गतिविधि रोक्न कार्यदलको सुझाव

|
फाइल फोटो

काठमाडौँ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र नेताहरूको गुट जति छन्‌, राज्यकोष र दातृसहायता दोहन गर्न त्यो भन्दा धेरै प्रतिष्ठानहरू खोलिएका छन्‌। तर यी प्रतिष्ठानहरू जनजीवनका लागि असल काम गरी प्रतिष्ठा कमाउने भन्दा राज्यकोष दोहन गर्ने उद्देश्यले खोलिएका छन्‌।

​अझ, पार्टीभित्र विवाद चलिरहँदा यस्ता प्रतिष्ठानहरू सौदावाजीको औजार बनिरहेका छन्‌। प्रतिष्ठानभित्रै गुट-उपगुट मौलाउन थालेको छ। विवाद समाधान गर्नका लागि महासचिव बिष्णु पौडेल नेतृत्वमा गठित कार्यदलले नै पार्टीभित्रका प्रतिष्ठानले गुट चलाएको उल्लेख गरेका छन्। 

कार्यदलले तयार पारेर बुझाएको प्रतिवेदनमा प्रतिष्ठानका विषय उल्लेख भएपछि पार्टीभित्र गलत अभ्यासविरुद्ध निरन्तर संघर्ष गरेका भनिएका वरिष्ठ नेता माधवकुमार नेपाललाई नै 'तातो लागेको' छ। किनकी, नेकपाका प्रतिष्ठानहरूमा उनी पनि छन्‌। उनले सबै प्रतिष्ठानमा गुटबन्दी नचलेकाले त्यसबारे प्रतिवेदनले स्पष्टसँग खुलाउनुपर्ने बताइरहेका छन्। 

नेकपाभित्र मदन भण्डारी फाउन्डेसन, पुष्पलाल प्रतिष्ठान, तुल्सीलाल फाउन्डेसन, मनमोहन अधिकारी स्मृति प्रतिष्ठान, भरत मोहन अधिकारी प्रतिष्ठान, पासाङ ल्हामु शेर्पा प्रतिष्ठान, रवीन्द्र अधिकारी प्रतिष्ठान, प्रकाश दाहाल प्रतिष्ठान, सहाना प्रधान प्रतिष्ठान, ऋषिराम जैसीको नेतृत्वमा यदु स्मृति प्रतिष्ठान र मोतीदेवि प्रतिष्ठान लगायत यस्ता दर्जनौं प्रतिष्ठान रहेका छन्। नेपाली कम्युनिष्ट आन्दोलनका स्वर्गीय नेताहरू र हाल रहेका नेताका दिवंगत सन्तानको नाममा पनि यस्ता प्रतिष्ठान खोलिएका हुन्‌। यी प्रतिष्ठानहरू पार्टीकै नेताहरूले चलाइरहेका छन्‌।

​कार्यदलले तयार पारेको प्रतिवेदनमा प्रतिष्ठानबारे उल्लेख भएपछि वरिष्ठ नेता नेपाल चिढिनुको कारण पनि यही हो। किनकी, मदन भण्डारी फाउन्डेसन, पुष्पलाल र तुलसीलाल फाउण्डेसनमा नेता नेपालकै पकड छ। सरकारले मदन भण्डारी, पुष्पलाल, तुल्सीलाल, पासाङ ल्हामुलगायत प्रतिष्ठानलाई वर्षेनी बजेट समेत विनियोजन गर्दै आएको छ।

माथि उल्लेख गरिएका बाहेक पनि नेकपाका नेता/कार्यकर्ताले अनेकानेक प्रतिष्ठानहरु खोलेका छन्‌। ती प्रतिष्ठानहरूलाई आफू र आफ्नो निकटका गुटको कार्यक्रम र भेला गर्न दुरुपयोग गर्ने गरेको आरोप लाग्दै आएको छ। 

