|

सिन्धुपाल्चोक :  ६ वर्ष अघिको जुरे पहिरोको घाउ नमेटिँदै सिन्धुपाल्चोकले बाढी र पहिरोको पटक–पटक सामना गरिरहनु परेको छ। १४५ जनाको ज्यान जानेगरी २०७१ साउन १७ गते बलेफी गाउँपालिका, बाह्रबीसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको सिमानामा रहेको जुरेमा ठूलो पहिरो गयो। सिंगो बस्ती पुरियो। सयौँ विस्थापित बने।

यो वर्षको दुई महिनायता सिन्धुपाल्चोकमा दर्जनौँ पहिरोले क्षति गरेको छ। असार २४ गतेको पहिरोले बाह्रबीसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा ठूलो क्षति पुर्‍यायो।  बाह्रबीसे नगरपालिका-५ जम्बुमा बजार नै बगाउने गरी आएको पहिरोले दुई जनाको मृत्यु भयो भने १७ जना हराइरहेका छन्।

त्यस्तै सोही दिन भोटेकोशी गाँउपालिका–४ वुलकुटेमा एक जनाको बाढीले बगाएर ज्यान गयो। साउन १ गते भोटेकोशी गााउपालिका–४ फूल्पिङमा पहिरोले पाँच जनालाई पुर्‍यो। लामो प्रयासपछि मात्र शव फेला परेको थियो।

त्यस्तै, साउन १९ गते राति परेको अविरल वर्षका कारण मेलम्ची नगरपालिका–११ को कभर्डहलमा सुतेका नौ जना कामदार पहिरोमा पुरिए। एकजनाको तत्काल उद्धार भयो। आठ जना मृत फेला परे। सोही राति पाँचपोखरी थाङ्पाल गाउँपालिका २ वरुवामा एक दमपतीले पहिरोमा परि ज्यान गुमाए। सिंगो गाउँ नै पुरिने गरी आएको लिदी पहिरोमा परी ३६ जनाले ज्यान गुमाएका छन्। ३ जना पहिरोमा हराइरहेका छन्।

वर्षायाम यता पहिरोले मात्रै ५६ ले ज्यान गुमाए

सिन्धुपाल्चोकमा यो वर्षको वर्षायाम सुरु भएयता ५६ जनाले ज्यान गुमाएका छन्। पहिरोमा २० जना हराईरहेको जिल्ला प्रहरी कार्यालयको तथ्यांक छ। पहिरोमा परी जिल्लाभर १३ जना घाइते भएका छन्।

सयौँ परिवार विस्थापित

बाढी र पहिरोमा परी सबैभन्दा बढी बाह्रबीसे नगरपालिका, भोटेकोशी, जुगल र पाँचपोखरी थाङ्पाल गाउँपालिका प्रभावित बनेका छन्। ‘बाह्रबीसे नगरपालिका–५ का सात सय बढी परिवार विस्थापित छन्। नगरपालिकाको दर्जनौँ बस्ती धराप भएर बसेका छन।’

नगरपालिका उपप्रमुख सुशीला पाख्रिनले जानकारी दिइन्। पाख्रिनका अनुसार नागरिकको सुरक्षाको विषय गम्भीर हुँदाहुँदै पनि सुरक्षित स्थानमा स्थानान्तरण गर्न सकिएको छैन।

जुगल गाँउपालिकाको आधा दर्जन गाउँ सुरक्षित नरहेको भन्दै गाउँपालिकाले माथिल्लो दुवै सरकारसमक्ष गाउँ स्थानान्तरणको लागि सिफारिस गरेको छ। बस्ती जोखिममा परेको भन्दै साबिक गोल्चे गाउँ विकास समितिका  वडा १ देखि वडा ५ सम्मका नाम्फा, सञ्चगाउँ, लिदी, झुल्के, निम्लुङ गाउँ उच्च जोखिममा रहेकोले स्थानान्तरण गर्न जिल्ला विपद् व्‍यवस्थापन समितिलाई आग्रह गरेको थियो।

‘वर्षा र पहिरोको जोखिम कायम रहेको र बलेफी ए हाइड्रोको सुरुङ निर्माणको क्रममा ब्लाष्टिङ गर्दा सबै जमिन हल्लिएकोले बस्ती स्थानान्तरण गर्न  आग्रह गरिएको स्थानीय आशाबहादुर तामाङले जानकारी दिए। पहिरोको जोखिम कायम रहेको भन्दै जुगल गाउँपालिकाले लिदीका १७२ सहित पाँच सय बढी  घर सुरक्षित गर्नुपर्ने आवश्यक सहयोग र सहकार्यको लागि जिल्ला विपद् व्‍यवस्थापन समितिसहित प्रदेश र केन्द्र सरकारलाई सिफारिससमेत गरेको थियो।

बस्ती नै पुरिने गरी आएको पहिरोले विस्थापित बनेका लिदीका स्थानीयलाई १५४ टेन्टसहित सेलाङको बाँसखर्कमा स्थानान्तरण गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.