|

तनहुँ : दमौली अस्पतालले व्यवस्थापन गरेको व्यास नगरपालिका–३ स्थित किरियापुत्री भवनको आइसोलेसनमा बस्ने संक्रमितहरुले पर्याप्त खाना नपाएको बताएका छन्। भनेजति तरकारी नहुने गरेको उनीहरुको गुनासो छ। 

आइसोलेसनमा बस्दै आएका एक संक्रमितले सामाजिक सञ्जालमा खानाको तस्बिरसहित पोस्ट गरेका थिए। भदौ ११ गते संक्रमण देखिएपछि आइसोलेसन गएका उनले आएदेखि नै खाना नपुगेको गुनासो गरेका थिए। ‘आएदेखि चाहिएजति दिइँदैन,’ उनले भने, ‘खाना पुगे पनि तरकारी कम हुन्छ, निस्तै खानुपर्छ।’

आफूहरु बिरामी भएर आएको अवस्थामा पनि पर्याप्त खाना नपाउँदा समस्या झन् थपिने डर रहेको उनले बताए। ‘धेरै पटक गुनासो गर्दा पनि सुनुवाइ नभएपछि फेसबुकमा हालेको हुँ,’ उनले आफूसहित सबै संक्रमितको समस्या उही भएको दाबी गरेका छन्। उनका अनुसार कहिलेकाँही निस्तो खाना नरुचेपछि बिस्कुट र स्याउ खाएर भोक मेटाउने गरेको बताए। 

सिंगल बेड नपाउँदा सामाजिक सञ्जालमा रिस पोखेका हुन् : डा.पौडेल

दमौली अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर सुनिल पौडेलले भने सम्झौताअनुसारै खान दिइएको दाबी गरेका छन्। कोरोनाको जोखिममा पनि जुन होटलले संक्रमित बसेको ठाउँमा खाना पु¥याउन तयार हुन्छ त्यसैअनुसार खाना उपलब्ध गराएको उनले बताए। 

‘सरकारले हामीलाई पाँच सय बराबरको खाना उपलब्ध गराउन भनेको र त्यसैअनुरुप दिइएको छ, संक्रमित भएको ठाउँमा पुगेर उनीहरुका लागि लगिएको सामग्री रियुज नहुने गरी उपलब्ध गराएका छौं, तर उहाँले बेडको रिसमा खानासँग जोडिदिनुभएछ,’ डा.पौडेलले भने। 

‘उहाले सिंगल बेडको माग गर्नुभएको थियो, तर हामीसँग बेड अभावले दुई जनालाई सँगै राखिएपछि यस्तो अवस्था आएको हो,’ उनले भने। ‘होटलले पैसा लिएपछि पुग्ने दिनुपर्छ,’ उनले भने, ‘नसक्ने भए हामी विकल्प खोज्छौं, भनेर होटलसँग भनिसकेका छौं।’

उक्त आइसोलेसनमा अहिले १५ जना संक्रमित छन्। तीमध्ये कतिपयलाई खोकी लागिरहेको छ। तर अहिलेसम्म डाक्टर नआएको गुनासो छ। आइसोलेसनमा रहेकालाई खानाको व्यवस्थापन हुँदै आएको र त्यसको सम्पूर्ण जिम्मेवारी दमौली अस्पतालले लिएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.