|

इटहरी : सुनसरीको सिमरियास्थित शिव मन्दिर परिसरमा शुक्रबार ग्यास सिलिन्डर पड्किदा आठजना भन्दा बढी घाइते भएका छन्। तीमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। 

गम्भीर घाइते हुनेमा मोरङ कटारीका ३० वर्षीय सोमराज माझी, मोरङ गछियाकी ३२ वर्षीया तारा मण्डल र नाम नखुलेका एक पुरुष रहेका छन्। घाइते सबैको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार बेलुन फुलाउने क्रममा ग्यास सिलिन्डर विष्फोट भएको थियो। ग्यास सिलिन्डरबाट बेलुन फुलाएर बिक्री गर्दै आएका दुहवी भलुवा नगरपालिका– ६ का व्यापारीद्वय भगवान साह र राधेश्याम साहलाई पक्राउ गरी आवश्यक सोधपुछ र अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोख्रेलले बताए।

शिवरात्रि पर्वका अवसरमा पूजाआर्चनाका लागि मन्दिरमा भेला भएका भक्तजनको भीडभाड भएको स्थानमा अकस्मात बेलुन फुलाइरहेका बेला ग्यास सिलिन्डर विस्फोट भएकाले धेरै मानिस घाइते हुनपुगेको पनि उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.