|

काठमाडौं : कोरोना भाइरसका कारण अभिभावकले सन्तान गुमाए, सन्तानले अभिभावक ! मृत्युवरण गरेका संसारका सबै दिवंगत आत्माको शान्तिका लागि प्रार्थना गरिरहेछु। 

आफू जन्मिएको र हुर्किएको देशभित्र सभ्यताको केन्द्र भनिएको मध्य शहरमा असभ्य व्यवहार पोखिएपछि आफ्नै चेतनामा प्रश्न गरिरहेछु। किराँती सभ्यताबारे अलि गहिरिएर मन्थन गर्दा काठमाडौं उपत्यका उप-सभ्यता मात्रैको थलो पक्कै थिएन। आधादर्जन भन्दा बढी वंशहरूको शासन भोगेको काठमाडौंमा शासकहरूको रवैया जस्तो भएपनि लोककल्याण र मानवताको दियो कहिल्यै निभेको थिएन। 

२१‌औं शताब्दीको दोस्रो दशक अर्थात यतिखेर काठमाडौं उपत्यकालाई पनि विश्वव्यापी महामारीले लपेटेको छ। सभ्यताको टाइमलाइन र विज्ञानमार्फत भएका चामत्कारिक उपलब्धि अन्दाज गर्न हो भने अहिलेको महामारी मामुली हुनुपर्ने हो। अझ, मध्य शहरमा बसेका मानिसहरू थप मानवीय, दयावान र मानवीय करूणाले भरिएको हुनुपर्ने हो। यसपटक त्यस्तो देखिएन। अर्थात, काठमाडौं उपत्यकाको सभ्यताको केन्द्र मानिने मध्य शहरमा बसेका मानिसहरूले महामारीका बीच गरेको व्यवहार सभ्यताभन्दा निकै परेको भैदियो।

​यो विपत्तिमा श्रमजीवीले रोजगार, सरकारले जनविश्वास, समाजले मूल्य मान्यता र हामीले संस्कार गुमायौँ। यी सूचीका बूँदाहरू मानव सभ्यताका लागि भयानक विषय हुन भन्ने म ठान्दछु।

यो विपत्तिले के-के बुझ्ने अवसर पायौं त? दुई चीज नै अहिलेका लागि बढी महत्वपूर्ण लागेका छन्‌। नकाबभित्र लुकेको हाम्रो कठोर मन र सरकारले फालिरहेको समृद्धिका भाषण भित्र लुकेको दरिद्रता !

वर्षौंदेखि नेपाली समाज भावनात्मक र सहयोगी मन भएका मानिसहरूको एकत्व हो भन्ने एकोहोरो रटानमा हामीले हाम्रो वास्तविकताको मुल्यांकन गर्न छोडिसकेका रहेछौँ। जब देशमा केही अस्वाभाविक संकट आइपर्छ, भावनात्मक र सहयोगी मनहरूको नेपाली समाजको धुमिल अनुहार धरापमा पर्दो रहेछ। सबैतिर यस्तो या सबै खराब भन्ने पक्कै होइन, तर शासकदेखि मध्य शहरका मानिसहरूको रवैया यो महामारीमा ह्वाङ्गै उदाङ्गिएको छ। सरकार त प्रश्नहरूको जवाफ दिनै नसक्ने स्थितिमा पुगिसकेको छ नै, प्रश्नमा प्रश्न थप्‍ने मध्य शहरका मानिसहरू पनि सरकारभन्दा अझै खराब भैदिएका छन्‌। 

महामारीको अग्रपङ्क्तिमा खटिएका चिकित्सकहरूलाई होस्टलमा समेत बस्न दिइँदैन। समाज नै उल्टिएर उनीहरूमाथि खनिन्छ र लखेट्न खोज्छ। ड्युटी सकेर आएकी नर्सलाई टोलमा प्रवेश गर्न दिइँदैन, दिएपनि उनको स्वास्थ्य्यलाई लिएर आतंक फैलाइन्छ। बर्दी लगाएर ड्युटीमा हिँडिरहेको सुरक्षाकर्मीलाई धर्म र संस्कारका नाममा सडकमा आएका मानिसहरूले निर्घात कुटपिट गर्छन्‌। सडकमा मानिस भोकै हुन्छन्‌, शहरका धनाढ्यहरू मुठी फुकाउँदैनन्। 

कोरोना संकटका बेला देखिएको समाज र व्यक्तिका यी व्यवहार तथा घटनाहरूले हामी झुटको पुलिन्दामा अड्केर कसरी भ्रममा बाँचेको रहेछौ भन्ने देखाएको छ।

