अंगभंगसम्बन्धी मुद्दा दायर, उपचारको रकम फिर्ता

|

नवलपरासी : पूर्वीनवलपरासीमा विद्यालयको शुल्क नतिरेको भन्दै विद्यालय संचालकले अभिभावकको खुट्टा भाँचिदिएको खबरले निकै चर्चा पाइरहेको छ।

विनयित्रिवेणी गाउँपालिका वडा नम्बर ७ मा रहेको उज्ज्वल शिशु इङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल दीपक कुँवरले शुल्क नतिरेको भन्दै अभिभावकलाई कुटपिट गरेको समाचार संचारमाध्याममा आएसँगै यस घटना सबैलाई चासोको विषय बनेको छ। 

कुटपिटबाट घाइते भनिएका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुस्ता गाउँपालिका वडा नम्बर ३ पत्थरकल्लाका ५२ वर्षका कृष्णप्रसाद  आचार्य (शर्मा) बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचार गराइरहेका छन्। 

गत साउन २८ गते घटना भए पनि झण्डै २४ दिनपछि मात्र घटना बाहिर सार्वजनिक भएको हो। घाइते भएका आचार्यको दायाँ खुट्टा भाँचिएको थियो। हाल उनको खुट्टाको अपरेसनसमेत भइसकेको छ। अपरेसनको घाउ निको भइनसकेको र टाँका खोल्न बाँकी रहेका कारण उनी अस्पतालको सर्जिकल वार्ड वेड नम्बर २०८ मा उपचार क्रममै छन्।

विद्यालय सञ्चालकका भाइ प्रकाश कुँवर


 
के हो वास्तविकता ?

आचार्यले ०६७ सालमा जेठा छोरा रामप्रसाद आचार्य र ०७० सालमा माइलो छोरा लक्ष्मण प्रसाद आचार्यलाई विद्यालयमा भर्ना गराएका थिए। विद्यालयबाट दुवै छोराहरुले ३र३ वर्ष अध्ययन गरी माध्यमिक शिक्षा उत्तीर्ण गरेका थिए। दुबै छोरालाई पढाउँदा विद्यालयमा तिर्न बाँकी शुल्कका लागि विद्यालयको तर्फबाट पटक पटक ताकेता भइरहे पनि शुल्क नबुझाएको विद्यालयका लेखापाल बाबुराम सुवेदीले बताएका छन्। 

आचार्यले दुवै छोराको गरेर ५१ हजार ७५ रुपैयाँ तिर्न बाँकी रहेको विद्यालयले बताएको छ। घाइते आचार्यले भने समय समयमा केही रकम भुक्तानी गरेकोले ३० देखि ३५ हजारको हाराहारीमा भुक्तानी गर्न बाँकी रहेको हुन सक्ने बताएका छन्।
 
आचार्यका अनुसार शुल्क तिर्न बाँकी रहेको विषयलाई लिएर विद्यालयका प्रिन्सिपल दीपक कुँवरले आफूमाथि हातपात गरेको बताएका छन्। एक्कासि कुटपिट गर्दा आफू बेहोस भएको र कुटपिटबाट आफ्नो खुट्टा भाँचिएको आचार्यले बताए।

घाइते भएपछि विद्यालय पक्षले नै एम्बुलेन्सको व्यवस्था गरी सहिद स्मृति सामुदायिक अस्पतालमा पठाएकोमा त्यहाँ एक्सरे गर्ने क्रममा खुट्टा भाँचिएको र अस्पतालमा उपचार गर्न नसक्ने भनी रिफर गरेपछि बुटवल पुगेको आचार्य बताउँछन्। 

उनले पीडक पक्ष एक दुईपटक अस्पताल आएर भेटेको र त्यसपछि कुनै सोधपुछ नगरेको भन्दै गुनासो पनि पोखेका छन्। हालसम्म उपचारमै रहेका र झण्डै ३ लाख हाराहारीमा खर्च भएको र अझै पनि खर्च हुने भएकोले पनि रकम अभाव भएको आचार्यका छोरा लक्ष्मणले बताए। 

