समुदायमा फैलिसकेपछि नियन्त्रण गर्न कठिन हुन्छ

|

काठमाडौं : नेपालमा कोरोना संक्रमण र मृत्युको दर ह्वात्तै बढ्दै गएको छ। यतिबेला मुलुकका २ जिल्लाबाहेक ७५ जिल्लामा कोरोना फैलिएको छ। टोल-टोलमा संक्रमित छन्। सरकारले समुदायमा संक्रमण फैलिएको हो भन्‍न सकेको छैन। विश्वभर औषधि र खोपको चर्चा चलिरहेको छ। विभिन्न मुलुकले बनाएका खोप परीक्षण अवधिमा छन्।

यसै सन्दर्भमा अमेरिकामा रहेका इबोलाविरुद्ध एण्टीबडी  औषधि बनाउने तथा जर्जिया राज्यको इन्स्टिच्युट फर बायोमेडिकल साइन्समा कार्यरत भाइरोलोजिष्ट डा. सुदीप खड्कासँग थाहाखबरकर्मी अतिन आचार्यले गरेको कुराकानीको सम्पादित अंश :

कोरोना भाइरसका कारण संसारभर लाखौँ मानिसको ज्यान गइसकेको छ। यो कस्तो भाइरस हो?

भाइरसलाई जहिले पनि उनीहरूको जैविक तत्त्वहरूको आधारमा छुट्याउने गरिन्छ। कोरोनामा आरएनए भएको जैविक तत्त्व हुन्छ। यस्ता प्रजातिको थुप्रै भाइरस हुन्छन्। यस्ता सयौँ भाइरसमध्ये एक हो कोरोना। अन्य भाइरस जस्तो विशिष्ट फरक छैन, बनोट र संरचना उस्तै छ।

यो भाइरसको सबैभन्दा महत्त्वपूर्ण फरक कुरा के हो भने यसले महामारीको रुप लियो। महामारीको रुप लिनुमा पनि मानिसको महत्त्वपूर्ण योगदान छ। महामारीको रुपमा कसरी यसले लिन सक्यो त्यो रोचक तथा खोजपूर्ण बनेको छ। किनभने संसारमा धेरै भाइरसको अस्तित्व छ तर,यसले मात्र महामारीको रुप लिएको छ।

अहिले निकै चर्चामा रहेको विषय छ तातोपानी, बेसार र जडीबुटी तथा आयुर्वेदको प्रयोगले ठिक हुन्छ भनेको छ। कोरोना प्राकृतिक तवरबाट उपचार गर्न सम्भव छ?

तातोपानी, बेसार पानी र आयुर्वेद जडीबुटीले यो रोग निको हुन सक्दैन। अहिले ठूलो भ्रम परेको छ मानिसहरूमा यो भ्रमले खतरनाक अवस्था ल्याउन सक्छ। अहिलेसम्म कोरोना लागेको एकतिहाइ मानिसलाई कोरोनाको लक्षण देखिएको छैन।

कोरोना पुष्टि भए पनि शरीरको इम्युनिटी पावरले जित्छ र निको हुन्छ। त्यसमा व्यक्तिगत खानपिनको कुरा रहन्छ तर, त्यसरी निको हुन्छ भनेर हल्ला र भ्रम फिँजाउनु हुँदैन।

दुईतिहाइ मानिसमा कोरोना संक्रमितको लक्षण देखिएको छ। साधारण रुघा खोकी लाग्ने, ज्वरो आउने र घाँटी दुख्‍ने र मृत्यु पनि हुन सक्छ। अन्त्यमा निमोनिया हुने गरेको छ तर, त्यसभित्र सीमित व्यक्तिहरूको मृत्यु हुने गरेको छ। मेरो अनुभवमा ९० प्रतिशत मानिसमा पानी खाएर वा नखाएर अथवा बेसार नखाए पनि निको हुन्छ। घरेलु उपचारले कोरोना निको हुन्छ भन्नु भ्रम हो।

कोरोना भाइरस कसरी संसारभर फैलिन सफल भयो, यसले किन व्यापकता पायो ?

