‘पहिलो पटक संक्रमित बोक्दा डर र गर्वले एकसाथ थिच्यो’

|

दमक : दमक–१ की लीला शर्मालाई विभिन्न अस्पताल र सडकमा देख्दा फर्की फर्की हेर्नेको कमी हुँदैन। उनको अधिकांश समय कि यात्रामा हुन्छ कि अस्पतालमा। अन्य महिलाको भन्दा फरक जिम्मेवारीमा रहँदा उनीप्रति अनौठो मान्ने धेरै हुन्छन्। 

उनी एम्बुलेन्स चालक हुन्। दमक नगरपालिकाले व्यवस्थापन गर्दै आएको दमक अस्पतालको एम्बुलेन्स चलाउँछिन्। सवारी चालक पेसामा त्यसै पनि महिलाको न्यून सहभागिता। त्यसमाथि एम्बुलेन्स चालक त झन् थोरै। 

आम महिलाको भन्दा फरक जिम्मेवारी भएकै कारण नौला व्यक्तिहरुको ध्यान उनले खिच्ने गरेकी छन्। उनले भनिन्, ‘खै, पूर्वतिर त अरु महिला एम्बुलेन्स चालक देखेको छैन। भएर पनि नदेखेको हुन सक्छ। तर म जहाँ पुग्छु, त्यहाँ एक्लो हुन्छु।’

डर र गर्वले थिचेको क्षण

विभिन्न जिल्लामा सवारी चालकको रुपमा काम गरिसकेकी उनलाई गएको वैशाख महिनामा भने एउटा डरको पोकोले थिचेको भान भयो। कोरोना संक्रमणले समाजमा डरलाग्दो स्वरुप धारण गरेका बेला उनले पहिलो पटक संक्रमित बोक्नु पर्‍यो । दमकबाट विराटनगरसम्म संक्रमित वृद्ध पु¥याएको क्षण अहिलेसम्मकै अफ्ठ्यारो महसुस भएको बताउँछिन्। 

‘अलि अलि डर भए पनि त्योभन्दा बढी गर्व लागेको छ,’ उनी निर्धक्क सुनाउँछिन्। त्यस यता त कति संक्रमित ओसारिसकिन्। अहिले सुरुवाती समयमा उनमा देखिएको अलि अलि डर पनि भागिसक्यो। 

आफूभन्दा अरुलाई त्रास

२४ सै घण्टा तयारी अवस्थामा रहनुपर्ने पेसा। लामो दूरीमा कहिले बिरामीसँग त कहिले एक्लै पनि यात्रा गर्नुपर्ने। यस्तो बेलामा डर त लाग्ने भयो। तर यसैलाई पेसा बनाइसकेपछि डर मानेर नहुने उनी बताउँछिन्। बिरामीको उपचारका लागि अनवरत र द्रुत सेवा दिनुपर्ने ठाउँमा छन् उनी। त्यसमा पनि सरकारी अस्पताल। यस्तो बेलामा अरु बेलाको भन्दा बढी नै खट्नुपर्छ उनले 

‘को कस्ता बिरामी हुन्छन्, थाहै हुँदैन। त्यसैले मेरो कामप्रति परिवार र आफन्तले बढी चिन्ता लिन्छन्,’ भन्छिन्, ‘म त सुरक्षा सावधानी अपनाएरै काम गरिरहेको हुन्छु त्यसैले कामको बेला डर भन्दा बढी आत्वविश्वास हुन्छ।’ तर उनको कामप्रति भने आफन्त र परिवारका मान्छेलाई चिन्ता हुने गरेको उनी बताउँछिन्।

स्टेरिङसँग जोडिएको नाता

२०३८ साल देखि दमकमा बसोबास गर्दै आएकी उनले २०५२ सालमा एसएलसी पास गरिन्। त्यसपछि दमककै दमक बहुमुखी क्याम्पसमा आइए भर्ना भइन्। सानै देखि हक्की स्वभावकी उनलाई प्रहरीमा जागिर खाने रहर थियो। त्यसैले आवेदन दिन विराटनगर पुगिन्। तर रहर पूरा भएन। त्यसपछि आइए सकेर उनको गन्तव्य बन्यो काठमाडौं। लक्ष्य अध्ययनको भए पनि उनले काठमाडौं पुग्नासाथ आम्दानीको बाटो पहिल्याउनुपर्ने बाध्यता भयो।