उपचार खर्च बेहोर्नुपर्ने, सार्वजनिक रुपमा माफी माग्नुपर्ने र बुवाले तत्काल केही गर्न नसक्ने र आफूहरुको आम्दानीको स्रोत केही नभएकोले पनि कम्तीमा दुई वर्षका लागि पीडक पक्षले सहयोग गर्नुपर्ने लक्ष्मणले बताए। उनले आर्थिक रुपमा नै सहयोग गर्नुपर्ने वा अन्य कुनै सहयोग भन्ने विषयमा भने खुलाउन चाहेनन्।

विद्यालय संचालक कुँवरविरुद्ध अंगभंगसम्बन्धी मुद्दा दायर

घटनापछि पीडित पक्षले विनय त्रिवेणीमा रहेको इलाका प्रहरी कार्यालय दुम्कीबासमा जाहेरी दर्ता गराएका थिए। पीडित र पीडक पक्षबीच प्रहरी कार्यालयमा छलफल हुँदा पीडित पक्षले उपचार खर्च बेहोर्नुपर्ने, सँगै केही माग राखेपछि सहमति हुन नसकेको संचालक दीपक कुँवरका भाइ प्रकाशले बताए। पीडित पक्षले भने सोर्स फोर्सका आधारमा प्रहरीलाई दबाब दिएर आलटाल गर्न खोजेको आरोप लगाएका छन्।

पीडक पक्षले पहुँचका आधारमा प्रहरीमा उजुरी दिनसमेत रोक लगाएको र यता उपचार क्रममा ठूलो रकम खर्च हुँदै गएपछि भदौ ९ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा निकै दुःखले मुद्दा दर्ता गराएको लक्ष्मणले बताए। 

विद्यालयका संचालक कुँवरविरुद्ध मुद्दा दायर भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँडले पुष्टि गरेका छन्। अहिले पीडकको खोजी कार्यसँगै थप अनुसन्धान बढाएको खाँणले बताए। 

के भन्छन् आचार्यको उपचारमा संलग्न डाक्टर अन्जनी वर्णवाल ?

कृष्ण प्रसाद आचार्य साउन २८ गते नै अस्पताल भर्ना भएपछि नै उनको उपचार सुरु भएको थियो। उनको उपचारमा संलग्न डाक्टर अन्जनी वर्णवाल भन्छन्, 'चेकजाँच गर्ने क्रममा बिरामीमा सुगर बढेर ३ सय भन्दा बढी भएका कारण सुगर डाउन गरेर ३० गते मात्र अपरेसन गरेका थियाैं,' आचार्यले पहिले नै आफूलाई सुगर देखिएको तर कुनै औषधि सेवन नगरेको वर्णवाल बताउँछन्।

३० गते अपरेसन भएपछि अपरेसन गरेको ८ दिनपछि अस्पतालबाट घर जान सक्ने बताए पनि बिरामीले टाँका खोलेर मात्र घर जाने बताएका उनको भनाइ छ।अपरेसन गरेको घाउबाट पछि पानी बग्ने समस्या भएपछि सुरुमा औषधिबाट सुकाउने प्रयास गरिए पनि नभएपछि पुन अपरेसन कोठामा लगेर घाउ सफा गरेपछि अहिले सुक्दै गएको डाक्टर बताउँछन्। पहिलोपटक अपरेसन गर्दा लगाएको टाँका खोलिसकिएको र पछिल्लोपटक लगाएका केही टाँका खोल्न बाँकी रहेकोले अवको ७ देखि ८ दिनमा टाँका खोलिने उनको भनाइ छ।

बिरामीको केस कत्तिको जटिल हो रु भन्ने प्रश्नको उत्तरमा वर्णवालले बिरामी आफैले सानोमा लडेर ढाडमा चोट लागेको र दाइने खुट्टा पहिलेदेखि नै घरी घरी दुख्ने र टन्किने समस्या भएको बताए। 

