कोरोना भाइरसको डरभन्दा बाली बिग्रिने चिन्ता

|

चितवन : युरिया मलको चरम अभाव हुँदा चितवनका किसानहरू मर्कामा परेका छन्। धानबालीमा मल हाल्ने समय हुँदा समेत बजारमा मल नपाउँदा किसानहरू मर्कामा परेका हुन्। 

कोरोना भाइरसलाई बेवास्ता गर्दै किसानहरू मल लिन बिहानैदेखि लाइनमा बस्ने गरेका छन्। कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गएको चितवनमा किसानहरुलाई आफ्नो स्वास्थ्यको भन्दा मल पाउने नपाउने चिन्ताले सताएको छ। 

बिहान ४ बजेबाट नै मल लिनका लागि लाइनमा बसेको बताउने स्थानीय विकास कोइरालाले महामारीको चुनौतीका बावजुद पनि मलका लागि विहानै देखि लाइन बस्नुपरेको बताए।

गत वर्षहरुमा भदौ महिनामा मात्रै १ हजार मेट्रिक टन मल विक्री भएको थियो। यो वर्ष अभावका कारण ४ सय २६ मेट्रिक टन मात्रै विक्री गर्न सकिएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड चितवनका प्रमुख बुद्धिविनोद दाहालले बताए। 

अहिले चितवनमा कृषि ज्ञान केन्द्रको सिफारिसमा मल विक्री भइरहेकोमा यो वर्ष किसानहरूले पर्याप्त मल प्राप्त गर्न नसकेको उनले जानकारी दिएका छन्। 

चितवनमा कूल मागको ३० प्रतिशत साल्ट ट्रेडिङ र ७० प्रतिशत कृषि सामाग्री कम्पनी मार्फत आपूर्ति तथा बिक्री वितरण हुने गरेको छ। साल्ट ट्रेडिङले मल ल्याएर बिक्री गरेतापनि कृषि सामग्रीले मल ल्याएर बिक्री गर्न नसक्दा अभाव भएको हो। मल अभाव चितवनमा मात्रै नभएर देशभरी नै देखिएको छ। 

कोरोना महामारीको बाहानामा देशभरी मल अभाव हुँदा किसानहरू मर्कामा परेका छन्। नेपाल सरकारले बंगलादेशबाट ५० हजार मेट्रिक टन युरिया मल माग गरेको छ। अहिले युरिया मलको हाहाकार भएपछि सरकारले बंगलादेशसँग माग गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.