|

काठमाडौं : काठमाडौं बालुवाटरकी निलम ताम्राकारको परिचय गत वैशाखसम्म घरेलु तथा साना उद्योग विकास समितिको कार्यकारी निर्देशकको थियो। गत वर्ष यही समयमा भृकुटीमण्डपमा चलेको औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीमा आयोजकको हैसियतले उनी आगन्तुकहरूलाई जानकारी गराइरहेकी थिइन्।

समितिको कार्यकारी निर्देशको हैसियतले उद्यमी बन्नेलाई आवश्‍यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाउँथिन् उनी। गत वर्षमात्र होइन समितिले अहिलेसम्म आयोजना गरेका २७ वटा प्रदर्शनीमा आफ्नो भूमिका रहेको निलम बताउँछिन्। २८ औँ राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीमा निलमको परिचय फेरिएको छ।

गत वर्ष समग्र मेलाको विषयमा जानकारी गराउने निलम अहिले भने एउटा स्टलमा मात्र केन्द्रित भएकी छिन् र त्यही स्टलमा बस्छिन्, स्टलमा भएका सामग्रीको विशेषता बताउँछिन् र ती सामग्री बेच्छिन् पनि। 'आफ्नै मान्छको स्टल हो म्याम?' उनलाई अलि पहिलेदेखि चिन्नेहरु सोध्ने गर्छन्।

प्रत्येक वर्ष एकै किसिमका उद्यमीले आफ्ना वस्तु प्रदर्शनी गर्ने यो मेलामा अहिले निलमको भूमिका देखेर आश्‍चर्य मानेका छन्। निलम भन्छिन्, 'कसैले सरकारी मान्छे एउटा स्टलमा बसरे प्रचार गरिरहेकी छे पनि भन्दा रहेछन्।'

तर उनले जुन स्टलमा बसेर ती उत्पादनका विशेषताको वर्णन गरिरहेकी छन्, ती सामान भने उनकै हुन् अर्थात् निलमका उद्योगबाट उत्पादन हुन्छन्। त्यो विषयमा धेरै स्टलकर्ताहरूलाई थाहा नभएको कारण र उनी 'रिटायर्ड' भइसकेकी छिन् भन्ने जानकारी नभएका कारण निलमको काम अरुलाई खासै मन परेको छैन।

पुराना स्टलकर्ताहरुले उनको परिचय माग्दैनन् उनीहरू निलमलाई सरकारी कर्मचारीको रूपमा चिन्छन्। तर नयाँ कोही अवलोकनकर्ता तथा स्टलकर्ताहरू आए भनेसँगै भएको भिजिटिङ कार्ड दिन्छिन्। ' म निलम ताम्राकार, प्रोडक्ट डिजाइनर, मैले बुद्ध ह्यान्डिक्राफ्ट चलाएकी छु, केही सामान चाहियो भने सम्पर्क गर्नु होला।' फेरिएको परिचय उनले यसरी  बताउने गर्छिन्। पहिले मेला आयोजक तथा सरकारी कर्मचारी थिइन्, उनी अहिले उनी व्यवसायी तथा स्टलकर्ताको रूपमा उनको परिचय छ।

यसकारण रोजिन् व्यवसाय

२०४० सालमा सरकारी सेवा सुरु गरेकी निलम गत वैशाखमा 'रिटायर्ड' भएकी हुन्। शाखा अधिकृतबाट सेवा सुरु गरेकी उनले घरेलु तथा लघु उद्योग उत्पादन गर्ने सामग्रीको डिजाइन सिक्ने र सिकाउने काममा लागिन्।

'विभिन्न उत्पादनहरूको डिजाइन सिकाउनको लागि म ७५ वटै जिल्ला घुमेकी छु, यो काम सिक्न सिकाउन दुवै निकै रमाइलो, मलाई यही 'लत' का कारण सेवा सकिएपछि व्यवसाय सुरु गरेकी हुँ' निलमले थाहा खबरसँग भनिन् 'हामीले पनि यस्तो काम गरेपछि अन्य महिलाहरूलाई पनि उद्यमी बन्न प्रेरणा हुन्छ।'

'रिटायर्ड' भएको अर्को दिन उद्योग दर्ता

निलमले जागिरबाट अवकाश लिएको भोलिपल्ट नै घरेलु तथा साना उद्योग विकास समितिमा आफ्नो उद्योग दर्ता गरेिन्। उद्योग चलाउन थालेको ५/६ महिना मात्रै भएपनि उनले जेठमा नै बुद्ध ह्यान्डिक्राफ्ट दर्ता गरेकी हुन्।

२ लाख रुपैयाँबाट उद्योग सुरू गरेको बताउने निलम आम्दानीसँगै प्रत्येक महिना लगानी थप्दै गएको सुनाउँछिन्। प्रत्यक्ष, अप्रत्यक्ष २ सय जनालाई काम दिएको उनको दाबी छ। काम गरेको आधारमा पैसा पाउने भएकोले जति बेला फुर्सद पाइन्छ त्यति बेला काम गर्ने र जति पैसा चाहियो त्यति धेरै काम गर्ने गरेको उनी बताउँछिन्।

५० रुपैयाँदेखि ३५ सयसम्मका उत्पादन

निलमले ह्यान्डिक्राफ्टसम्बन्धी विभिन्न वस्तुहरु बनाउने गर्छिन्। उनले उत्पादन गर्ने वस्तुहरूमा सबै भन्दा सस्तो कागजका गहना रहेको छ। त्यस्तै माटोको फूलदानी सबैभन्दा महँगो छ, जसको मूल्य ३५ सय रुपैयाँ रहेको छ।

कुनै पनि उत्पादन बिक्री गर्न समस्या नभएको निलम बताउँछिन्। 'उत्पादन गरे पुग्छ जति पनि बिक्री भइहाल्छ। न धेरै लगानी गर्नु पर्छ न बजारको समस्या छ' निलमले थाहाखबरसँग भनिन।

घरेलु प्रदर्शनीमा निलम

निलमका अनुसार घरेलु तथा साना उद्योग विकास समितिबाट औद्योगिक प्रदर्शनी उनकै चाहनामा सुरु भएको हो। उनले नै समितिको बोर्ड बैठकमा प्रस्ताव अघि सारेकी थिइन्।  'पहिले विभिन्न जिल्ला उद्यमी बन, भन्दै हिँडियो, तर बजारीकरणमा समस्या देखियो र त्यसपछि उत्पादक र बिक्रेताको भेट गराउन जरुरी देखेर प्रदर्शनी सुरु गर्ने प्रस्ताव मैले नै अघि सारेकी थिएँ' निलमले भनिन्। उनले ४२ सालमा यस्तो किसिमको प्रदर्शनी गर्नुपर्ने भनेर प्रस्ताव अघि बढाएकी थिइन्। त्यसै वर्ष प्रदर्शनी सुरु भयो।

पहिलो वर्ष पश्‍चिम कालिकोट र पूर्वमा पाँचथरसहित १६ उद्यमीका १६ स्टल क्षेत्रपाटीमा रहेको समितिको कार्यालयको एक कोठामा सुरु गरिएको थियो। त्यसपछि प्रत्येक वर्ष मेलामा सहभागी हुनेको संख्या बढ्दो छ। अहिले चलेको २८औं औद्योगिक प्रर्दशनीमा ३०० स्टल पुगेका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.