|

रौतहट : बितेका १५ दिनयता शृङ्खलाबद्ध हत्याका घटना भइरहेको रौतहटमा फेरि एक महिलाको शव भेटिएको छ। आइतबार साँझ गढीमाई नगरपालिका वडा नम्बर ३ लक्ष्मीपुर गाउँको उखुबारीमा हत्या गरेर फालिएको अवस्थामा अन्दाजी ४० वर्षीया मिन्त्रा देवीको शव भेटिएको हो।

यसअघि साउन ३१ गते गरुडा नगरपालिका वाड नंं ८ जिङ्गडियामा सच नर्सरीमा कार्यरत २० वर्षीय निरञ्‍जन पासवानको घाँटी रेटेर हत्या भएको थियो। भदौ ३ गते राति नौ बजेतिर हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहको पनि हत्या भएको थियो। ​निरञ्‍जन र पुजारी हत्याकाण्ड भएपछि पनि जिल्लामा हत्या शृङ्खला नरोकिएको हो। 

जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारीअनुसार लक्ष्मीपुर गाउँका सकल बैठाकी श्रीमती मित्रा देवी १० बजे घाँस काट्न भनेर घरबाट निस्किएकी थिइन्‌। तर, उनको शव उखु बारीमा घाटीमा आफ्नै सारीले बेरेको अवस्थामा फेला परेको हो। 

रौतहटका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले दिएको जानकारीअनुसार स्थानीयले मित्राको शव देखेपछि प्रहरी प्रशासनलाई खबर गरेका थिए। शव भेटिएको स्थानमा प्रहरी चौकी वरियारपुर र इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको प्रहरी टोली पुगेको थियो। घटनाबारे प्रहरीले अनुसन्धान गरिराखेको प्रहरी उपरीक्षक खडकाले बताए। स्थानीयले महिलाको हत्या भएको आशंका गरेका छन्‌।

यसअघि खाना खाँदै गरेका पुजारीको अज्ञात समूहले कन्चटमा गोली हानी हत्या गरेको थियो। प्रहरीले अहिलेसम्म हत्यामा संलग्न कसैलाई पक्राउ गर्न सकेको छैन।
हत्या भएका ३ वटै क्षेत्र इलाका प्रहरी कार्यालय गरुडाको कार्यक्षेत्रभित्र पर्छ।

गत साउन ३१ गते निरञ्‍जन पासवानको शव पोखरीमा फालिएको अवस्थामा भेटिएको थियो। रामको हत्याको आरोपमा ७ जनालाई पक्राउ गरिएकोमा विजय रामको प्रहरी हिरासतमै उपचारको क्रममा गत साउन १० गते ज्यान गएको छ। 

निरञ्‍जन पासवानको हत्याको आरोपमा प्रहरीले निर्दोषलाइ फसाएको र चरम यातनाको कारण विजय रामको ज्यान गएको भन्दै स्थानीयवासी आन्दोलित छन्‌। सोही कारण इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ज्ञान कुमार महतो प्रदेश प्रहरी कार्यालय जनकपुर तानिएका छन्‌। छानबिनका लागी गृह मन्त्रालयले उपसचिवको संयोजकत्वमा ३ सदस्यीय समिति समेत गठन गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.