दोषीलाई कारबाहीको माग, गाउँपालिका भन्छ : हाम्रो कुनै संग्लनता छैन

|

डडेल्धुरा : डडेल्धुरा जिल्लाको भित्रीमधेस क्षेत्र आलिताल गाउँपालिका–८ मा निर्मित डोला चक्रपथ सडक निर्माणका क्रममा अवैध रुपमा सालका रुखहरु काटिएको विषयमा सुदूरपश्चिम वन निर्देशनालयले स्थलगत निरीक्षण गरेको छ। प्रदेश वन निर्देशक हेमराज विष्टसहितको टोलीले शनिबार निरीक्षण गरेको हो।

अनुगमनका क्रममा स्थानीयकै मिलेमतोमा वन फँडानी गरेको पाइएको निर्देशक विष्टले जानकारी दिए। उनले रजनी सामुदायिक वन र राष्ट्रिय वन क्षेत्रमा रहेका साल, जामुन र अस्मा गरेर ५८ वटा रूखहरू हानि नोक्सानी भएको बताए।

‘डोला चक्रपथ सडक निर्माणका क्रममा अवैध रुपमा ती रूख काटिएका हुन्। बरामद गरेका केही काठ आलिताल सबडिभिजनमा राखिएका छन्,’ उनले भने, ‘रूख काट्ने समूह र त्यहाँका स्थानीयले घटनालाई गुपचुप राख्दा हामीहरूले जानकारी पाएनौँ। क–कसको मिलेमतो छ भन्ने कुरा अनुसन्धानले देखाउँछ।’

‘एक महिना अगाडि काटिएका रूखहरू ढिलो थाहा पाउनु वनका कर्मचारीहरूको लापरबाहीजस्तो देखिन्छ। अनुसन्धान जारी छ। जानकारी पाउँदा पाउँदै वनका कर्मचारीले वास्ता नगरेको भए उनीहरूको पनि संलग्नता छ भन्ने कुरा देखाउँछ।’ उनले भने।

स्थलगत निरीक्षण गर्दा सामुदायिक वन र राष्ट्रिय वनका कर्मचारीको मिलेमतोसँगै आयोजना  र निर्माण कम्पनीको मिलोमतो प्रस्ट देखिएको उनको भनाइ छ।

आलिताल गाउँपालिकाको समपुरक कोषबाट निर्मित सो सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा सडकको एलाइन्मेन्टमा सालका रुखहरू पर्ने उल्लेख छ। आलिताल गाउँपालिकाले डोला चक्रपथ सडक निर्माणका लागि बोलपत्र आह्वान गरेपछि इब्रिडिङमार्फत उग्रतारा कन्ट्रक्सन प्रालिको ठेक्का सदर भएको थियो। 

गोदाम बजारदेखि डोलागाउँ जोड्ने सडक करिब १ करोड ४९ लाखको बजेटमध्ये ७७ लाख ७७ हजारमा उग्रतारा कन्स्ट्रक्सनको ठेक्का सदर भई २०७७ पुससम्म निर्माण सम्पन्न गरी सम्झौता भएको थियो। 

दोषीलाई कारबाही माग

आलितालमा सडक निर्माणका नाममा भएको वन फँडानीका दोषीलाई कारबाही माग गरिएको छ। नेपाली कांग्रेस जिल्ला कार्य समिति र नेकपा आलिताल गाउँपालिका कमिटीले प्रेस विज्ञप्ति जारी गर्दै कारबाही माग गरेका हुन्।

दुई वटै पार्टीले घटनाको सत्यतथ्य रुपमा अनुसन्धान गरी दोषीलाई कारबाहीको माग अघि सारेका छन्। सालका रुख कटान गरिनु प्रकृति दोहन र अवैध भएको ठहर गर्दै कारबाहीको माग दुई वटै पार्टीको छ। तर, घटनालाई अतिरञ्जित गरेको आरोप पार्टीहरुको छ।

‘आलिताल गाउपालिका–८ गोदाम–डोला–चिरान–कालाकोट रिङरोड विस्तारका क्रममा भएको रुख कटानप्रति गम्भीर ध्यानाकर्षण भएको छ।’ नेपाली कांग्रेसले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘परशुराम नगरपालिकामा भएको अवैध उत्खननप्रति पनि नेपाली कांग्रेस डडेल्धुराको गम्भीर ध्यानाकर्षण भएको छ।’

‘उक्त दुवै कदम प्राकृतिक साधनको अवैध रुपमा दुरुपयोग गर्ने र राज्यको स्रोत साधनको दोहन गर्ने गलत नियतको पराकाष्ठ हो। दुवै घटना मानवताका दृष्टिकोणले निन्दनीय छन्। तर घटनालाई जति अतिरञ्जित गरेर वास्तविकता लुकाउने, राजनीतिक आग्रह पूर्वाग्रहका आधारमा दोषारोपण गर्न खोजिएको छ। यो गलत प्रयास पनि उत्तिकै निन्दनीय छ। दोषीमाथि कार्वाही र निर्दाेषलाई फसाउने दुष्प्रयास बन्द गरियोस् भनी हामी सम्बन्धित सबै निकायको ध्यानाकर्षण गराउन चाहान्छौं।’ कार्यवहाक सभापति करुणाकर भट्टद्वारा हस्ताक्षतिर विज्ञप्तिमा उल्लेख छ। 

नेकपा आलिताल गाउँपालिका कमिटीले पनि डोला रिङरोड निर्माण प्रारम्भमा भएको वन विनाश र उत्पन्न जटिल परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरेको छ। 

सडक निर्माणको ठेक्का पाएको उग्रतारा कन्स्ट्रक्सन प्रालि र त्यसका प्रोप्राइटरले पालिका प्रमुखसँग मिलेमतोका साथै वन कर्मचारीको चरम लापरबाहीका कारण वन विनाश गरी सर्वसाधारणलाई फसाउन खोजिएको नेकपाको ठहर छ। 

फडानीमा कुनै संग्लग्नता छैनः गाउँपालिका

वन फँडानीमा आफ्नो कुनै संलग्नता नरहेको गाउँपालिकाले जनाएको छ। एक प्रेस विज्ञप्ति जारी गर्दै गाउँपालिकाले सफाइ दिएको हो। डोला चक्रपथ सडक निर्माणका क्रममा वन फँडानी भएको घटनाप्रति गाउँपालिकाले गम्भीर ध्यानाकर्षण भएको समेत विज्ञप्तिमार्फत जनाएको छ।  

‘उग्रतारा कन्स्ट्रक्सन प्रालिले सडक निर्माण गर्ने जिम्मा पाए पनि कम्पनीले प्रतिनिधि पात्रका रुपमा मानसिं घर्ती मगरलाई अख्तियारी प्रदान गरी ठेक्का सम्झौता भई काम बढाएको र निज व्यक्तिले मनोमानी ढंगबाट सालका रुखहरू काटेको र यसमा गाउँपालिकाको कुनै संग्लनता छैन। दोषीलाई कारबाही होस्।’ विज्ञप्तिमा भनिएको छ।

यो पनि पढ्नुस् 

 

 

 

 


 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.