|

  • रमेश रावल-

कालिकोट : जिल्ला कारागार कालिकोटमा रहेका कैदीहरुको एक जोडीले जेलभित्रै बिहीवार बिवाह गरेका छन्। जिल्लाको राचुली गाविस—९ का ३३ बर्षीय डिल्ली कोइराला र लालु—७ घर भएकी ३० बर्षीया मिमकोशा बिष्टबीच विवाह भएको हो।

कोइराला पत्नी हत्या गरेर जेल सजाय भोगिरहेका छन् भने बिष्ट पनि पतिको हत्याको अभियोगमा जेल सजाय भोगिरहेकी छन्।

कोइरालाले २०६८ साल साउन २९ गते पत्नी नन्दशोभाको हत्या गरेपछि जिल्ला अदालत कालिकोटको फैसला अनुसार भदौ २२ गते जेल चलान भएका हुन्। बिष्टले २०७२ असोज १ गते पति प्रेम बिष्टको हत्या गरेपछि जिल्ला अदालतको फैसला अनुसार असोज १० गते जेल चलान भएको जेलर सञ्जय महतोले बताए।

पत्नी हत्याको आरोपमा डिल्ली र उनकी आमा रन्ता कोइराला कैदी भएका थिए। बन्दीगृह भित्र महिलाको छुट्टै र पुरुषको पनि छुट्टै बस्ने खाने ब्यवस्था छ।

तर, डिल्लीकी आमा महिला बस्ने कोठामा हुँदा मिमशोभालाई बुहारी बन्न अनुरोध गरेकी थिइन्। बिष्टले भनिन, ‘डिल्लीको आमाले गर्दा मैले उहाँलाई मन पराएको हुँ। मैले श्रीमानको हत्या गरे डिल्लीले पनि श्रीमतीको हत्या गरे। त्यसैले उहाँसंगै विवाह गर्ने मन लाग्यो।’

उनीहरुले जेलभित्रै विवाह गरे पनि कानुनी रुपमा जेल सजाय पुरा नगर्दासम्म संगै हुन नपाउने जेलर संजय महतोले बताए। कोइरालाले सात बर्ष कैद सजाय भोगेका छन् भने उनको ३ वर्ष अझै जेल कुर्नु पर्नेछ। त्यस्तै, बिष्टले १ बर्ष जेल सजाय भोगे पनि अझैँ ४ वर्ष सजाय भोग्न बाँकी छ।

कोइरालाद्वारा हत्या गरिएकी पहिलेकी पत्नीबाट दुई छोरा छन् भने विष्टका १ छोरा र ३ छोरी छन्। बिष्टसंगै ५ बर्षकी छोरी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.