|

दैलेख : बिहान हुनेबित्तिकै शरीरभरि विभिन्‍न कलरको मसी र हातभरि कालो लाग्‍नेगरी छापाखानाको काममा लाग्‍नु उनको दैनिकी हो। उनी हुन् रोजगारीको सिलसिलामा दाङको देउखुरीबाट दैलेख आएका मंगल चौधरी।

दाङको गढावा गाउँपालिका देउखुरी–६ का २६ वर्षीय उनलाई पहिले ट्याक्टर चालक हुने चाहनाभन्दा पनि बाध्यता थियो। गाउँका केही युवा भारतलगायत अन्य मुलुकमा कामको खोजीमा जाने लहर चलेसँगै उनी भने विदेश जानका पैसा अभावले ड्राइभिङ सिक्दै थिए।

गरिब चौधरी परिवारमा जन्मिएर होला आमा बाबुले छोरा–छोरी पाल्न गरेको संघर्ष आँखैअगाडि देखेका मंगल ट्याक्टर चलाएर भए पनि परिवारको गर्जा टार्ने उपाय खोजेको बताउँछन्। उनी भन्छन्, ‘ट्याक्टर चालक हुन रहर हैन गरिबीका कारण बाध्यता थियो।‘

गाउँका युवा बिदेसिने लहर चलेसँगै मंगलले सोच बदलिँदै गयो साथीभाइको लहलहमा लागेर उनले पनि बिदेसिने सपना देखे राहदानी पनि बनाए। राहदानी हातमा परेसँगै उनलाई आर्थिक अवस्थाले पिरोल्न थाल्यो। आफूसँगै राहदानी बनाएका साथीहरू विदेश गएर पैसा पठाउन सुरु गरिसके आफू भने कामको खोजीमा भैतारिन थालेको मंगलले बताए।

राहदानी बनाएर आर्थिक अभावका कारण बिदेसिन नपाए पनि आफ्नै ठाउँमा बसेर सीप सिक्न जाँगर चल्यो राहदानी बनाएको केही महिना गाउँमै रहेर विदेश जान नपाएपछि ट्याक्टर चालकदेखि छापा खानाको काम सिक्नतर्फ मोडिएको उनले बताए।

दाङबाट छापा खानामा काम सिक्न प्युठान लागेका उनका कैयौँ संघर्षका कथाहरू छन्। उनी भन्छन्, ‘काम पाउनु कहाँ हो कहाँ काम सिक्छुभन्दा कैयौँ ठाउँमा पाएन घरबाट लगेको पैसा सकिएपछि धेरै रात भोकभोकै बस्नुपर्‍यो। गरिबीका कारण भोको पेटले कैयौँ संघर्ष गरेको छु।‘

केही दिनपछि उनले प्‍युठानको एक छापाखानामा काम सिक्ने अवसर पाए केही महिनाको संघर्षपछि सीप सिकेका मंगल उक्त छापाखानामा जागिरे भए। ट्याक्टर चालक हुनुपर्ने बाध्यतादेखि बिदेसिने सपना देखेका उनी आफ्नै देशमा अहिले स्वरोजगार भएका छन्।

एलएलसीसम्मको पढाइ पूरा गरेका मंगलले गरिबीका कारण उच्‍चशिक्षा लिन नपाएको बताए। 

दाङदेखि दैलेख वर्षमा २ लाख बढी आम्दानी

करिब एक वर्ष प्युठानको छापाखानामा काम गरेका चौधरी ५ वर्षअगाडि मात्र दैलेख आएका हुन्। पाँच वर्षअघि दैलेख आएका उनले यहाँको एक छापाखानामा काम गरी वर्षमा दुई लाख बढी आम्दानी गर्दै आएका छन्। पहिले घरमा गरिबीका कारण छाक टार्न मुस्किल हुने उनको परिवार अहिले खुसी छ।

उनी भन्छन्, ‘बिदेसिएको भए त्याहाँ कमाएको पैसा घर आएर बेरोजगार बस्दा सकिन्थ्यो सीप सिकेपछि आफ्नै देशमा काम पाएको छु परिवार सबै खुसी छन्।‘ ऊबेलाको संघर्ष नै अहिले जीवनको आधार भएको उनले सुनाए।

युवालाई स्वरोजगार बनाउनुपर्छ

कामको खोजीमा बाहिरी मुलुक जाने युवाहरूलाई आफ्नै देशमा रोजगारमूलक शिक्षा दिएर स्वरोजगार सरकारले बनाउनुपर्ने चौधरीको भनाइ छ। आफूले सीप सिक्न खोज्दा पनि अवसर नपाएको सम्झँदै उनले युवाप्रति सरकार जवाफदेही हुनुपर्ने बताए।

अहिलेको कोरोना जस्तो महामारीमा बाँच्ने आशामा देश फर्किएका युवा जनशक्ति काम नपाएपछि पराई मुलुक जान बाध्य छन्। बाहिरी मुलुकबाट स्वदेश फर्किएका र यही भएका जनशक्तिलाई रोजगारीमा लगाए देशको विकास हुने उनको बुझाइ छ।

देशमा ठूलाठूला राजनीतिक पविर्तन भएसँगै आएका स्थानीय सरकारहरूले युवालाई रोजगारमूलक शिक्षा दिएर गाउँको विकास गर्नतर्फ अग्रसर हुनुपर्ने उनले बताए। युवाहरूले पनि आफ्नै देशमा सीपपछि संघर्ष गरी सफलता चुम्नुपर्ने चौधरीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.