बाल्यकाल देखिनै आफूमा समस्या भए पनि यसपटकको चोटबाट टन्किने समस्या बढेको आचार्यले बताए। दाहिने खुट्टा कम्मरको जोर्नीदेखि तल र घुँडाभन्दा माथिल्लो भागमा हड्डी चर्किएकोले स्टिल पाता राखेर स्क्रु लगाएर जोडिएको डाक्टर वर्णवालले बताए। अहिलेको अवस्था हेर्दा ३ महिनामा बिरामी हिँड्न सक्ने अवस्थामा पुग्ने वर्णवाल बताउछन्। डाक्टरका अनुसार थप समस्या नदेखिए अबको ७ देखि ८ दिनमा आचार्य डिस्चार्ज हुनेछन्।

उपचारका लागि उपलब्ध गराएको रकम फिर्ता

शुल्क विवादका कारण सिर्जित घटनामा घाइते भएका आचार्यलाई पीडक भनिएका विद्यालय संचालक दीपक कुँवरका भाइ प्रकाशले आचार्यका आफन्त पर्ने पत्रकार आर पि उपाध्यायलाई सँगै लगेर उपचारका लागि सहज होस् भनी ५० हजार रुपैयाँ दिएको बताए। 

कुँवरले आफूले ल्याएको रकम अस्पताल प्रशासनमा बुझाउने बताउँदा आचार्यले आफ्नो व्यक्तिगत रुपमा अन्य खर्च भएकोले आफैंलाई दिन आग्रह गरेपछि आरपि उपाध्यायकै रोहवरमा रकम बुझाएको उनले बताएका छन्। 

रकम बुझाएर १५ देखि २० मिनेटपछि अस्पतालबाट घर फर्किन गाडीमा बसेको समयमा आचार्यले उपाध्यायलाई फोन गरेर माथि बोलाएर आचार्यले पैसा अहिले लिन नसक्ने र एकमुष्ठ हिसाब गर्ने भन्दै रकम फिर्ता दिएको कुँवरले बताए। रकम फिर्ता गरेको सन्दर्भमा बिरामीका माइला छोरा लक्ष्मणले आफैले लिनुपर्ने ठाउँमा उल्टै दिनुपर्ने अवस्था आयो भनेकोले रकम फिर्ता दिएको बताएका छन्।

कसरी भएको थियो घटना ?

साउन २८ गते बुधबार बजारमा किनमेल गर्न आचार्य रानीनगर गएका थिए। पत्थरकल्लादेखि रानीगर पुगेर बजारमा किनमेलका लागि जाँदै गर्दा उज्ज्वल शिशुका संचालक दीपक कुँवरले देखेपछि छोराहरुको फिस तिर्नु पर्दैन भन्दै जबरजस्ती विद्यालयका लेखापाल बाबुराम सुवेदीको घरमा लगेको आचार्य बताउँछन्। ुमसंग अहिले पैसा छैन पछि कुरा गरौंला भन्दा पनि सरले मलाई जबरजस्ती सबैको अगाडि होच्याउँदै लिएर जानुभयो,' आचार्यको भनाइ छ।

आचार्य नाताले विद्यालयका लेखापाल सुवेदीका जेठान पर्छन्। 'सुवेदीकै घरभित्र बसेर केहीबेर छलफल भयो, अनि बाहिर निस्किएर दीपक सरले कति तिर्न बाँकी छ लेखापालसँगै स्कुलमा हिँड भनेर जबरजस्ती गर्नुभयो, मै अहिले जान्न भनें अनि सरले मलाई गर्धनमा हान्नुभएको हो त्यसपछि म लडें,' आचार्यले सविस्तार लगाए।
यता आफ्नै घरमा घटना भएको र घटनाका प्रत्यक्षदर्शी बनेका लेखापाल भुसाल भने संचालक कुँवरले हातपात नगरेको बताउँछन्।