उनले त्यहाँ महिलाहरुले टेम्पो चलाएको देखिन्। त्यसै बेला उनलाई मोह जाग्यो त्यस पेसाप्रति। ‘जागिर खोजिदिने कोही थिएनन्, आफूले अनेक उपाय लगाए पनि केही पाइएन’, उनले संघर्षका दिन सुनाइन्, ‘त्यसै बेला एउटा संस्थाले महिलालाई निःशुल्क टेम्पो सिकाउने सूचना निकालेको थियो। मैले पनि निवेदन दिएँ। छनोट पनि भएँ, अनि टेम्पो चलाउन सिक्न पाएँ।’

टेम्पो सिकेपछि उनलाई जिप–कार पनि हाँक्ने रहर पलायो। तालिम केन्द्रमा जाने खर्च थिएन। त्यसैले चिनेका मानिसको एकछिन एकछिन माग्दै उनले हलुका सवारी साधन पनि चलाउन सिकिन्। २०५९ सालमा सवारी चालक अनुमति पत्र लिँदा उनलाई गरिखाने बाटो फराकिलो भएको महसुस भयो। 

आशंकालाई जित्ने आत्मविश्वास

हातमा लाइसेन्स त थियो। तर त्यसले आफ्नै आम्दानी त दिएन। त्यसैले उनी आफ्नो क्षमताको प्रमाण देखाउँदै अवसरको खोजीमा लागिन्। केही वर्षपछि युएनडिपीले सवारी चालक खोजेको थाह पाइन्। ‘त्यत्रो संस्थामा जागिर खान त कतिले भिडे भिडे नि’ कयौं पुरुषलाई उछिन्दै जागिर पक्का भएको क्षण सुनाउँदा उनको अनुहार पनि उज्यालो भयो। 

‘सुरुमा त २४ सै घण्टा काम गर्नुपर्छ। सक्छौ के भने,’ उनी त्यसबेलाको क्षण सुनाउँछिन्, ‘मौका दिएर हेर्नू, आफैं थाहा पाउनुहुन्छ भनें।’ त्यसपछि उनले लहान र नेपालगन्जमा करिब अढाई वर्ष काम गरिन्। त्यसपछि महेन्द्रनगरमा एउटा ट्राभल एजेन्सीको गाडी पनि चलाइन्। 

‘२०७२ सालको भुकम्प आउने अघिल्लो दिन म महेन्द्रनगरबाट काठमाडौ आएको थिएँ, केही समय त एजेन्सीसँग सम्पर्क नै भएन। पछि गएर पनि केही समय काम गरेँ’, झापा आउनु अघिको अवस्था सुनाइन्।

अब त आफ्नै ठाउँमा

देशका विभिन्न ठाउँमा काम गरे पनि उनलाई आफ्नै ठाउँमा काम गर्न पाए हुन्थ्यो भन्ने लाग्यो। त्यसैले उनी २ वर्षअघि दमक आइन्। दमक आएर केही समय एउटा संस्थाको एम्बुलेन्स चलाइन्। त्यसपछि दमक अस्पतालमा एम्बुलेन्स चालक चाहिएको सूचना आयो। उनी त्यहाँ भिडिन्। त्यहाँ अरु पुरुष पनि प्रतिस्पर्धामा थिए। तर उनीसँग भएको लामो समयको अनुभव र अन्तरवार्तामा व्यक्त आत्मविश्वासले अरुलाई फिक्का बनाइदियो। 

जतिसुकै बेला पनि तयारी अवस्थामा रहनुपर्ने एम्बुलेन्स चालक पेसाका विभिन्न हैरानी भए पनि अधिकांश ठाउँमा आफू एक्लो महिला देख्दा गर्व महसुस हुने उनी बताउँछिन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.