यो भाइरसले एउटा कुरा प्रमाणित गरेको छ, त्यो हो मानिसको ठूलो सञ्जाल रहेछ भन्ने प्रमाणित गराएको छ। सय वर्ष अगाडिको अवस्थामा हो भने यतिधेरै व्यापक तरिकाले सर्न सक्दैनथ्यो। मानिसहरू अहिलेको जस्तो ओहोरदोहोर गर्दैनथे।

विश्वव्यापीकरणको प्रभाव जुन छ त्यसको कारणले मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा जाने गरेका छन्। त्यसैले पनि यो भाइरस मानिसको कारणले सरेको छ।  चीनबाट सुरु भएको यो भाइरस मुख्यतया मानिसको आवतजावतका कारणले यसले संसार भ्रमण गर्न सफल भएको हो। अहिलेसम्म कुनै पनि प्राणीबाट सरेको हो भन्ने प्रमाणित हुन सकेको छैन।

नेपालमा कोरोना भाइरसको ग्राफ उक्लँदो क्रममा छ, अब नेपालमा कोरोना नियन्त्रणबाहिर गएकै हो?

सरकारले संक्रमितको संख्या थोरै रहँदा नेपालमा कोरोना छैन भन्दै र कोरोनामुक्त राष्ट्र ‍ भन्‍न हतार गरेको थियो। सुरुवाती चरणमा केही कमी कमजोरी भएको छ। कोरोना आउँदैन भनेर क्वारेन्टाइन बनाइएको थिएन।

क्वारेन्टाइन बनाउने र संक्रमितको कन्टयाक ट्रेसिङ गर्नेतिर सरकारले ध्यान दिएन। भारतबाट आएका मानिसलाई राम्रोसँग परीक्षण गर्न नसक्नु र कन्टयाक ट्रेसिङ गर्नेको सही ठेगाना हुन नसक्दा पनि समस्या भएको थियो। विदेशमा मात्र कोरोना आउँछ नेपालमा आउँदैन जस्तो गरिएको थियो त्यो ठूलो भूल थियो।

अन्त्यमा नेपालमा बसेका र कतै ट्राभल नगरेका मानिसमा समेत कोरोना देखिएको छ। यसको अर्थ नेपालमा कोरोना समुदायमा गइसकेको छ। नेपालमा अहिले नै नियन्त्रणबाहिर गएको छैन तर संक्रमितको दर मृत्युदरको संख्या बढ्दै गएको छ यसले अलिक गम्भीर संकट निम्त्याउन सक्छ भन्ने बेला आएको छ। 

परिवारका १४ जना सम्मलाई संक्रमण देखिएको छ। ट्राभल नगरेका मानिसमा समेत कोरोना देखिएको छ, समुदायमा कोरोना  गएकै हो त?

नेपालमा कोरोना समुदायमा गइसकेको छ। समुदायमा गयो भन्न र बोल्नेलाई हिचकिच्याउनु हुँदैन। संक्रमण नदेखिने खालका व्यक्तिमा जब कोरोना देखिन थाल्छ तब कोरोना समुदायस्तरमा गयो भनेर बुझ्दा हुन्छ।

टोल-टोलमा संक्रमण देखिएको छ, जो संक्रमितको ट्राभल हिस्ट्री छैन। यसरी संक्रमण देखिँदासम्म देखिएन भनिन्छ भने चाँहि कस्तो संक्रमण देखिँदा समुदायमा गयो भनेर भन्ने त अब भन्नलाई ढिला गर्नुहुन्न।

समुदायमा कोरोना गएको भन्नुभयो यसका नियन्त्रणका उपाय के-के हुन सक्छन्?

कोरोना नियन्त्रणको लागि धेरै उपाय छन्। तर, नेपालमा लकडाउनलाई मुख्य कुरा मानिएको छ। संसारभर कोरोना फैलिइसकेपछि नेपालमा संक्रमण फैलनबाट बच्नको लागि लकडाउन गरिएको थियो। सुरुवाती दिनमा गरिएको लकडाउन अन्य मुलुकको तुलनामा राम्रो भएको थियो।

संक्रमित बढी भएको ठाउँलाई हेरेर लकडाउन गर्नैपर्छ। सर्वसाधारणको जीवनलाई हेरेर लकडाउनको शैली परिवर्तन गरिनुपर्थ्यो तर लकडाउनको अलावा अरू तयारी हुनुपर्थ्यो, केही भएन। पहिलो संक्रमित भएको ठाउँमा लकडाउन,  कन्टयाक ट्रेसिङ र अरूहरूमा फैलिएको छ छैन त्यसको स्रोत पत्ता लगाउने।