कार्यदलको सुझाव 
पार्टीका विभिन्न नेताका नाममा विभिन्न प्रतिष्ठान वा संघ-संस्था परिचालित छन्। यी मध्ये अधिकांश गुटबन्दीको माध्यम बन्दै गएका छन्। गुटबन्दी रोक्न प्रतिष्ठानहरुलाई नियमन गर्नुपर्छ। त्यसका लागि पार्टीले यस्ता संस्थाहरुमा नेता वा कार्यकर्ताको संलग्नता र तिनको आर्थिक स्रोत तथा क्रियाकलापका बारेमा तथ्यपरक जानकारी प्राप्त गर्ने।
त्यस्ता संस्थाहरुमा पाटीका नेता कार्यकर्ता वा सदस्यहरुको संलग्नताको स्वरुप निश्चित गर्ने।  प्रतिष्ठानहरुको सञ्चालन, व्यवस्थापन तथा नियमन विधि निश्चित गर्न एक महिनाभित्र प्रतिवेदन दिने गरी स्पष्ट कार्यादेशसहित कार्यदल गठन गर्ने। कार्यदलको प्रतिवेदन प्राप्त भएपश्चात त्यस उपर छलफल गरी आवश्यक निर्णय लिने। तबसम्मका लागि पार्टीद्वारा गठित वा पार्टीका नेता–कार्यकर्ता सम्मिलित कुनै पनि प्रतिष्ठानहरुलाई प्रदेश, जिल्ला र स्थानीय तहमा शाखा गठन नगर्न र गतिविधि नगर्न निर्देशन दिने। 

मदन भण्डारीको नाममा गुटै-गुट

मदन भण्डारी फाउन्डेसनभित्र तीव्र गुटबन्दी चलेको छ। भण्डारीको नामबाट मात्रै देखिनेगरी चारवटा प्रतिष्ठान सञ्चालित छन्। मदन भण्डारी फाउन्डेसन, मदन–आश्रित प्रतिष्ठान, मदन भण्डारी अध्ययन केन्द्र र मदन स्मृति प्रतिष्ठान खोलिएको छ।  

तत्कालीन एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको दासढुंगा जीप दुर्घटनामा परेर मृत्यु भएको थियो। उनीहरुको सम्झनामा नेता नेपालले मदन–आश्रित स्मृति प्रतिष्ठान गठन गरेर चलाए। 

नेता नेपालले मदन–आश्रित प्रतिष्ठान गठन गरी चलाएपछि मदनपत्‍नी एवम्‌ हालकी राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेताहरुले ‘मदन–भण्डारी फाउन्डेसन’ खोलेर चलाइरहेका छन्‌।

​'हामीले पार्टीका महान व्यक्तिहरुको नाम स्मरण भइरहोस् भनेर प्रतिष्ठान चलाइरहेका थियौँ,’ नेता नेपाल निकट एक नेता थाहाखबरसँग भने, ‘त्यही बेला राष्ट्रपति र प्रधानमन्त्रीले अर्को प्रतिष्ठान थपेर गुटबन्दी सुरु गर्नुभएको हो। त्यसपछि अरुले पनि मदन-आश्रितका नाममा अरू संस्ठा खोले।’

‘प्रधानमन्त्रीले लोक-लाज ढाकेर प्रतिष्ठानमा समेत गुटबन्दी गर्न थाल्नुभएको यहीँबाट प्रष्ट देखिन्छ। अहिले प्रतिवेदनमा पनि त्यसबारे कुरा उठेको छ, नेतृत्वले त्यस्ता गुटबन्दी अभिप्रायले खोलिएका सबै प्रतिष्ठान बन्द गराउन सक्नुपर्छ, या त प्रतिष्ठानको उद्धेश्य बुझेर चलाउनुपर्छ, राज्यस्रोत दोहन र गुटबन्दी गर्न नेताहरूको नाम दुरुपयोग हुनु हुँदैन,’ ती नेताले भने।

