मन्त्रालय भन्छ : आरडिटीभन्दा भरपर्दो, तर विज्ञले उठाए प्रश्‍न

|

काठमाडौं : उपत्यकासहित देशका केही भागमा संक्रमण समुदायमा फैलिएपछि सरकारले कोरोना भाइरस (कोभिड-१९) को स्थिति पत्ता लगाउन एन्टिजेन परीक्षण तयारी गरेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धेरै संक्रमण देखिएको समुदाय र उच्च जोखिममा रहेका क्षेत्रमा समुदायस्तरमा पुगेर एन्टिजेन परीक्षण तयारी गरेको हो। 

यसअघि आरडिटी परीक्षण गरेर विवादमा आएको सरकारले हाल त्यो भन्दा राम्रो मानिएको भन्दै एन्टिजेन परीक्षण समुदायस्तरमा गर्न लागेको हो। 

एन्टिजेनमा अमेरिका-जापान सघाउँदै 

एन्टिजेन परीक्षणका लागि अमेरिका र जापानले आवश्यक किट सहयोग गर्ने भएका छन्। हाल स्वास्थ्य मन्त्रालयले जापान सरकारबाट ६० हजार एन्टिजेन किट उपलब्ध गराउने जनाएको छ। यी किटलाई देशका सबै प्रयोगशालाहरूमा प्रयोग गरिने तयारी छ। हाल जापानबाट केही एन्टिजेन किट आइसकेको मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका सह-प्रवक्ता डा. समीर अधिकारीले एन्टिजेन परीक्षण गर्ने निर्णय भएको बताए। यसका लागि जापानबाट केही किटसमेत आइसकेको उनले जानकारी दिएका छन्। 

'समुदायमा संक्रमण कुन अवस्थामा छ भनेर पत्ता लगाउन सेरोलोजिकल टेस्टका लागि एन्टिजेन परीक्षण गर्न लागिएको हो', उनले भने, 'यसलाई हामीले सुरुमा हाल धेरै संक्रमण देखिएका र उच्च जोखिमयुक्त क्षेत्रका समुदायमा परीक्षण गर्ने छौँ।' 

मास स्क्रिनिङ गर्न चाँडो र सस्तोसमेत हुने भएकाले यो परीक्षण गर्न लागिएको डा. अधिकारीले बताए। डा. अधिकारीले जापानबाट अनुदानस्वरूप ७ हजार किट आइपुगेको बताए। थप आउने क्रम रहेको उनले जानकारी दिए। अमेरिकाले पनि यी किट सहयोग गर्ने आश्‍वासन दिएको उनले बताए।

नेपालले तत्काल आफैं किट खरिद नगर्ने मन्त्रालयले जनाएको छ। सह-प्रवक्ता डा. अधिकारीले सुरूमा अनुदानमा आएका किटको प्रयोग गरेर त्यसका आधारमा आफैं खरिद गर्ने-नगर्ने टुंगो लगाउने बताए।

आरडिटी भन्दा भरपर्दो  

सह-प्रवक्ता अधिकारीका अनुसार एन्टिजेन परीक्षण आरडिटी भन्दा भरपर्दो हुने छ। अमेरिकालगायत धेरै देशले यसको प्रयोग गरिरहेकाले नेपालले पनि प्रयोग गर्न लागेको उनले बताए। 

यो किट युरोपियन युनियन स्टान्डर्डकै रहेकाले प्रयोग गर्न लागिएको डा. अधिकारीले बताए। उनले आरडिटी जस्तै रगतको माध्यमबाट परीक्षण गरेर नतिजा एक घण्टामै आउने उनले बताए।  पिसिआर जस्तै भरपर्दो नभए पनि आरडिटी भन्दा धेरै विश्वसनीय हुने डा. अधिकारीले बताए। 

पहिले गुणस्तर जाँचौँ : विज्ञ

चिकित्सकहरुले भने किटको गुणस्तर जाँच गरेर मात्रै एन्टिजेन परीक्षण गर्नुपर्ने बताउँदै आएका छन्। एन्टिजेन परीक्षण सजिलो र सस्तो हुन्छ। फिल्डमै गर परीक्षण  गर्न सकिने भए पनि यसको गुणस्तर परीक्षण गर्नु पर्ने चिकित्सकहरुले बताएका छन्। 

सरकारले सुरूमा पनि आरडिटी परीक्षणलाई प्राथमिकता दिँदा धेरै संक्रमण समुदायस्तरमा फैलिएको छ। सुरूमा गुणस्तर जाँच गरेर मात्रै प्रयोगमा ल्याउने भनिए पनि आरडिटी किटबाट व्यापक परीक्षण गरिएको थियो। आरडिटीको नतिजामाथि स्वास्थ्य अनुसन्धान परिषदले नै प्रश्‍न उठाए रोक्न निर्देशन दिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.