गम्भीर समस्या देखियो भने मात्र लकडाउन गर्नुपर्छ। मानवीय सम्पर्क बढी भएको ठाउँमा मानिसको चाप घटाउनेतिर लाग्नुपर्छ। बैंक र तरकारी पसलहरू सीमित समयमा खोल्नुपर्छ र सेवा दिनुपर्ने ठाउँमा समय बढाउनुपर्छ। जुन समयमा मानिसको चाप एकदम कम हुन्छ।

दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढिरहेको छ। मानिस घरमा थुनिएका छन्। कोरोना नियन्त्रणको उपाय लकडाउन र निषेधाज्ञा मात्र हो?

लकडाउनको कारण मानिसलाई १४ दिन थुन्ने हो भने लागेको कोरोना निको हुन्छ वा मृत्यु भइसक्दछ। अर्को व्यक्तिमा सर्ने सक्ने सम्भावना हुँदैन तर जति लकडाउन गरे पनि मानिसको केही न केही रुपमा मानिस-मानिस बीचमा सम्पर्क भइरहन्छ। लकडाउनले संक्रमणको दर न्युन पार्न सकिन्छ तर निर्मूल पार्न सकिन्न। सम्भावित संक्रमतिलाई कन्टयाक ट्रेसिङ गरी पहिचान गरी आइसोलेसनमा राख्दा त्यसले लकडाउनको भन्दा बढी प्रभावकारी भूमिका खेल्छ।

नेपालमा मृत्यु भएका कोरोना संक्रमितहरू सबै दीर्घकालीन रोगका छन्। सामान्य अवस्थाको मानिसलाई यसले प्रभाव पार्दैन भन्छन् किन होला?

नेपालमा मात्र होइन अन्य मुलुकमा समेत मृत्यु भएका मानिसमा यस्तै दीर्घकालीन रोग देखिएको छ। ७० वर्षभन्दा माथिका छन्। तर, नेपालमा ६० वर्ष भन्दा माथिका मानिसमा अत्यधिक मृत्युदर देखिरहेका छौँ। ४० वर्षभन्दा मुनिका मानिसको मृत्युदर ०.१ प्रतिशत मात्र छ।

नेपालमा अरू रोगको कारणले मरेको भनिएको छ अफवाह फैल्याइएको छ। कोरोना लागेमा यसको मृत्युदर उच्च र जोखिम बढ्दै गएको विभिन्‍न अनुसन्धानले बताइरहेको छ।

संक्रमित र मृत्युदरको संख्या बढ्दै गएको छ। अब कोरोनाले नेपाललाई नियन्त्रणमा लिएको हो?

कोरोनाले नेपाललाई नियन्त्रणमा लिँदै गएको छ। हामीले पहिलेदेखि प्रक्षेपण गर्दै आएका हौँ। समुदायमा बढी संक्रमित देखिरहेका छौँ। संक्रमितको सम्पर्कमा आएकालाई पहिचान गरी कन्टयाक ट्रेसिङ गर्नुपर्छ।

विगतमा १८ देखि ४० वर्षको मानिसमा संक्रमण देखिएको थियो। अहिले वृद्ध उमेर समूहका मानिसमा देखिएको छ। समुदायमा गएपछि उच्च जोखिममा रहेका मानिसलाई खतरा हुन्छ। दीर्घरोगी र वृद्ध मानिस सबैभन्दा बढी जोखिममा छन्।

अब नेपालमा कोरोना नियन्त्रण गर्न सकिन्छ, सकिन्न होला?

कोरोना नियन्त्रण गर्न सकिन्छ। विभिन्न उपाय अपनाउनुपर्छ लकडाउन गर्ने, सामाजिक दूरी कायम, मास्क अनिवार्य प्रयोग गर्नुपर्छ यस्तै भयो केही मात्रामा नियन्त्रण गर्न सकिन्छ। एक ठाउँमा नियन्त्रण गर्न सक्यो भने पनि यो फेरि अर्को ठाउँबाट आउन सक्छन्। तर, त्यसको लागि सतर्कता जरुरी छ। कोरोना नियन्त्रण गर्न सके पनि निर्मूल गर्न असम्भव छ।

औषधि र खोपको विषयमा विभिन्न समयमा अनुसन्धान गर्नु भएको छ। कोरोना खोप बन्न कतिको सम्भव छ?

