बल्‍लतल्‍ल १६ सय बेडको आइसोलेसन बनाइयो

|

काठमाडौं : मुलुकमा यतिखेर निषेधाज्ञा छ। दैनिकजसो १ हजारभन्दा बढी संख्यामा कोरोना संक्रमित थपिँदै गएका छन्। काठमाडौं उपत्यकामा दिनप्रतिदिन ४ सय भन्दा बढी संक्रमित थपिने क्रम जारी छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार उपत्यकामा कोरोना संक्रमितको संख्या ७ हजार ९ सय १५ पुगेको छ। यो समाचार तयार पार्दासम्म काठमाडौंमा ६ हजार ३ सय २४, ललितपुरमा ९ सय १२ र भक्तपुरमा ६ सय ७९ कोरोना संक्रमित पुगेका छन्।

काठमाडौं उपत्यकामा संक्रमित र मृतकको संख्या बढेकाले भदौ ३ गतेदेखि निषेधाज्ञा जारी छ। पछिल्लो समय थप भएको निषेधाज्ञामा तीनै जिल्लाका प्रशासन कार्यालयले अतिआवश्यक काम बाहेक बाहिर ननिस्कन र निश्चित समयमा मात्र खाद्य सामग्रीका पसल खोल्ने गरी अनुमति दिइसकेको छ।

उपत्यकाका तीनै जिल्लाका स्थानीय तहहरुले पछिल्लो पटक जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा खुकुलो गरेको भन्दै कर्फ्यु लगाउन माग गर्दै आएका छन्। उपत्यका नगरपालिका फोरम काठमाडौंले निषेधाज्ञा खुकुलो गरेकोमा आपत्ति समेत जनाएको छ।

उपत्यका बाहेकका बाहिरी जिल्लाका स्थानीय तहले अस्पतालका बेड संक्रमितले भरिन थालेपछि संक्रमितलाई राख्न आइसोलेसन बनाएका छन्। बाँकेका स्थानीय तहले बनाएको आइसोलेसनमा लक्षण नभएका संक्रमितलाई राखिएको र सुनसरी जिल्लाका स्थानीय तहले २ सय ३३ बेडको आइसोलेसन निर्माण गरेका छन्। २ सय बेड सञ्चालनमा छन भने ३३ सञ्चालनको तयारीमा रहेको पाइएको छ।

काठमाडौं उपत्यकाको अस्पताल संक्रमितले भरिँदा निषेधाज्ञाको सयममा संक्रमितको उपचारको लागि थप अस्पताल र आइसोलेसन केन्द्रको थप गर्नुपर्ने थियो। यसअघि उपत्यका नगरपालिका फोरमले उपत्यकामा ५ हजार बेडको आइसोलेसन बनाउने घोषणा गरेको थियो। तर, अहिलेसम्म कुनै पनि तयारी देखिएको छैन। फोरम यतिखेर प्रयोगमा ल्याइएको क्वारेन्टाइनलाई आइसोलेसन बनाउने तयारी रहेको छ।

बालाजुमा रहेको काठमाडौं महानगरपालिका १६ मा अवस्थित जनमैत्री अस्पताल सञ्चालन बाहेक अन्य थप आइसोलेसन केन्द्र स्थापना भएका छैनन्। थप संक्रमितको उपचारका लागि अस्पतालको व्यवस्था पनि गरिएको छैन। उपत्यका नगरपालिका फोरमका अध्यक्ष विद्यासुन्दर शाक्य आफैँ कोरोना संक्रमित भएर होम आइसोलेसनमा छन्।

संघीय राजधानीमा रहेको काठमाडौं महानगरपालिकाको खुला मञ्चमा सयौँ मजदुरहरुलाई नागरिक स्तरबाट खुवाउने काम भइरहेको छ। महामारीमा महानगरपालिकाभित्र रहेका सयौं मजदुरको जीवन सुरक्षा ग्यारेण्टी गर्न सकिरहेको छैन। विभिन्न संघ-संस्थाले दैनिक बिहान र बेलुका खाना खुवाइरहेका छन्।

ललितपुर महानगरपालिकाभित्र निषेधाज्ञामा रातो मच्छिन्द्रनाथको रथ तानिएको छ। प्रहरीले निषेधाज्ञामा रथ नतान्न लाई आग्रह गर्दा रथ तान्न सहभागी भएकासँग झडप भएको थियो।

महानगरका प्रमुख चिरिबाबु महर्जन उपत्यका नगरपालिका फोरमका उपाध्यक्ष हुन्‌। निषेधाज्ञाको समयमा नगरपालिकाभित्र रहेका विभिन्न समुदाय र सम्प्रदायका मानिसलाई व्यवस्थापन गर्न नसकेको र व्यवस्थित आइसोलेसन बनाउन नसकेको भन्दै उनको टिप्पणी हुँदै आएको छ। 

लकडाउन र निषेधाज्ञाको समयमा कन्टयाक ट्रेसिङको कामलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उपत्यका नगरपालिका फोरमका सचिव तथा मध्यपुर थिमि भक्तपुर नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ बताउँछन्।

उपत्यकाका जिल्ला प्रशासन कार्यालयलाई लकडाउन र निषेधाज्ञा थप कडाइ गर्न भनिएपनि कडा नगरिएको उनले आपत्ति जनाए। उनले भने, 'संक्रमितलाई आइसोलेट र कन्टयाक्ट ट्रेसिङ भइरहेको छ। निषेधाज्ञामा फोरमको अगुवाईमा ३४ हजार ८ सय ९२ को पिसिआर परीक्षण भएको छ।'

उनका अनुसार उपत्यकामा १ हजारको बेडको आइसोलेसन पहिल्यै थियो। निषेधाज्ञामा सामाखुसी र कीर्तिपुरको राधा स्वामीमा ८ सय बेडको आइसोलेसन बनाइएको छ। स्टाफ कलेजमा ९५, खरीपाटीमा ३ सय, तेलकोटमा ५०, भक्तपुर अस्पतालमा आइसियु सहितको २५ बेड,  मानव अंग प्रत्यारोपण केन्द्रमा ७५ बेड, एन्फा एकेडेमीमा २ सय ७०, नेपाल कोरिया मैत्री अस्पतालमा २५ बेड सहित ११ बेडको आइसियु बनाइएको छ।

'नयाँ बनाइएको आइसोलेसनमा अक्सिजनसहितका बेड छन्‌,' उनले भने, 'आइसोलेसन तुरुन्त बनाउन सकिँदैन, त्यसको लागि प्रयास जारी छ।'

संघीय सरकारसँग समन्वय भएपनि कार्यान्वयन पक्ष फितलो रहेकाले सोचेअनुरुप काम गर्न नसकेको उनले बताए। उपत्यकाका नागरिकको सुरक्षाका लागि जिल्ला प्रशासनको निषेधाज्ञा शैलीप्रति विज्ञप्तिमार्फत आपत्ति जनाएको उनको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.