एक हप्तामा बन्छ ९ लाख पर्ने अल्लो मसिन

|

काठमाडौं : गत वर्ष लघु उद्यम विकास कार्यक्रम (मेडेप) ले अल्लो प्रशोधन गर्ने मेसिनको डिजाइनका मागेको प्रस्तावनामा पुल्चोक इन्जिनियरिङ क्याम्पसका पाँच विद्यार्थीको प्रस्ताव स्वीकृत भयो। यसबापत उनीहरुले झण्डै १६ लाख नगदमा दुई वटा मेसिन उपलब्ध गराउनुपर्ने थियो।

सन्जीव पौडेल, आदित्य न्यौपाने, सुमित यादव, ज्ञानेन्द्र आचर्य र सुदर्शन बर्तोलाको समुहले निकै मेहतन गरेर अल्लो प्रशोधन गर्ने मेसिन बनायझ। अहिले ती मेसिन उद्योग मन्त्रालयले पर्वत र रोल्पा जिल्लामा राखेको छ। यी मेसिनको प्रयोगबाट अल्लो प्रशोधन सुरु भइसकेको छ। त्यसपछि पनि उनीहरुले अर्को मेसिन तयार पारेका छन् भने अझै थप मेसिनको माग भइरहेको छ। 

कसरी बन्यो मेसिन

मेडेप कार्यक्रम अन्तर्गत प्रस्तावना पास भएपछि ५ विद्यार्थीको समूहले अल्लो प्रशोधन मेसिन बनाउन थालेका हुन्। मेकानिकल इन्जिनियरिङका यी विद्यार्थीहरुलाई नत मेसिन निर्माणका लागि कसैले तालिम नै दियो न स्थलगत अध्ययन नै गरे।  

तर, उनीहरुलाई यो महत्वपूर्ण काम गर्नको लागि सबैभन्दा उपयुक्त सामग्री बन्यो नेपालका गाउँहरुमा परम्परागत तरिकाले हुने अल्लो प्रशोधनको भिडियो। त्यत्तिकै महत्वपूर्ण पात्र बने अल्लो उद्यमीहरु। 'अल्लो उद्यमीसँगको निरन्तरको सम्पर्क र प्रशोधन गर्दाको दुखलाई हरेर जति सक्यो सहज हुने गरी मेसिन निर्माणमा लाग्यौँं' मेसिन उत्पादक पौडेलले थाहाखबरसँग भने।

उनीहरुले अल्लोको पूर्ण प्रशोधन गर्न चार वटा मेसिनको आवश्‍यकता पहिचान गरे। जस अनुसार पहिलो मेसिनले अल्लोको काठ र रेसा अलग गर्ने काम गर्छ। दोश्रोले अल्लोको कडा र नरम रेशा (पाट) अलग्याउने काम गर्छ। तेस्रो मेसिनले निकालिएको नरम मेसिनलाई सफा गर्ने काम गर्छ भने चौथोले धागो बनाउँछ। यही योजना अनुसार उनीहरुले पूर्ण रुपमा अल्लो प्रशोधनको लागि चार वटा मेसिन बनाए। 

मेसिनको आवश्‍यकता

अल्लो पश्चिम पहाडमा पाइने एक प्रकारको वनस्पति हो। यसको रेशा वा बाहिरी बोक्रबाट धागो निकालेर कपडा र विभिन्न सामग्री उत्पादन गर्न सकिनेछ। अहिले नेपालका २६ जिल्लामा अल्लोको व्यवसायिक प्रयोग गरिन्छ। सामान्य घरेलु मेसिन र हात पाखुराकै भरमा उत्पादन हुँदै आएका अल्लोको सामान स्वदेश तथा विदेशमा राम्रो मूल्यमा बिक्री हुन्छ। 

अल्लोबाट उत्पादित सामग्रीको मूल्य राम्रो पाइने भएपनि यसको काम गर्न धेरै कठिन छ। यसको प्रवर्द्धनका लागि आधुनिक मेसिन प्रयोगमा ल्याउनुपर्ने विषयमा उद्योग मन्त्रालयमा पटक पटक छलफल हुँदै आएको छ। पटक पटकको छलफलपछि गत वर्ष यो मेसिन निर्माणको लागि मेडेप कार्यक्रममा समावेश गरिएको हो।

यो मेसिनले १५ जनाले एक दिनमा गर्ने काम एक घण्टामा नै गर्ने उत्पादकहरु बताउँछन्। ५ जना महिलाले दिनभरमा अल्लोबाट ५ किलोग्राम रेसा निकाल्छन् भने मेसिनले एक घण्टामा १५ किलो रेशा निकाल्न सक्छ। यसले एक घण्टामा कडा नरम रेसा छुट्याउँछ भने पाच घण्टामा २० केजी रेशा सफा (धागो बनाउन युक्त) बनाउँछ। त्यस्तै एक घण्टामा एक किलोग्राम धागो उत्पादन गर्छ।   

