|

बैतडी : बैतडीमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन्। गएको साउनयता बैतडीमा स्क्रब टाइफसका ४९ जना बिरामी फेला परेका स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले जानकारी दिए।

दशरथचन्द नगरपालिका २५ महिला र ११ पुरुष गरी ३६ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको छ। पाटन नगरपालिकाका ३ महिला र एक पुरुष गरी ४ जना, दोगडाकेदार गाउँपालिकाका ४ महिला र २ पुरुष गरी ६ जना, मेलौली नगरपालिकाका १ महिला, पञ्चेश्वर गाउँपालिकाका १ पुरुष र सिगास गाउँपालिकाका १ महिलामा पनि स्क्रब टाइफस संक्रमण भएको छ।

जिल्ला अस्पताल बैतडी र अन्य स्वास्थ्य संस्थाहरु उपचारका लागि पुगेका व्यक्तिहरुको आरडीटी चेकजाँच गर्दा स्क्रब टाइफस देखिएको जोशीले जानकारी दिए। गत आर्थिक वर्षमा जिल्लाभर ४० जनालाई स्क्रब टाइफस संक्रमण पुष्टि भएको थियो। यो वर्ष भने एक महिनाकै अवधिमा ४९ जना स्क्रब टाइफसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

माइट नामक किर्नाको टोकाइबाट स्क्रब टाइफस हुने भएकाले सरसफाईमा विशेष ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन्। झाडी, झ्याङ भएका ठाउँमा माइट बस्ने भएकाले सकभर त्यस्तो ठाउँमा नबस्न स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन्।

यस्तै, जिल्लामा डेङ्गुका बिरामी पनि देखिन थालेका स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लाको दशरथचन्द नगरपालिकाका २ महिला र १ पुरुष गरी तीनजनामा डेङ्गु रोग देखा परेको जोशीले बताए।

डेङ्गु एडिज नामको पोथी लामखुट्टेको टोकाइबाट हुने भएकाले टोकाइबाट बच्नुपर्ने उनले बताए। स्क्रब टाइफस भएमा उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, शरीरमा राता डाबरहरु आउने लगायतका लक्षण देखा पर्छन्‌। 

डेङ्गु भएमा पनि उच्च ज्वरो आउने भएकाले यस्ता लक्षण देखिएमा स्वास्थ्य संस्थामा जान स्वास्थ्यकर्मीहरुले सुझाएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.