विद्यालयका लेखापाल सुवेदी

उनी भन्छन्, 'वर्षौंदेखिको शुल्क बुझाउन बाँकी भएकोले हामीले पटक पटक शुल्क बुझाउन ताकेता गरेका थियौं। उहाँले कहिले के कहिले के भनेर टार्नुभयो २८ गते पनि उहाँले मैले बुझाउन छैन होला भन्ने जस्तो कुरा गरेपछि दीपक सरले स्कुलमा हिँड भनेपछि म बाइक स्टार्ट गरेर बसेको अवस्थामा बाइकमा चढ्न हात तानेर चढाउन प्रयास गरेको थिएँ, तर आचार्यले आफू विद्यालय नजाने भनेर हात झट्कारेर तान्ने क्रममा पानी परेर चिप्लो भएको घर अगाडिको सिंढीमा नराम्ररी पछारिनुभयो,ु सुवेदीले घटना विवरण सुनाए।

सुवेदीका अनुसार सिँढीबाट चिप्लिएर लडेका आचार्यको खुट्टा नचलेपछि तत्काल उपचारका लागि एम्बुलेन्समा राखेर अस्पताल पठाइएको थियो। आचार्यले विद्यालय संचालक कुँवरले आफूलाई कुटपिट गरेको दाबी गर्दै आइरहेका छन् भने प्रत्यक्षदर्शी र घटनाका साक्षी रहेका लेखापाल सुवेदीले चिप्लिएर लडेको बताइरहेका आफूलाई जबरजस्ती सुवेदीको घरमा लगेको र कुटपिट गरेको घर अगाडिकै पसलेहरु र किनमेल गर्न आउनेहरुले देखेको पनि घाइते आचार्यले जिकिर गरेका छन्।

के भन्छन् घटनाका प्रत्यक्षदर्शी ? 

विद्यालयका लेखापाल बाबुराम सुवेदीको घरमा भएकोले घटना हुने समयमा सुवेदीकै घर अगाडि घर भएकी गंगा क्षेत्रीले बसेर मोबाइल चलाइरहेकी थिइन्। घरभित्र केके भयो आफूले नदेखेको तर चर्काचर्कीपछि घर नजिकै जाँदा लेखापाल बाबुराम सुवेदीले बाईक स्टार्ट गरिरहनुभएको र दीपक सरले कृष्णप्रसाद आचार्यको हात समातेर हिसाब हेर्न जाउँ भन्दै गर्दा आचार्यले नमानेको गंगाको भनाइ छ।

'अंकलले मानिराख्नुभएको थिएन, दीपक सरले आज हिसाब गर्न भनेर हात तान्नुभयो, अगाडि हिलो हिलो लेउ लेउ पनि थियो, दीपक सरले हात तान्दा एकापट्टिको खुट्टा लर्केर लोट्नु्भयो। सबैले उठाएर खाटमा राख्नुभयो, जुन पोजिसनमा लोट्नुभएको थियो त्यही पोजिसनमा चल्न नमिलेपछि दीपक सरले टुकटुक बोलाउनुभयो, त्यसमा जान नमिलेपछि एम्बुलेन्स बोलाउनुभएको हो,' प्रत्यक्षदर्शी गंगाले बताइन्। 

अर्का प्रत्यक्षदर्शी हुन् भक्त बहादुर कार्की घटना घटिरहेकै समयमा घटना भएको घरभन्दा बाटोपारि रहेको पसलमा किनमेलका लागि आएको बताएका छन्। उनले पसलमा बसेर घटना हेरिरहेको र आफूले कुटपिट भएको नदेखेको तर एक आपसमा भनाभन भएको सुनेका बताए। 'दीपक सरले हिसाब हेर्न जाउँ अथवा केही भन्दै हुनुहुन्थ्यो, उहाँले जाउँभन्दा जान्नँ भन्दै पछाडि सर्नुभएको थियो, चिप्लेर लड्नुभयो। हामी चिप्लेर लडेको भनेर उठाउन पनि गएनम्,' उनले घटनाबारे बोले।  

जिल्ला प्रहरी कार्यालयमा यसबारे मुद्दा दर्ता भइसकेकोले अनुसन्धान चलिरहेकोले यसको वास्तविकता केहो भन्ने पछि मात्र खुल्ने प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.