|

जनकपुरधाम : मिथिलाञ्चल आजदेखि जितिया पर्व सुरु भएको छ । पवित्र नदी तथा जलासयमा स्नान गरी शुद्ध भई महिलाहरुले व्रत सुरु गर्दैछन्।

व्रत सुरु गर्न जनकपुरस्थित गंगासागर पोखरीमा महिलाहरुको भिड लागेका छन्। आज महिलाहरु ‘नहाय खाय’ अर्थात नुहाएर खाना खाएपछि यो पर्व सुरु हुन्छ । तेस्रो दिन अपराह्न पूजा–अर्चना र कथा सुनेपछि अन्नजल ग्रहण गर्नेछन्।

अन्य पर्व मनाउने महिला वा पुरुषले पूर्व सन्ध्यामा चोखो खाने चलन भए पनि जितिया पर्वको पूर्वसन्ध्यामा माछा र कोदोको रोटी खाने चलन छ । जसलाई ‘माछमरुवा’ भनिन्छ।

व्रतको दोस्रो दिन बिहान सूर्य उदय हुनुपूर्व व्रतालु महिला ‘अंगुठन’ गर्नेछन्। बिहान घिरौलाको पातमा चिउरा, दही, केरा, अमोट (आँपको रसबाट बनाएको परिकार) आदि प्रसाद चढाई सपरिवार प्रसाद ग्रहण गर्नेछन्। पितृपक्षमा हुने यस पर्वमा व्रतालु महिला आ–आफ्ना स्वर्गीय आमा, सासुलगायतका महिला पितृलाई नैवेद्य चढाउँछन्।

दुई दिनको निराहार उपवासका क्रममा व्रतालुहरू आफ्नो मुखले सिन्कोसम्म टोक्नु हुँदैन भन्ने मान्यता छ। भूलबस सिन्को टोकियो वा मुखबाट पानी आयो भने व्रतालुले आजीवन व्रत बस्न पाउँदैनन्।

सन्तानको दीर्घायु तथा सुख समृद्धिका लागि गरिने यस पर्वको मिथिलामा विशेष महत्त्व छ। ठूलो दुर्घटना वा कुनै विपदबाट जोगिएपछि यहाँ भन्ने गर्छन्, ‘तोहर माय खर जितिया कैने छलौ तें बाइच गेलही अर्थात् तिम्रो आमाले जितिया गरेका कारण तिम्रो ज्यान जोगियो।’

भविष्य पुराणमा वर्णन गरेअनुसार शालिवाहन राजाको पुत्र जिमूतवाहन थिए। उनीमाथि महादेवको असीम कृपा रहेकाले नियमनिष्ठाले व्रत गर्ने महिलालाई सन्तान दीर्घायु हुने वरदान भगवानबाट प्राप्त गरेका थिए। तिनै भगवानले पुत्रको रक्षा गरून् भनी नेपालको मिथिलाञ्चल जितिया श्रद्धा पूर्वक मनाइन्छ।

यस पर्वमा पुत्रहीन महिलाहरुले पुत्र प्राप्तिको लागि पूजा गर्दछन्। यो पर्व दशहराभन्दा अघि अनंत चतुर्दशीबाट शुरु भई ३६ घण्टा अर्थात् तीन दिनसम्म मनाइन्छ। महिलाहरूले मनाउने जितिया पर्वलाई नेपालकै कठोर ब्रतको रुपमा हेर्ने गरिन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.