डिस्चार्ज हुने संख्या बढ्दै, आइसोलेसन रित्तिँदै

|

हेटौंडा : मकवानपुरमा हेटौंडा उपमहानगरपालिकाबाहेक अन्य ९ वटा स्थानीय तहमा कोरोना सङ्क्रमण घट्दै गएको देखिएको छ। 

बागमती, कैलाश, बकैया र इन्द्रसरोवरमा सङ्क्रमित शून्य अवस्थामा छ। त्यस्तै थाहा, मकवानपुरगढी, भीमफेदी, राक्सिराङ र मनहरी गाउँपालिकामा सङ्क्रमण दर घटिरहेको तथ्यांकले देखाएको छ। 

थाहा नगरपलिकामा तरकारी, खाद्यान्नलगायत वस्तुहरु काठमाडौं, हेटौडालगायत ठाउँहरुमा ढुवानी हुने भएकोले सबै वडामा विशेष सचेतना अपनाइएको छ।मकवानपुरगढी गाउँपालिकाले सङ्क्रमितको सम्पर्कमा आएकाको पहिचान गरी हालसम्म एक सय स्वाब नमुना सङ्कलन गरेको छ। 

गाउँपालिकामा हाल ३ जना कोरोना सङ्क्रमित घरकै आइसोलेसनमा बसिरहेका गाउँपालिकाका स्वास्थ्य संयोजक विदुर लामिछानेले बताए। त्यस्तै बकैया गाउँपालिकाका ४ जनाले कोरोनालाई जितिसकेका छन्। वडा नम्बर ४ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा र वडा नम्बर ५ स्थित सामुदायिक स्वास्थ्य केन्द्रलाई आइसोलेसन वार्ड बनाइएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख फटिकरमण प्याकुरेलले बताए।  

गाउँपालिकामा सङ्क्रमितको सम्पर्कमा आएकाको परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको छ। भीमफेदी गाउँपालिकाले पनि विभिन्न वडाहरुमा सङ्क्रमितको सम्पर्कमा आएकाको पहिचान गरेर हालसम्म ९३ जनाको स्वाब सङ्कलन गरेको छ। 

गाउँपालिकामा हालसम्म १५ जनामा कोरोना भेटिएकोमा ११ जना निको भएका छन्। यस्तै ४ जना हेटौंडा–६ गौरीटारस्थित आइसोलेसनमा छन्। विकट मानिने राक्सिराङ गाउँपालिकाले हालसम्म एक सय जनाको स्वाब सङ्कलन गरेको छ। यहाँ हालसम्म ३ जनामा मात्र कोरोना देखिएकोमा दुई जना त डिस्चार्ज भइ नै सकेका छन्। १ जना मनहरी–८ सिमपानीस्थित आइसोलेसनमा छन्। 

र गाउँपालिकामा पनि सङ्क्रमणको सम्पर्कमा आएकाको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाले जानकारी दिएको छ। यता मनहरी गाउँपलिकामा २३ जना कोरोना पुष्टि भएकोमा सबै कोरोनामुक्त भइसकेका छन्।

संक्रमितको सम्पर्कमा रहेका र लक्षण देखिएका २० जनाको स्वाब सङ्कलन गरी हेटौंडा–१० स्थित प्रादेशिक प्रयोगशालामा पठाइएको गाउँपालिकाले जनाएको छ।

४ सय ४२ कोरोनामुक्त

मकवानपुरमा पछिल्लो समय कोरोनामुक्त हुनेको दर पनि बढ्दै गएको छ। आइतबार मध्याह्नसम्म मकवानपुरमा कोरोनाबाट निको हुनेको संख्या ४ सय ४२ जना पुगेको छ। 

गत हप्ता ह्वात्तै बढेका संक्रमित अहिले भने धमाधम घर फर्किदै छन्। जनस्वास्थ्य कार्यालय हेटौंडाका सूचना अधिकारी राम केसीका अनुसार आइतबार दिउँसोसम्म मकवानपुरमा पुष्टि भएका ६ सय २३ जना संक्रमितमा ४ सय ४२ जना संक्रमणमुक्त भइसकेका छन्। पछल्लो तीन दिनमा थप ३४ जना संक्रमणमुक्त भएका  छन्।
सूचना अधिकारी केसीका अनुसार हाल जिल्लामा १ सय ७६ संक्रमित सक्रिय रहेका छन्। 

जसमा ६८ जना संस्थागत आइसोलेसन र १ सय ८ जना होम आइसोलेसनमा छन्। हेटौंडास्थित गौरिटार आइसोलेसनमा हाल ६४ जना, कर्रा आइसोलेसनमा १ जना र मनहरी गाउँपालिकाको आइसोलेसनमा ३ जना बसेका छन्। 

यसैगरी हेटौंडा उपमहानगरपालिकामा १ सय ३ जना, मनहरीमा २ जना र मकवानपुरगढी गाउँपालिकामा ३ संक्रमित गरेर १ सय ८ जना होम आइसोलेसनमा छन्। ती सबैको अवस्था सामान्य रहेको बताइएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.