एक हप्तामै सकिन्छ मेसिन बनाउन

करिब ६ महिना लगाएर दुईवटा मेसिन बनाएका प्राविधिकहरुले एक हप्तामा उद्योगलाई आवश्‍यक पर्ने मेसिन बनाउन सकिने बताएका छन्। सबै सामग्री हुँदा एउटा मेसिन कम्तीमा २ दिनमा बनाउन सकिन्छ। एउटा उद्योगालाई आवश्‍यक पर्ने प्याकेज (४ वटा मेसिन) बनाउँदा ७ दिन जतिमा सकिन्छ' मेसिन उत्पादक पौडेलले थाहाखबर सँग भने। उनका अनुसार ४ जना मेकानिकल इन्जिनियरले एक हप्तामा चार वटा मेसिन बनाउन सक्छ। मेसिनलाई आवश्‍यक पर्ने मोटर भोल्टेज बाहेक सबै सामग्री नेपालमा पाइने भएकोले पनि सहज भएको उनीहरुको अनुभव छ।

यो मेसिनको उत्पादन मूल्य ८ लाख ५० हजार रहेको र ९ लाख रुपैयाँमा बिक्री गरिएको उनीहरुले बताएका छन्। उनीहरुले सरकारलाई ११ वटा मेसिन ९ लाख रुपैयाँको दरमा विक्री गर्दैछन्। 

बढ्यो माग

उद्योग मन्त्रालयले २२ वटा जिल्लामा अल्लो प्रशोधन मेसिन वितरण गर्ने भएको छ। केही दिन अघि गरिएको पत्रकार सम्मेलनमा उद्योग मन्त्री नवीन्द्रराज जोशीले २२ वटा जिल्लामा अल्लो प्रशोधनको मेसिन वितरण गरिने जानकारी दिएका थिए।

मन्त्री जोशीले नेपाली विद्यार्थीले निर्माण गरेका मेसिनहरु किन्ने प्रतिबद्धता जनाएका छन्। 'सरकारी काम हो केही दिन ढिला हुनसक्छ नआत्तिनु तर तपाईहरुले काम गर्दै गर्नु' उद्योग मन्त्रीले मेसिन उत्पादकलई भनेका छन्। उद्योग मन्त्रालयसँग कागजी साम्झौता नभए पनि मन्त्रालयले मेसिन किन्ने विषयमा उनीहरु ढुक्क छन्। 'कागजी सम्झौता नभए पनि हामी निरन्तर छलफल गरिरहेका छौ हामीले निर्माण गरेका मेसिन मन पराइएको छ, मन्त्रालयले किन्छ भन्नेमा हामी ढुक्क छौँ' मेसिन उत्पादक सञ्जीव पौडेलले भने।

उनले मेसिन प्रयोगमा आएपछि उद्यमीहरुले समेत पटक पटक धन्यवाद दिएको बताए। निकै सहज र सरल छ, केही विग्रिहाले पनि उनीहरु आफै बनाउन सक्ने भएकोले पनि उद्यमी खुसी देखिन्छन्' पौडेलले भने।

अबको सोच

एउटा प्रोजेक्ट ओर्कका कारण मेसिन उत्पादन गर्न सफल भएका विद्यार्थी अब भने पूर्ण रुपमा यही काममा लाग्ने सोचाइमा छन्। पहिले सामुहिक रुपमा काम गर्ने, लगानी बढाउन सक्ने भएपछि अल्लोमा मात्रै केन्द्रित नभएर केरा लगायत अन्य रेशाजन्य सामग्री प्रशोधन मेसिन बनाउने लक्ष्यमा उनीहरु रहेका छन्।

'यो भनेको सोसल ओर्क पनि रहेछ, मेसिन नहुँदा अल्लो प्रशोधन गर्ने महिला दिदीबहिनीले धेरै दुख पाएको देखियो हामीले मेसिन बनाएपछि सबै भन्दा बढी महिला दिदीबहिनी खुशी हुनुहन्छ अब पूर्ण रुपमा यसैमा लाग्छौं' पौडेलले भने।

उनीहरुले अब एउटा कार्यालय लिने तयारी गरेका छन्। अनि अर्डर अनुसारका मेसिन तयार गर्ने योजना छ। 'श्रमिक बनेर जाने होइन अरुलाई काम दिने गरी हामी काम गर्छौ' पौडेलले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.