होम आइसोलेसनमा बस्‍ने गरी अस्पतालबाट बिदा

|
फाइल फोटो

काठमाडौं : मुलुकभर कोरोना संक्रमितको संख्या बढिरहँदा दश दिनमा १२ हजार ७ सय २२ संक्रमित विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। पछिल्लो समय देखिएका संक्रमितमा लक्षण सहित का संक्रमण बढन थालेपछि अस्पतालको आइसोलेसनमा राखी उपचार गरिएको थियो।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार दश दिनमा कोरोना संक्रमितको संख्या बढने भन्दा अस्पतालबाट डिस्चार्ज हुनेको संख्या बढेको हो। भदौ १३ देखि २३ गतेसम्मको तथ्यांक हेर्दा मुलुकभर ११ हजार ६ सय ८२ संक्रमित थपिएका छन्। थपिएका संक्रमित भन्दा १ हजार १ सय संक्रमित बढी अस्पतालबाट डिस्चार्ज भएर घर गएका छन्।

सरकारले कोरोना भाइरसका बिरामी १४ दिनसम्म मात्रै अस्पतालको आइसोलेशनमा बस्‍न पाउने व्यवस्था गरेको छ। कोरोनाको लक्षण तथा चिन्ह नभएका (एसिम्ट्रोमेटिक ) र सामान्य लक्षण एवम् चिन्हहरू भएका (माइल्ड) केसका बिरामीको १० दिनमा पीसीआर गरी डिस्चार्ज गर्न भनिएको छ।

१० दिनमा पोजिटिभ आए १४ दिनमा परीक्षण नगरी डिस्चार्ज गर्ने व्यवस्था मिलाउन सातै प्रदेशका सामाजिक विकास मन्त्रालयमा यस्तो परिपत्र गरिसकेको छ।

संक्रमितको संख्या बढिरहँदा ठूलो संख्यामा दिनहुँ जसो निको हुनेको संख्या पनि बढन थालेको छ। सरकारले जारी गरेको परिपत्र अनुसार सबै संक्रमित निको हुँदै गएको हुन् या होइनन्? भन्‍ने कुराले जनमानसमा चिन्ता बढाएको छ। संक्रमितको रिपोर्ट पोजेटिभ देखिँदा पनि अस्पतालको आइसोलेसनबाट डिस्चार्ज गर्दा  अझ घातक हुने जनस्वास्थ्यविद्हरुले बताएका छन्।

१४ दिनसम्म कोरोना संक्रमितमा पोजिटिभ देखिए पनि लक्षण नदेखिएका लाई अस्पतालले घर पठाउन थालेका छन्। सरकारले जारी गरेको होम आइसोलेसनको मापदण्ड अनुरुप बस्‍ने व्यवस्था गरेको भन्दै अस्पतालले घर पठाउन थालेका हुन्। 

'संक्रमितलाई घर पठाउनु सरकारको महाभूल'

संक्रमितमा कोरोना पोजिटिभ देखिएमा अस्पतालबाट डिस्चार्ज गरिएकालाई कोरोनामुक्त भए भनेर बुझ्न नहुने जनस्वास्थ्यविद् डा. सुरेश तिवारी बताउँछन्। अस्पतालमा रहेका संक्रमितमा कुन लेबलको लक्षण देखिएका छन्? त्यसको राम्रोसँग अध्ययन गरेर मात्रै डिस्चार्ज गरिनुपर्ने उनले बताए। सरकारले संक्रमितको रिपोर्ट पोजेटिभ देखिँदा पनि घरमा पठाउनाले घर परिवार र समुदायमा कोरोनाको उच्च जोखिम हुने गरेको उनको भनाइ छ।

संक्रमितको मनोस्वास्थ्य र सामाजिक अवस्था कस्तो छ? त्यसलाई विचार गरी अस्पतालबाट डिस्चार्ज गर्नुपर्ने उनले सुझाव दिए। संक्रमण भएर लक्षण नदेखिएमा त्यस्तालाई उचित सल्लाह दिएर होम आइसोलेसनमा बस्‍ने गरी परामर्श दिएर पठाउनुपर्ने उनले प्रस्ट पारे।