मदन–आश्रित प्रतिष्ठान नेता प्रदीप नेपालले चलाइराखेका छन्। मदन स्मृति प्रतिष्ठान पनि ओल निकट नेताहरुले नै चलाइरहेका छन्। यस्तै, पर्यटनमन्त्री योगेश भट्टराईको नेतृत्वमा पनि मदन भण्डारी अध्ययन केन्द्र स्थापना भएको छ।

‘हामीले प्रतिष्ठानमा गुटबन्दी चाहेका छैनौँ, तर, शीर्ष नेताहरुबाटै गुटबन्दी भइरहेका छ, त्यसैले कार्यदलको प्रतिवेदनमा उल्लेख हुनु स्वभाविक हो, त्यस विषयमा छलफल गर्न आवश्यक छ,’ ती नेताले भने। 

अरुमा प्रतिष्ठानमा पनि भद्रगोल! 

नेकपाका पुष्पलाल र तुलसीलाल प्रतिष्ठान पनि उस्तै भद्रगोल अवस्थामा छन्‌। पुष्पलाल प्रतिष्ठानमा वरिष्ठ नेता नेपाल आवद्ध छन्‌। पुष्पलाल प्रतिष्ठानको नेतृत्व नेता नेपाल र अर्का वरिष्ठ नेता झलनाथ खनालले गरिरहेका छन्। कम्युनिष्ट पार्टीका महासचिव स्व. तुलसीलाल अमात्य प्रतिष्ठानको नेतृत्व गोपाल शाक्यले गरिरहेका छन्। यसमा पनि नेता नेपाल आवद्ध रहेका छन्। 

यस्तै, पूर्वप्रधानमन्त्री स्व. मनमोहन अधिकारीका नाममा पनि स्मृति प्रतिष्ठान गठन गरिएको छ। यसको नेतृत्व उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गरिरहेका छन्। 

यी बाहेक नेकपाका नेताहरूले अन्य धेरै प्रतिष्ठान खोलेका छन्‌। तर, यस्ता प्रतिष्ठानहरू गुटबन्दी गर्ने थलोको रुपमा विकसित हुँदै गएको आरोप लागिरहेपनि नेकपाका जुझारू भनिएका नेताहरू नै यसलाई अस्वीकार गर्छन्‌। प्रतिष्ठानको नाममा कुनै आफूले कुनै गुटबन्दी नगरेको सहाना प्रधान प्रतिष्ठानकी अध्यक्ष तथा नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्री बताउँछिन्। 

‘पार्टीमा ठूला प्रतिष्ठानहरुले गुटबन्दी गरेका होलान्। तर, हामीले सहाना प्रधानजस्तो उच्च व्यक्तिको नाममा राजनीति गरेका छैनौँ, गर्दैनौँ पनि!’ उनले थाहाखबरसँग भनिन्, ‘तत्कालीन अध्यक्ष झलनाथ खनालसँग सहकार्य गरे प्रतिष्ठान चलाएका छौँ, प्रधानले महिला आन्दोलन र उद्योगमन्त्री हुँदा देशलाई आत्मनिर्भर कसरी बनाउने विषयमा भिजन ल्याउनुभएको थियो। तर, सबै पूरा हुन सकेनन्, त्यसैले उहाँको विचार र धारणासँग केन्द्रीत भएर अहिले पनि हामी छलफलमा जुटेका छौँ।’

प्रतिष्ठानको अध्यक्ष आफू भएपनि संरक्षक प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्धय खनाल र नेपाल, उपाध्यक्ष वामदेव गौतम र उहाँको छोरा उमेशलाल प्रधान रहेको झाँक्रीले बताइन्। उनले थपिन्‌, ‘हामीले यहाँ पनि गुटबन्दी चलाउन चाहेको भए प्रधानमन्त्रीदेखि पार्टीका उच्च नेतृत्वका नेताहरुलाई समावेश नै गर्ने थिएनौँ नि !’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.