जनस्वास्थ्यविद् भन्छन् : परीक्षण नबढाएसम्म मान्छे थुनेर केही हुँदैन

|

काठमाडौं : पछिल्लो समय काठमाडौंका तीनै जिल्लामा  कोरोना भाइरस (कोभिड-१९) संक्रमण तीव्र गतिमा फैलिरहेको छ। संक्रमण फैलिन नदिन भदौ ३ गतेदेखि जारी निषेधाज्ञा दुई पटक थप्दा पनि संक्रमण नियन्त्रणमा आउने कुनै संकेत देखिएको छैन। अझ दिनमा ४ सय भन्दा धेरैको दरमा संक्रमितहरु बढ्दै गएका छन्। 

सुरुमा एक साताका लागि गरिएको निषेधाज्ञा त्यसपछि दुई पटक थपिएको छ। पहिलो पटक भदौ १० गतेबाट १७ गतेसम्म गरिएको निषेधाज्ञा फेरि भदौ २४ गतेसम्मका लागि थपिएको छ। तर संक्रमण न्यूनीकरण गर्न गरिएको निषेधाज्ञाको समयमै संक्रमितको संख्या झन् झन् बढिरहेको छ।

सरकारले उपत्यकामा निषेधाज्ञा गरेयता उपत्यकाको संक्रमण दर दैनिक तीन देखि झन्डै पाँच सयको हाराहारीमा छ। निषेधाज्ञा सुरु भएपछिको १६ दिनको अवधिमा काठमाडौं उपत्यकामा ४ हजार ६ सय जनाभन्दा बढीमा संक्रमित थपिएका छन्। 

निषेधाज्ञा जारी भएको पहिलो साता भदौ १० गतेसम्म २ हजार ५७ जनामा संक्रमण देखिएको थियो। दोस्रो साता भदौ ११ देखि १८ गतेसम्म २ हजार ६ सय ४२ जनामा संक्रमण देखिएको छ। संक्रमण रोकथाम गर्न भन्दै निषेधाज्ञा गरे पनि यस अवधिमा उपत्यकामा कोरोना झन् फैलिएको छ। 

यसकारण बढ्यो संक्रमण

हाल उपत्यकामा निषेधाज्ञा गरे पनि मानिसहरुले त्यसलाई पालना नगरिदिँदा संक्रमण नियन्त्रण नभएको चिकित्सकहरुले बताएका छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार लामो समय सम्मको लकडाउन र अर्कोतर्फ निषेधाज्ञा हुँदा पनि मानिसहरुले यसलाई राम्रोसँग पालना नगरेकाले संक्रमण नियन्त्रणमा नआएको हो।

‘जुन उद्देश्यले हामीले लकडाउन र निषेधाज्ञा गरेका छौँ, यसलाई आम मानिसले राम्रोसँग पालना गरेको देखिएको छैन', उनले भने, 'जसले गर्दा सक्रमण रोकथाममा हाम्रोमा निषेधाज्ञा र लकडाउन प्रभावकारी देखिएका छैनन्।'

यस्तै निषेधाज्ञा जारी भएपछि मानिस घरभित्रै थुनिँदा परिवारभित्रै संक्रमण फैलिएको समेत डा. पुनले बताए। निषेधाज्ञाअघि संक्रमित भएका व्यक्तिहरुले बाहिर निस्किन नपाउँदा परीक्षण गर्न नसकेको पनि उनले बताए। 'कोरोना भएर पनि जाँच गर्न नपाएकाले  कति मानिस भेटिसकेका हुन्छन्। लक्षण देखिएर परीक्षण गरी रिपोर्ट आउने समयसम्म धेरैलाई सरिसकेको हुन्छ', उनले भने, 'ती व्यक्तिले पनि अन्यलाई सारिसकेका हुन्छन्। त्यसले पनि संक्रमण बढेको हुन्छ। घरभित्रै परिवारका सदस्यलाई समेत संक्रमण फैलाइसकेको अवस्था छ।'

उनले पछिल्लो समय संक्रमण परिवारभित्रै धेरै फैलिएको बताए। ‘निषेधाज्ञा भएको बेलामा मानिसहरु घर भित्रै रहेका छन्। निषेधाज्ञाको समयमा परिवारबीच भेटघाट जस्ता गतिविधि रोकिएको छैन। सडकमा मान्छे नदेखिए पनि भित्र जनस्वास्थ्य मापदण्ड पालना नहुँदा संक्रमण बढेको हुन सक्न सक्छ', उनले भने। 

डा. पुनले घरघरमा पुगेको संक्रमणको परीक्षण नभएसम्म उपत्यकामा संक्रमण नियन्त्रण समेत हुन नसक्ने बताए। पछिल्लो समय एकै घरमा एकभन्दा बढीमा संक्रमण देखिनु पनि संक्रमण भित्रभित्रै फैलिएको पुष्टि भएको उनले बताए।

उपत्यकामा संक्रमण कहिले नियन्त्रण होला? उनी पनि यसको उत्तर अहिले नै दिन नसकिने बताउँछन्। ‘चीनको वुहानमा पनि चिसो मौसममा संक्रमण फैलिएको थियो', उनले भने, 'चिसो मौसम यसै त भाइरस सक्रिय हुने सिजन हो। त्यसैले हाम्रोमा संक्रमण नियन्त्रण हुने अनुमान अहिले नै गर्न मुस्किल छ।'

 भदौ ३ यता संक्रमणको अवस्था

पहिलो पटक निषेधाज्ञा भएको भदौ ३ देखि १८ गतेसम्म काठमाडौं उपत्यकामा यसरी बढिरहेको छ संक्रमण। भदौ ३ गते १५९ जना, भदौ ४ गते २०० जना,  भदौ ५ गते १८२ जना, भदौ ६ गते २१६ जना, भदौ ७ गते १६६ जना,​ भदौ ८ गते २२४ जनामा संक्रमण देखिएको छ।

त्यसैगरी ​भदौ ९ गते २३२ जना, भदौ १० गते ३०१ जना, भदौ ११ गते ३७७ जना,​ भदौ १२ गते ४१५ जना, भदौ १३ गते १८६ जना,​भदौ १४ गते ४२९ जना,​भदौ १५ गते २९८ जना, ​भदौ १६ गते ४८१ जना, भदौ १७ गते ३८८ जना, ​भदौ १८ गते ४४५ जना र भदौ २१ गते २९० जनामा संक्रमण देखिएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञामा संक्रमण नबढेको बताएको छ। मन्त्रालयका अधिकारीहरुले भाइरस संक्रमणको साइकल २ देखि ३ साताको हुने भएकाले निषेधाज्ञामा संक्रमण बढेको नभई समय त्यस्तै परेको जिकिर गरेका छन्। 

जनस्वास्थ्यविद्हरुले भने एक महिनाभन्दा बढी निषेधाज्ञा भएर पनि संक्रमण घटेन भने त्यसको निरन्तरताको औचित्य नहुने बताएका छन्। उनीहरुले संक्रमण नियन्त्रणभन्दा बाहिर गएको पुष्टि हुने बताउँदै अब अझ कडा विकल्प खोज्‍नुपर्ने सुझाएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.