हामी भ्रममुक्त हुन जरूरी थियो। झुठमा बाँच्न अभिशप्त हाम्रो वास्तविकतालाई भाइरसको अद‌ृश्य कणले पानीको फोकालाई झैं फुटाइदिएको छ। हाम्रो वास्तविक हैसियत छर्लङ्ग पारिदिएको छ। समाज र आफ्नै यथार्थ थाहा पाउनै पर्ने थियो, महामारीले बोध गराइदियो। यसलाई उपलब्धि नै मानौं न। तर, सभ्य समाजले अब अहंकारको काँचुली फाल्ने कि नफाल्ने भन्ने अहम प्रश्नको जवाफ चाहिँ दिनैपर्छ।

यो बिनाकारण बहकिएर लेखिएको आत्मालाप होइन। कुनै युवाले आफैँ र समाजप्रति प्रश्न गर्नुका पछाडि कारण हुन्छन्‌, छन्‌। जारी संकटमा केही घटना आफैँप्रति प्रश्न उठाउने कारण बनेका छन्‌। 

केही दिनअघि काठमाडौंको एक प्रतिष्ठित अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मी २० महिना र ६ वर्षका छोरालाई ७० वर्षीय रोगी आमाको शरणमा छोडेर अस्पतालमा बिरामीको सेवामा थिइन्‌। सरकारले स्वास्थ्य निर्देशिका ल्याएपछि कोरोना संक्रमितको उपचारमा खटिएकी उनी अस्पतालको क्वारेन्टाइनमा बस्नुपर्ने भयो।

स्वास्थ्यकर्मीमाथि सामाजिक बहिष्कारका समाचार सुनेपछि 'अस्पतालले १५ दिन लगातार काममा खटाएको छ' भनेर परिवारलाई बहाना बनाइन्। आफू र आफ्नो परिवार सामाजिक बहिष्कारमा पर्ने डरका कारण यस्तो बहाना बनाउन उनी बाध्य भएकी थिइन्‌।

अर्को घटना उपत्यकाको मुटु मानिने बानेश्वरमा घट्यो। जहाँ बिरामीलाई उपचार गरिरहेका चिकित्सकलाई होस्टलमा बस्न दिइएन। शिक्षित भनिएका व्यक्ति बस्ने ठाउँको रुपमा चित्रित बानेश्वर क्षेत्र उक्त घटना पश्चात् मुटु नभएका व्यक्तिहरुको झुण्ड बस्ने अखडाका रुपमा चित्रित हुन पुग्यो।

लकडाउनकै बेला कालिमाटी क्षेत्रमा एकजना श्रमजीवी भरिया दाइलाई प्रहरी प्रशासनले गरेको अमानवीय व्यवहारले राज्यको चरित्र थप उदाङ्गो पारिदियो। ती भरिया दाजुको जाने ठाउँ थिएन। सडकपेटीमा आश्रय लिएका उनलाई प्रहरीले अमानवीय हर्कत गर्‍यो। उनले प्रहरीलाई लक्षित गरेर भनिदिए, 'यहाँका पुलिसको काम छैन।'

घरबारविहीन र वर्षौं घामपानीले थिचिएर बुढ्यौली लागेका ती व्यक्तिको निराशाजनक अभिव्यक्तिले प्रहरी प्रशासनमाथि प्रश्न उब्जिएको थियो। पीडितको आवाज न नक्सालको कडा सुरक्षा घेराभित्र रहेको प्रहरी प्रधान कार्यालयमा पुग्यो, न त सिंहदरबारको अग्लो पर्खाल नाघ्न सक्यो।

उनको आवाज सडक मै बिलायो। भ्यान र प्रहरी देख्दा असुरक्षा महसुस हुनु बर्दीमाथीको गम्भीर मजाक हो, कानुनी राज्यको उपहास हो। अनुशासन र आज्ञाकारी हुनु भनेको कहिलेकाही कठोर हुनु पनि हो। यद्यपी; प्रहरी प्रशासनको हर्कत सरकारको अंश हो। सरकार जनताको अपेक्षासँग कति अमानवीय रुपमा प्रस्तुत हुन्छ भन्ने उदाहरण पनि हो। सरकारको हर्कत कस्तो छ? प्रहरीको आचरणले देखाइदियो।

चितवनमा कोरोना संक्रमण भएका डाक्टरको घरमा वडाध्यक्षकै नेतृत्वको टोल सुधार समितिले ब्यानर टाँसिदियो। यसबाट हामी र हाम्रा जनप्रतिनिधि कस्ता छन्? कस्तालाई छानेका छौं? हामी कस्ताबाट शासित छौं भन्ने जवाफ आइहाल्यो।

