|

बागलुङ : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ शुक्रबार ढोरपाटन नगरपालिका–९ बोबाङको बाढीपहिरो प्रभावित क्षेत्रमा पुगेर पीडितहरुलाई भेटेर सरकार साथमा रहेको बताएका छन्।

बाढीपहिरोका कारण आफन्त गुमाएका र घरबारविहीन भएकाहरुलाई सरकारको तर्फबाट हुने सबै सहयोग गरिने भन्दै थापाले जोखिममा रहेका बस्तीहरुलाई सुरक्षित स्थानमा गएर बस्न आग्रह गरे। उनले ढोरपाटनमा बाढी र पहिरोका कारण भएको क्षतिको पुनर्निर्माण वर्षा रोकिएपछि तत्काल सुरु गर्ने बताएका छन्।

उनले बाढीपहिरोका कारण घरबार गुमाएका र परिवार गुमाएकाहरुको तत्कालको व्यवस्थापनमा जुट्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशनसमेत दिएका छन्।

उनले सबै संरचनाको निर्माणका लागि भौतिक मन्त्रीलाई यहाँको अवस्थाको विषयमा जानकारी गराउने र सोहीअनुसार पुनर्निर्माणको काम अघि बढाइने बताए। दैविक प्रकोपका कारण देशले ठूलो धनजनको क्षति व्यहोर्नुपरेको भन्दै उनले सम्भावित जोखिमको आँकलन गरेर सतर्क रहनुपर्नेमा जोड दिए।

पहिरो प्रभावित क्षेत्रमा पुगेका प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले तीनै तहका सरकारको सहयोगमा ढोरपाटनका बाढी पीडितलाई राहत महशुस गराइने बताए।

बाढीपहिरो पीडितका लागि राहत लिएर गृहमन्त्री रामबहादुर थापासहितको टोली प्रभावित क्षेत्रमा पुगेको थियो। मौसम खराबीका कारण बिहीबार पोखराबाट फर्किएका गृहमन्त्री थापा शुक्रबार पुन:  राहत सामग्रीसहित सेनाको हेलिकप्टरमार्फत ढोरपाटन पुगेका हुन्। उनले तत्काल आवश्यक त्रिपाल, टेण्ट, म्याटलगायतका राहत सामग्री पीडित परिवारलाई हस्तान्तरण गरेका थिए।

बुधबार राती बागलुङको ढोरपाटन नगरपालिकाका विभिन्न वडामा भीषण वर्षापछि विपद्जन्य घटना भएको छ। बाढीपहिरोका कारण १४ जनाको मृत्यु भएको छ। २४ जना बेपत्ता छन्। मन्त्रीको टोली ढोरपाटनमा केही घण्टा बिताएर काठमाण्डौ फर्किएको छ।

थप दुई शवको सनाखत, बेपत्ताको खोजी जारी

बागलुङ, १९ भदौ– भदौ १७ गते बुधबार रातिको बाढीपहिरोले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा मृत्यु भएका १४ मध्ये थप दुई जनाको सनाखत भएको छ। पछिल्लो पटक शवको सनाखत हुनेमा ढोरपाटन नगरपालिका–९ की ३५ वर्षिया रिना कुमारी घर्ति र २१ वर्षिया दिलमाया पुन छन्।

यसअघि सोही ठाउँकी २६ वर्षकी केशमाया विक, ४५ वर्षिय विरे विक, २२ वर्षिय जीवन विक र ११ वर्षिय डल्ले बिक रहेको सनाखत भएको थियो। उनीहरुको शव पोष्टमार्टम भइरहेको र परिवारको जिम्मा लगाउने तयारी भइरहेको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताए। शव भेटिएका नौ जनाको अझै सनाखत हुन नसकेको रेग्मीले बताउनुभयो। पहिरोमा परी २४ जना बेपत्ता छन्।

प्रहरीले बेपत्ताहरुको खोजीका लागि प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीको नेतृत्वमा १५ जनाको समुह भुजीखोला र बडिगाड खोलामा खटाएको छ। नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले समेत खोजी गरिरहेको भए पनि हालसम्म बेपत्ता कोही पनि नभेटिएको रेग्मीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.