|

विराटनगर :  विराटनगरमा भइरहेको कृषि तथा औद्योगिक प्रदर्शनीमा शुक्रबारदेखि हेलि सिटी टुर सुरु गरिएको छ। पहिलो दिन शुक्रबार अबेरसम्ममा मात्रै माउन्टेन एयरको हेलिकोप्टरले १० वटा फ्लाइट गराएको छ। यसले विराटनगर बजारको परिक्रमा गराएर मेलास्थल विराट नर्सिङ होमनजिकै लगेर ल्यान्डिङ गर्ने गरेको छ। मेला अवधिभर हेलिकोप्टरले विराटनगरको आकाशमाथि उडेर नगर परिक्रमा गर्ने र मनोरम दृश्य देखाउने व्यवस्था गरिएअनुसार शुक्रबार हेलिकोप्टरले विराटनगर क्षेत्रको फन्को मारेको हो।

होटल एसियाटिक हेलिसिटी टुर नाम दिएर हेलिकोप्टरमा बस्न चाहनेका लागि सेवा दिइएको होटलका सञ्चालक पूण्य भट्टराईले जानकारी दिए। ७ हजार ५ सय रुपैयाँ तिरेपछि हेलिकोप्टर चढ्न सकिनेछ। एक्सपोको आकर्षणको रुपमा हेलिकोप्टर सयरलाई पनि लिइएको छ। पूर्वाञ्चलका पर्यटकीय क्षेत्र कोशीटप्पु, सखडा, कंकालिनी, दन्तकाली आदि हेर्नेहरुका लागि पनि प्याकेज राखिएको छ। एक पटकमा ५ जना सम्मलाई हेलिकोप्टरमा घुमाइने गरिएको छ।

कृषि औजारमा आकर्षण

विराट एक्स्पो–२०७३ मा प्रदर्शनीका लागि राखिएको कृषि प्रविधिमा व्यवसायी तथा कृषकको आकर्षण देखिएको छ। उक्त कृषि औद्योगिक प्रदर्शनी मेलामा राखिएको विभिन्न ब्रान्डका कृषि औजार तथा उपकरणबारे जानकारी लिनेको घुइँचो लाग्ने गरेको हो। बजारमा बसेर गाउँमा खेती गर्ने आफूहरुलाई मजदुर अभावमा कृषि औजारले निकै सहयोग पुग्ने कृषक भरतबहादुर थापाले बताए।

व्यावसायिक खेती गर्ने कृषकहरुले लागत मूल्य घटाउनसमेत कृषि औजार तथा उपकरणको प्रयोग शुरु भएकाले औजारबारे जानकारी लिनेको संख्यामा वद्धि भएको हो। मेलामा कुबेर एन्ड सन्स इटहरीले मात्रै ५ वटा पावर ट्रेवल, १० वटा कम्बाइन्ड मिल, ५ वटा रोटाभेटर, धान काट्ने मेसिन २ वटा बिक्री गरिसकेको छ।

स्टलमा राखिएको धान काट्ने तथा रोप्ने, सोलार वाटर पम्प, धान कुट्ने र मकै, गहुँ पिँध्ने, कम्बाइन्ड मिल, गाई दुहुने मेसिन, र रुख काट्ने लगायतको कृषि उपकरण एवं औजारबारे धेरै कृषक तथा व्यवसायीहरु जानकारी लिन आएको स्टल सञ्चालकहरुको भनाइ छ। मेलामा निर्मल ट्रेडिङ कन्सर्न विराटनगर, एग्रिकल्चर वर्ल्ड सिलीगुडी, कृषि संसार नेपाल बिर्तामोड, कुबेर एन्ड सन्स इटहरी, एसके इन्टरप्राइजेज विराटनगर, र एभरेस्ट सर्जिकल पोखराले कृषि औजारको स्टल राखेका छन्।

रोजगार मेलामा भरिभराउ

विराट एक्स्पोमा राखिएको रोजगारी मेला नामक स्टलमा रोजगारीको खोजीमा रहेका युवा–युवतीको उत्साहजनक सहभागिता रहेको छ। रोजगार परामर्शदाता महेन्द्र प्रसाईंका अनुसार एक्स्पोमा रोजगारीको खोजीमा रहेकाहरूले निःशुल्क आवेदन  गर्न पाउनेछन्। बेरोजगारहरूले मात्रै होइन रोजगारदाताले पनि आफूलाई आवश्यक परेको पदमा निःशुल्क विज्ञापन गरेर उपयुक्त कर्मचारी छनोट गर्न सक्नेछन्। 

‘रोजगारदाता र कामको खोजीमा रहेका दुवैका लागि रोजगार मेला उपयुक्त थलो भएको छ’ प्रसाईंले भने। रोजगार मेलामा डाक्टर, इन्जिनियरदेखि ड्राइभर सम्मको पदमा  रोजगारी चाहनेहरूले आवेदन दिएका छन्। हालसम्म मेलामा १ जना डाक्टर र २ जना इन्जिनियरले रोजगारीका लागि आवेदन दिएका छन्।

मेला आयोजना भएको २ दिनको अवधिमा १ सय ५० बढीले रोजगारी माग्दै आवेदन दिएको परामर्शदाता प्रसाईंले जानकारी दिए। रोजगारी माग्नेहरूमध्ये केहीलाई स्टलबाटै रोजगारदाताकोमा सिफारिस पनि गरिएको छ। एकाउन्टेनमा आवेदन गर्नेहरूको संख्या सबैभन्दा बढी छ। दोस्रोमा मार्केटिङ, तेस्रोमा टिचिङ र चौथोमा सेल्सम्यानमा आवेदन परेको छ।

हालसम्म रोजगारदाताले विभिन्न पदमा ४८ जना कामदारको माग गरेका छन्। आवेदन गर्नेहरूको संख्या भने १ सय ५० भन्दा बढी रहेको छ। मेलामा केही रोजगार दाताहरूले अनौपचारिक रूपमै  कर्मचारी माग गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.