|

आज नेपाली प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जन्म जयन्ती। यी नै बिपीले राणा, पञ्चायत शासनको विरुद्धमा विद्रोह गरे। नेपालकै पहिलो जननिर्वाचित प्रधानमन्त्री पनि बने।

‘जसको जोत, उसकै पोत’ वा खेत जोत्नेकै हुनुपर्छ घर पोत्नेकै हुनुपर्छ भन्ने सिद्धान्त बोकेर हिँडे। उनी नेपाली कांग्रेसका संस्थापक पनि हुन्। तर, उनलाई कांग्रेसले मात्रै हैन अन्य थुप्रै राजनीतिक विचार बोक्नेले पनि आदर्शको रुपमा मान्ने गरेका छन्। उनै बिपीको १०७ औँ जन्मजयन्तीको अवसरमा बिपीसँग संगत गरेका केही नेताहरूलाई बिपीलाई कसरी सम्झनुहुन्छ भनेर सोधेका छौँ। केहीले भने सामाजिक सञ्जालमा लेखेर पनि बिपीलाई सम्झना गरिरहेका छन्। 

गोपालमान श्रेष्ठ

उहाँ (बिपी) सबैको आदर्श पुरुष हो। हाम्रो त महामानव नै हो। हाम्रो नेपालको इतिहासमा एउटा यस्तो व्यक्ति हो नि नेपाल भूमि रहेसम्म उहाँको नाम रहिरहन्छ। उहाँले ठूलो परिवर्तन गराउनु भो। १०४ वर्षे राणा शासन अन्त्य गरेर। हामी नेपाली जनता पहिले कमाराकमारी जस्ता थियौँ। त्यसपछि हामी रैती भयौँ। त्यसपछि त्योबाट पनि उन्मुक्ति दिएर बिपीले नै प्रजा बनाउनु भो र त हामी अहिले नागरिक भयौँ। 

उहाँको नीति, उहाँको कामकारबाही, उहाँले राजनीतिमा गरेको योगदान, समाजमा गरेको योगदान, समाजमा गरेको साहित्यको योगदान, हामीले सम्झँदा उहाँबाहेक त्यस्तो व्यक्ति अर्काे यो भूमिमा जन्मिनुभएकै छैन। देशमा बीचमा बिपीको सिद्धान्त विचलित भएको पनि छ। अहिले पनि उहाँले लिएको नीति प्रजातन्त्र र समाजवादसँगै राष्ट्र र राष्ट्रियता अवलम्बन गर्नुपर्छ।

उहाँले त्यो बेलामा यत्तिकै दुईतिहाइ मत ल्याउनुभएको होइन। जनतालाई अधिकार दिने कुरा उहाँको प्रष्ट थियो।  उहाँले धेरै कुराको सुधार गर्नुभएको थियो। उहाँले त खेत हुन्छ जोत्नेको, घर हुन्छ पोत्नेको सम्म पनि भन्नुहुन्थ्यो।

जमिनदारीहरूको उन्मूलनदेखि सारा कार्य गरेर विकृति हटाएर यो मुलुकका फरक-फरक जातजाति भाषाभाषीलाई साथमा लिएर जाने मान्छे हुनुहुन्थ्यो। अब पनि हामीहरूले त्यहीअनुसार अगाडि बढ्नुपर्छ। मुलुकमा प्रजातान्त्रिक समाजवाद भन्नुहुन्थ्यो उहाँले। प्रजातन्त्र बिग्रियो भने साम्यवाद हुन्छ, समाजवाद मात्रै भएर पनि भएन।  त्यसैले प्रजातान्त्रिक समाजवाद भन्नुहुन्थ्यो।

उहाँको त्यो बेलाको सोच कति दीर्घकालीन रहेछ र अहिले हाम्रो सोच कति क्षणिक रहेछ भन्ने कुरा प्रष्ट देखिन्छ। नेपालमा विकास गर्न, हामी नेताहरूले भनेजस्तो समृद्ध नेपाल बनाउन बिपीले दिएको बाटोबाट मात्रै सम्भव छ। 

कुलबहादुर गुरुङ 

सबैभन्दा पहिले बिपीलाई मैले मेरो नेताको रूपमा मान्छु यसका अलवा पनि उहाँ नेपालीको लागि आदर्श व्यक्तित्व हो। बिपीले नेपालमा प्रजातन्त्रको लागि लडे, राणा शासनविरुद्ध लडे, प्रजातन्त्र र समाजवादको स्थापनाको लागि लडे। प्रजातन्त्र र समाजवादको स्थापनाको लागि लड्दा राजा महेन्द्रले त जेल नै राखे। उनले जेलमा रहँदा पनि आफ्नो संघर्ष जारी नै राखे। मैले कयौँपटक उहाँको संगत गरेको छु भेट गरेको छु उहाँ जस्तो प्रष्ट मान्छे नै अहिले नेपालमा छैन। 

बिपीले सुकिला-मुकिलाहरू फेरि एकपटक रजाइँ गर्न पुग्छन् त्यो पछाडि पनि एकपटक ठूलो आन्दोलन हुन्छ भन्नुहुन्थ्यो। उहाँले आफ्नो किताबमा पनि त्यो लेख्नुभएको छ। अहिले यसो विचार गर्दा बिपीले ऊ बेलामै अन्दाज गरेको कुरा पो हुँदै छ कि भन्ने लाग्छ।

अहिले नेपाली कांग्रेसको नेतृत्वमा चढाउ र बढाउ प्रवृत्तिको रजाइँ छ त्यसले चाहिँ महामानव बिपीको सपना पूरा गर्दैन कि भन्ने लाग्छ।​ बिपीसँग बसेका दिनहरू सम्झँदा अहिले राजनीति गर्नेहरू देशको लागि हैन आफ्नो लागि मात्रै सोचेको जस्तो लाग्छ। 

गोविन्दराज जोशी 

बिपी प्रजातन्त्रको लागि लड्नेहरूका लागि, लडिरहेकाहरूका लागि प्रेरणाका स्रोत हुन्। उनी विचारका प्रवर्द्धक, एउटा सिद्धान्त निष्ठ राजनीतिज्ञको रूपमा मैले स्मरण गरेको छु। उहाँले गरेको संघर्ष, त्यागको मूल्यांकन आजको राजनीतिक परिपाटीले सम्मान गर्न सकेन। उहाँको त्यागले नै आजको राजनीतिक व्यवस्था आएको भनेर बिर्सनु हुँदैन। अहिले नेतृत्वमा रहनेहरूले बिपीको समाजवाद नारा मात्रै बनाए, कार्यान्वयन र पालनाबाट भड्किए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.