हरि देवकोटा
कोरोनाले धनी गरिब, रोगी निरोगी केही भन्दैन भन्थे
तर, होइन रहेछ ।
शहरतिर लखर-लखर डुल्छ
लखर-लखर डुल्नेलाई झ्वाम्म म्वाइँ खान्छ ।
यता जान्छ उता जान्छ
मास्क नलाउनेलाई छानी छानी पट्याईहाल्छ ।
कोरोनाले धनी गरिब, रोगी निरोगी केही भन्दैन भन्थे
तर, होइन रहेछ ।
धनीको देशमा चहारेर
गरिबतिर आउँदैछ ।
प्लेन चढ्ने देशतिरबाट
गाडी चढ्नेतिर आउँदैछ ।
शहरतिर घुमेपछि
गाँउतिर आउँदैछ ।
कोरोनाले धनी गरिब, रोगी निरोगी केही भन्दैन भन्थे
तर, होइन रहेछ ।
जो जसलाई संक्रमण गरे पनि
गरिबहरूलाई साह्रो गाह्रो बनाइरहेछ ।
निरोगीलाई छोडेर
रोगीलाई आर्यघाट लगिरहेछ ।
वृद्ध र रोगीहरूलाई
साह्रै माया प्यार देखाइरहेछ ।
छानीछानी नानीहरूलाई
आफ्नो बनाइरहेछ ।
भरिएका काखहरू
रित्तो बनाइरहेछ ।
कोरोना पक्षपाति रहेछ
धनीहरू त बसेर उग्राइरहेका छन्
यो निषेधाज्ञामा पनि
गरिबहरूलाई बिहान बेलुकीको चुलोको चिन्ताले लखेटिरहेछन् ।
बैंकहरु त अर्बौ कमाइरहेछन्
ऋणीहरु भगवानको प्यारो बनिरहेका छन् ।
हुनेहरू त आफ्नै निजी गाडीमा माइती ससुराली गइरहेछन्
नहुनेहरू अस्पताल जान नपाएर प्राण छोडी रहेछन् ।
प्रभुको अघि-पछि डुल्नेहरूलाई त कोरोनाले लगे पनि
समचारमा आउलान् ।
घर-घरमा भोकले मर्नेहरुको कसले याद गर्ला र खै ?
छन त तीन-तीनवटा सरकार छ
तर कसले आफ्नो भन्लान् र खै ?
तपाईंको ईमेल गोप्य राखिनेछ ।