनी पश्चिममा बुटवल, पोखरादेखि पूर्वको ताप्लेजुङ र भारतको सिलगढीसम्म बिरामी ओसार्न डटिरहे।

महामारीमा ज्यान जोखिममा पारी एम्बुलेन्स चलाउनुपर्दा उनमा खासै चित्त दुखाई छैन। चित्त दुखाई चाहिँ कोरोनाको फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीलाई सरकारले सुरक्षाका सम्पूर्ण मापदण्ड उपलब्ध गराएको छ। तर जब बिरामी बोक्ने एम्बुलेन्स र एम्बुलेन्स चालकको कुरो आउँछ : त्यसपछि राज्यले हेयका दृष्टिले हेर्छ।

राज्यले कुनै पनि सुरक्षाको प्रत्याभूति दिन सक्ने योजना नल्याएकोमा उनी दु:खी छन्। भन्छन्, 'एम्बुलेन्स चालकलाई सरकारले एउटा पिपिई लगाउने व्यवस्था पनि गरिदिँदैन। अरु अवसरको कुरा त परै छ।'

उनी दिनकै तीन जनासम्म बिरामी बोकेर विभिन्‍न अस्पताल पुगेका हुन्छन। उनलाई रोग कुन हो मतलब हुने कुरा पनि भएन। मतलब यति रहन्छ, 'बिरामीलाई अस्पताल छिटो पुर्‍याइदिउँ। गुम्‍न लागेको सास बचाइदिउँ।'

तर, कतिपय बिरामी कोरोनाका पनि हुन सक्छन्। यस्तो अवस्थामा एम्बुलेन्स चलाउने हरेकको सात सात दिनमा कोरोना टेस्ट गर्नुपर्ने आवश्यकता देख्छन् उनी। 'एक दिन १५ जनासँग सम्पर्क हुँदा हप्तामा सयौं मान्छेसँग सम्पर्क हुन्छ। यस्तो अवस्थामा को कुन खालको बिरामी थाहा पनि हुँदैन्' ,उनी भन्छन्, 'हाम्रो कारणले अरुलाई रोग नसरोस् भन्ने पनि हो। यसकारण हाम्रो परीक्षण हप्ता हप्तामा हुन जरुरी छ।'

दुई नानीका बुबा हुन उनी। घरमा बुबाआमा, श्रीमती छन्। भाइबहिनी पनि छन्। बिरामी ओसारपसार गर्दा थकित मुद्रामा घर पुग्छन् उनी। मनमनै सोच्छन्, 'कतै मैले यिनीहरुलाई कोरोना त सारिरहेको छैन?'

कोरोना संक्रमण भए/नभएको थाहा पाउन आफ्नै खर्चले परीक्षण गर्दा महंगो पर्छ। यसकारण घरमा पनि उनले आफ्ना लागि छुट्टै कोठामा बस्ने व्यवस्था मिलाएका छन्। यो परिवार बचाउने उनको अर्को काइदाको उपाय हो। सुरुवातमा घर र समाजले बिरामी ओसार्न रोक लगाए पनि अहिले भने सबैजना यो रोगसँग परिचित भएर होला। खासै बिमति नजनाउने गरेको उनले बताए।

थाहाखबरले सम्पर्क गर्दा उनी सुनसरीको कुनै एक अस्पताल बिरामी लिन जाँदै थिए। पंक्तिकारले सोध्यो, 'दुनियाँमा यत्रा धेरै अवसर थिए। एम्बुलेन्स चालक हुने सोच चाहिँ कसरी आयो?'

उनी हाँसे। अनि आफ्नो जीवन कहानी सुरु गरे। १४ वर्षको उमेरमा उनी इटहरी झरे। मामा घर हजुरबुबा सेनामा थिए। हजुरबुबाको सपना थियो, 'नाति डाक्टर बनोस्।' यसकारण उनलाई विभिन्‍न स्कुलमा भर्ना गरियो। तर, पढाइतर्फ उनको खासै मन गएन।

इटहरीमा त्यसबेला फाट्टफुट्ट एम्बुलेन्स चलेको देख्थे उनी। के होला भन्‍ने उत्सुकता जाग्थ्यो। रेडियोमा एकदिन उनले समयमा एम्बुलेन्स नपाएर बिरामीको ज्यान गयो भन्‍ने समाचार सुने। त्यो दिनदेखि उनले एम्बुलेन्स चालक हुने लक्ष्य राखे। उनलाई लाग्छ : एम्बुलेन्स र चालक अभावकै कारण कुनै बिरामीले ज्यान गुमाउनु नपरोस्‌।

सुनसरी एम्बुलेन्स चालक संघका अध्यक्षसमेत रहेका मगरको खासै ठूला सपना छैनन्‌। तर आफ्नो एम्बुलेन्समा आकस्मिक रुपमा चाहिने भेन्टिलेटर सेवासहितको सुविधा होस्‌ भन्‍ने लागिरहन्छ। हालसम्म उनले यो काम फत्ते गर्न सकेका छैनन्।

भन्छन्, 'पैसा कमाउनका लागि एम्बुलेन्स चलाएको भए सबै सुविधा उपलब्ध गराउन सक्थेँ होला। सेवा गर्न एम्बुलेन्स चलाउन थालेँ। पैसाको अभाव त खड्किन्छ नै!'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.