|

काठमाडौं : फेसबुकमार्फत महिलाहरुलाई ठगी गरेको आरोपमा प्रहरीले बैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष प्रेम कटुवाल पक्राउ गरेको छ। फेसबुकमा विदेशी नागरिकको नामबाट साथी बनाएर उपहार पठाउने भन्दै ठगी गरेको आरोपमा महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। 

उनले ६० जनाभन्दा विवाहित र श्रीमान विदेश भएका महिलाहरुलाई फेसबुकमा साथी बनाएर उपहार पठाउने भन्दै २४ लाख रुपैयाँ ठगी गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश अमात्यले जानकारी दिए। उनलाई सहयोग गर्ने अन्य तीन जनालाई पनि प्रहरीले पक्राउ गरेको छ। 

‘विदेशीको फोटो र नाम राखेर फेसबुक अकाउन्ट खोलेर महिलाहरुलाई प्रभावित पारेर ठगी गर्दै आएका रहेछन्’, एसएसपी अमात्यले भने ‘महिलाको मन जितेपछि विदेशबाट गिफ्ट पठाइदिन्छु भन्दै पार्सलमा हालेको छु भनी ट्याक्स तिर्नुपर्ने भन्दै रकम इन्डियन रिजर्भ बैंकमा जम्मा गर्न लगाएर रकम असुल गरी ठगी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।’

महाराजगन्जमा ब्लु स्काई ओभरसिज सञ्चालन गर्दै आएका कटुवालले महिलाहरुबाट २४ लाख रुपैयाँ बैंक खातामा डिपोजिट गरेको स्वीकार गरेपछि पक्राउ गरेर अनुसन्धान सुरु गरेको पनि उनले जानकारी दिए। विदेशीको नामबाट फ्रेन्ड रिक्वेस्ट आएपछि महिलाहरुले विश्वास गरेर गिफ्टको प्रलोभनमा परेर ठगीमा पर्ने गरेको पनि एसएसपी अमात्यले बताए। 

कसरी ठगिन्थे महिला? 

विदेशीको नाममा फेसबुकमा रिक्वेस्ट आएपछि फुर्सदमा भएका कतिपय महिलाहरुले एक्सेप्ट गर्थे। उनीहरुसँग कटुवालले च्याटमा कुराकानी पनि गर्थे। च्याटमा कुरा गर्दै जाँदा महिलाहरुको मन जितेपछि प्रंशसा गर्दै गिफ्ट पठाइदिन्छु भन्दै महिलाहरुलाई प्रभावित पार्ने गरेको एसएसपी अमात्यले जानकारी दिए।

गिफ्ट पठाइदिन्छु भनेको चार–पाँच दिनपछि दिल्लीबाट फोन गरेर तपाईको नाममा गिफ्ट आएको छ, केही पैसा जम्मा गर्नुपर्ने भयो भनी रकम माग गर्थे। जापान, अष्ट्रेलियाबाट गिफ्टको पार्सल आएको भन्दै शुरुमा केही हजार रुपैयाँ जम्मा गर्नुपर्ने भन्दै इन्डियन रिजर्भ बैंकको नाममा जम्मा गर्न लगाउथे। 

रकम जम्मा गरेपनि गिफ्ट हात नपरेपछि महिलाहरुले गरेको उजुरीको आधारमा कटुवाललाई पक्राउ गरिएको हो। उनले ६० जना महिलाबाट २४ लाख रुपैयाँ भन्दा बढी रकम लिएको प्रारम्भिक अनुसन्धानमा खुलेको एसएसपी अमात्यले जानकारी दिए। उनलाई ठगी मुद्दा अन्र्तगत प्रहरीले अनुसन्धान गरिराखेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.