खोप बनाउन सम्भव छ। विभिन्‍न वैज्ञानिकहरू यसमा लागिरहनु भएको छ। विभिन्न मुलुकले खोपको परीक्षण गर्दै अहिले तेस्रो तहसम्म पुगिसकेका छन्। पहिलो र दोस्रो तहले कतिको सुरक्षित छ भनेर हेर्ने मात्र हो।

तेस्रो तह पार गरेपछि मात्र यसले काम गर्छ तर, फेरि तेस्रो तहको खोपले काम गरिहाल्छ भन्‍ने छैन। परीक्षणकाल लामो हुन्छ र ठूलो समुदायमा लगाउनुपर्ने हुन्छ। खोप लगाएका व्यक्तिमा कोरोना हुन्छ कि भनेर हेर्नुपर्ने हुन्छ। खोप बनिहाले समयमा खोप पाउन सकिन्‍न।

धेरै मानिस संक्रमित छन्। खोप बनाएका देशका मानिसहरू पनि संक्रमित हुन्छन् तिनलाई पुर्‍याएपछि मात्र अरूले पाउने हुन्। नेपालले खोप पाउनका लागि ६ देखि ७ वर्षसम्म संघर्ष गर्नुपर्छ।

विभिन्न मुलुकले गरिरहेका ट्रायल खोप कस्तो हो?

अहिले गरिएका सबै खोप परीक्षणका हुन्। खोपले कहिले पनि भाइरसलाई एकैपटक निस्तेज पार्न सक्दैन। भाइरसको विभिन्‍न भागलाई नष्ट गर्छन् र तिनको विकास गर्न नदिने, खोप एकैपटक निर्माण हुँदैन त्यसको चरण हुन्छ। संक्रमितलाई कतिको प्रभाव पारिरहेको छ, संक्रमितको शरीरमा एन्टीबडीको विकास गर्छ,गर्दैन त्यसको अध्ययन हुन्छ।

नेपालमा रेमडिसिभर र प्लाज्मा थेरापीको धेरै चर्चा छ। यो कतिको प्रभावकारी हुन्छ?

रेमडिसिभर र प्लाज्मा थेरापीलाई संक्रमितको अवस्था हेरेर आपतकालीन अवस्था हेरेर प्रयोग गर्न अनुमति दिएको छ। गम्भीर रुपमा रहेका बिरामीलाई उपचार गर्नु पर्नेलाई रेमडिसिभर दिनुपर्ने हुन्छ। रेमडिसिभर कोरोनाको औषधि होइन र यसले निको हुन १५ दिन लाग्ने बिरामीलाई रेमडिसिभरको प्रयोगले १३ दिनमा निको भएर डिस्चार्ज भएका छन्। केही नभएको अवस्थामा प्रयोग गरिएको मात्र हो।

प्लाज्मा थेरापीले सबै संक्रमित निको हुँदैन। कोरोनाविरुद्धको लागि एण्टीबडी कतिको बनेको छ त्यसमा निर्भर रहने गर्छ। सबै संक्रमितमा एण्टीबडीको विकास नहुन पनि सक्छ काम गर्‍यो भने राम्रो हो। आपतकालीन अवस्थामा मात्र प्रयोग गरिएको छ।

अन्त्यमा, अहिले फ्रन्टलाइनमा खटिएर काम गर्ने स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भइरहेको छ। महामारीको समयमा मनोबल बढाउनुपर्ने समयमा अझ बहिष्कार भइरहेको छ किन यस्तो भयो?

मुख्य कुरा सामाजिक बनोट हो। समाज कुन संस्कारमा अगाडि बढेको छ र हुर्किएको छ त्यसमाथि निर्भर हुन्छ। अर्को कुरा नेपाली समाजमा चेतनाको स्तर एकदमै शून्य छ। समाजमा चाहिने मानिस हुन्। त्यसमाथि अझ संकटको समयमा स्वास्थ्यकर्मी महत्वपूर्ण हुन्छन्।

स्वास्थ्यकर्मीलाई अपमान होइन सम्मान र श्रद्धा गरौँ। सुरुदेखि कोरोनाबारे बुझाउन नसकेको र बुझाउन नसकिनु गल्ती भएको छ। सरकारले बुझाउन नसकेको हो कि नागरिकले बुझ्न नसकेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.