विकासको हिसाबले नेपालको प्रमुख शहर मानिने पोखराका केही घटना लाजमर्दो थियो। संकटका बेला एकीकृत हुनुपर्ने बेला कोरोना संक्रमित व्यक्तिको निधन भएपछि अन्त्येष्टिका लागि प्रशासनले तोकेको क्षेत्रलाई लिएर स्थानीयले विरोध गरे। विरोध मात्र गरेनन्, ढुङ्गामुढामै उत्रिए। केही उपाय नलागेपछि प्रहरीले बल प्रयोग गर्‍यो। लकडाउन अवधिमा नै घरबेटीले डेराबाट निकालेको घटना सुनिए। दलितलाई किरिया गर्न नदिएको घटना पनि पोखराका लागि दाग बनेर बस्यो।

तातो घटना ललितपुरमा घटेको छ। रातो मछिन्द्रनाथ रथ यात्राका क्रममा ड्युटीमा खटिएका ट्राफिक प्रहरीमाथि भीडको आक्रमण गर्‍यो। प्रशासनले लकडाउनका बेला भीडभाड नगर्न आग्रह गर्दा स्थानीयहरू सुरक्षाकर्मीसँग भिडन्तमै उत्रिए। चाडपर्व र जात्रा व्यवस्थापनमा सरकारले देखाएको अकर्मण्यता नै यसको कारक थियो।

उक्त झडपबाट भड्किएको भीड एकजना ट्राफिक प्रहरीमाथि जाइलाग्यो। हेलमेट लगाएकाले ती ट्राफिक जवान त्यो दिन बाँच्न सफल भए। तर, त्यसैबखत धार्मिक आस्था बोक्ने भीडबाट मानविय धर्मको अवसान भयो।

अहिले हाम्रा कठोरता सामाजिक सञ्‍जालमा झन्‌ भुसको आगो जसरी फैलिरहेका छन्‌। भ्रमको खेती र समुदायलाई थप जटिल मोडतर्फ अगाडि ल्याउने सामाजिक सञ्‍जालमा विकृति बढ्दै गएको छ। यस्ता सञ्‍जाल चलाउने पनि हामी नै त हौँ। 

त्यहाँ प्रयोग हुने भाषा र प्रतिक्रिया दिने विवेक वा शैली हेर्दा हामीले परिभाषित गरेको सभ्य नेपाली समाजको व्याख्या स्वयम्‌ले लाज मान्छ। हामी अरुलाई नङ्‌ग्याएर पुन: उनीहरुलाई सभ्यताको पाठ पढाउन एकीकृत बन्न थाल्छौं।

प्रविधिको विकास, भौतिक संरचनाको निर्माण र अग्ला महलका बीच हाम्रा आदर्श साँघुरो हुँदै गएका छन्‌। विभिन्न सहर वा सामाजिक सञ्‍जालमा हुने घटनामा संलग्‍न व्यक्ति शिक्षितवर्ग अन्तर्गतका नै हुन्‌। मान्छे शिक्षित हुँदैमा उसको चेतनाको स्तरको क्षेत्रफल पनि फराकिलो हुन्छ भन्ने मानसिकता गलत सावित भएको छ।

सर्टिफिकेट र जागिरका लागि आर्जेको किताबी ज्ञानको दायराका अगाडि हाम्रो चेतनाको स्तर माटोमा मिलेको छ। एउटा व्यक्तिको गल्ती क्षम्य हुन सक्छ। तर, भीड नै गल्ती गर्न अघि बढ्छ भने समाजको चरित्र कस्तो छ, प्रष्ट थाहा हुन्छ। किनकी, भीड समाजकै अंश जरूर हो।

यो संकटमा केही व्यक्ति दिनरात पीडितका घाउमा मल्हम लगाउन सक्रिय छन। उनीहरुको सेवाभाव खराब आचरणका व्यक्तिका भीडको क्रियाकलापले छायामा पारिदिएको छ। माथि उल्लेखित घटनाका अंशहरू नेपाली समाजमा बढ्दो आक्रोशको झिल्को पनि हो। बढ्दो बेरोजगारी र लामो समयदेखिको लकडाउनले समुदायमा थपिएको समस्यालाई पोख्‍न खोज्दा यस्ता घटना घटिरहेका छन्‌। तर, कुर्सीको खुट्टा नमक्किसकेकाले हो कि!  सरकार र सत्तामा बसेकाहरूले सन्निकट विस्फोटलाई नजरअन्दाज गरिरहेका छन्।

आफूनिहित आदर्श र मान्यता अब व्यक्तिमा होइन, उसले प्रयोग गर्ने सामाजिक सञ्‍जालको भित्ता रंगिन थालेका छन्‌। सामाजिक सञ्‍जाललाई फोस्रा आदर्शले रंगिन बनाउन खोज्दा हाम्रो चेतना कुरुप बन्दै गएको छ। आचरणहरु कृत्रिम भएका छन। समाजको पूरै सञ्‍जाललाई कृत्रिम आदर्शले लेपन गर्दा वास्तविक आदर्शको अवसान हाम्रो नियति बनेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.