'संक्रमितमा १० दिनसम्म भाइरस सक्रिय हुने गरेको छ,' उनले भने,' घर पठाउँदा संक्रमितलाई पुन परीक्षण गरेर पठाएमा जोखिम हुँदैन। लक्षण भएको वा पोजेटिभ संक्रमितलाई पठाउने गरिएको छ भने त्यो महाभूल हुनेछ।' संक्रमितमा लक्षण नभए वा नेगेटिभ देखिएमा सातदेखि दश दिनमा परीक्षण गरेर अस्पतालबाट डिस्चार्ज गर्नुपर्ने उनले जानकारी दिए।

संक्रमितको संख्या बढिरहँदा अस्पतालमा निको हुनेको संख्या बढ्नुपर्ने उनले बताए। 'संक्रमण बढने तर, संक्रमित निको नहुने हो भने त्यसलाई कोरोना नियन्त्रण भएको मान्न नसकिने उनको भनाइ छ।

'कोरोना पोजेटिभमा लक्षण नदेखिए घर पठाउँछौ'

पोजेटिभ देखिएका संक्रमितलाई १४ दिनसम्म होम आइसोलेसनमा बस्न निर्देशन गरी अस्पतालबाट डिस्चार्ज गरिएको बलम्बु स्थित शशस्त्र प्रहरी अस्पतालका प्रवक्ता डा. प्रवीण नेपालले बताउँछन्। हरेक संक्रमितको ९ देखि १० दिन पुनः परीक्षण गरिने गरिएको र रिपोर्ट नेगेटिभ आएमा १० दिनमा पठाउने गरिएको उनले बताए।

'लक्षण भएका संक्रमितलाई बढी संक्रमितलाई १६ दिनदेखि २१ दिनसम्म राख्ने गरिएको छ,' डा. नेपालले भने,' १० दिन सम्म भाइरस सक्रिय भएपनि अरु दिनमा भाइरस सक्रिय हुन सक्दैनन्। परीवार र संक्रमितको ईच्छा बमोजिम होम आइसोलेसनमा बस्ने गरी पठाउने गरीएको छ।' ५० प्रतिशत पोजेटिभ संक्रमितलाई होम आइसोलेसनमा बस्न दिने गरी डिस्चार्ज गरिएको उनले बताए।

शुक्रराज अस्पतालमा गम्भीर अवस्थामा रहेका वा लक्षण भएका संक्रमितलाई तीन सातासम्म राखिने गरिएको अस्पतालका निर्देशक सागर कुमार राजभण्डारीले बताए। संक्रमितलाई पुनः परीक्षण गरेपछि १० देखि ७ दिनमा अस्पतालबाट डिस्चार्ज गरिएको उनको भनाइ छ।

उनले भने, '१४ दिन सम्म लक्षण भएका संक्रमितमा पोजिटिभ देखिएपनि डिस्चार्ज गरिएको छ। अस्पतालबाट डिस्चार्ज भएका सबै संक्रमित निको भएर गएका हुँदैनन्। घरको होम आइसोलेसनमा बस्ने सर्तमा पठाइएको छ।'

'लक्षण नभएकालाई अस्पतालमा राख्‍न मिल्दैन'

संक्रमितमा १० देखि १४ दिनसम्म भाइरस सक्रिय रहने भएकोले पोजेटिभ आए पनि जोखिम नहुने स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारी बताउँछन्। संक्रमितमा भाइरसको केही अंश बाँकी रहे पनि त्यसले स्वस्थ मानिसमा असर धेरै असर नगर्ने उनले बताए।

धेरै संक्रमित डिस्चार्ज भएका छन नि भन्‍ने प्रश्‍नमा उनले भने,' संक्रमित डिस्चार्ज भएका हुन्। लक्षण नभएका संक्रमितलाई अस्पतालमा राख्न मिल्दैन। संक्रमितको दर बढ्दै गएकोले पनि लक्षणविहीन संक्रमितलाई अस्पतालमा नराख्न निर्देशन दिएका छौँ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.