वीरको ओपिडीमा अन्य रोगका बिरामी घटे

|

काठमाडौं : सरकारले वीर अस्पताललाई कोभिड उपचार केन्द्र बनाएपछि ट्रमा सेन्टरमा सयजना नन कोभिड बिरामीको उपचार तयारी गरेको छ। ट्रमा सेन्टरको पहिलो तलामा करिब एक सय नन कोभिडका बिरामीलाई राखी उपचार गरिने भएको हो।

वीर अस्पताललाई कोभिड उपचार केन्द्र बनाएपछि ओपिडीमा आउने नन कोभिडका बिरामीको संख्या कम भएको छ। दैनिक १ सय नन कोभिड बिरामी परीक्षण गर्न आउन थालेका छन्।

लकडाउनभन्दा अगाडि दैनिक १२ सय देखि १३ नन कोभिडका बिरामी ओपिडीमा आउने गरेका थिए। लकडाउनको अवधिमा करिब ४ सय बिरामी परीक्षण गर्न आउने अस्पतालले जनाएको छ।

अस्पतालबाट दिने नियमित सेवालाई अवरुद्ध नहुने गरी ट्रमा सेन्टरबाट नन कोभिडका बिरामीलाई उपचार गर्नलाई तयारी गरिरहेको वीर अस्पतालका फोकल पर्सन डा. अच्युत कार्कीले बताए।

अस्पतालमा नन कोभिडका बिरामी ९० जना छन। अबको दुई सातामा ट्रमा सेन्टरबाट नियमित सेवा दिने तयारी गरिरहेको डा. कार्कीले बताए। 'गम्भीर प्रकृतिका सम्पूर्ण बिरामीको उपचार गरिन्छ,' डा .कार्कीले भने,' ट्रमा सेन्टरमा शल्यक्रिया गरिन्छ। अर्थोपेडिक बाहेकको सबै उपचार वीर अस्पतालले ट्रमा सेन्टरमा उपचार गर्छ।'

ओपिडी सेवा वीर अस्पतालबाट सुचारु भइरहेको उनले जानकारी दिए। कोरोनाको जोखिम बढने भएकोले चाँडो भन्दा चाँडो नन कोभिडको बिरामीलाई ट्रमा सेन्टरमा सार्ने तयारी भइरहेको उनको भनाइ छ। जोखिम बढने भएकोले नन कोभिडका बिरामीका आफन्तलाई अस्पतालमा भिड नबढाउन लाई अनुरोध गरि सकिएको उनले प्रस्ट पारे।

कोभिडका बिरामीलाई १ सय बेड थप

वीर अस्पतालका १३ जना चिकित्सक सहित ७६ जनामा कोरोना पुष्टि भइसकेको छ। ४ संक्रमितको आइसियुमा गरी ७० जना कोरोना संक्रमितको उपचार भइरहेको कार्कीले बताए। कोभिड संक्रमितलाई उपचार गर्नलाई सय बेड छ। कोभिड संक्रमितको उपचार गर्नलाई २ सय बेड पुर्‍याउने योजना रहेको उनले सुनाए।

अस्पतालमा कोभिडका र नन कोभिडका बिरामीको उपचार गर्न पर्याप्त जनशक्ति रहेको उनले बताए। नन कोभिडको बिरामी पनि एकै ठाउँमा राखी उपचार गर्दा अस्पतालमा भवनको समस्या हुने उनले प्रस्ट पारे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.