पर्यटन मन्त्रालयले दिएन अतिरिक्त उडान अनुमति

|

काठमाडौं : युएईमा अलपत्र नेपाली कामदारलाई स्वदेश ल्याउन इत्तिहाद एयरवेजले अनुमति माग्दा पर्यटन मन्त्रालयले बेवास्ता गरेको पाइएको छ।

काठमाडौंबाट नियमित उडान सुरु भएको भन्दै युएईबाट आउने इत्तिहाद एयरवेजको जहाजलाई उडान अनुमति नदिइएको हो। इत्तिहाद एयरवेजले नेपाली कामदार नि:शुल्क ल्याइदिने प्रस्ताव अस्वीकार गरेको पर्यटन मन्त्रालयले उद्धारको नाममा महँगो भाडा लिएर यात्रु ओसार्न अनुमति दिएको थियो।

सरकारले भदौ दोस्रो सातादेखि असोजको दोस्रो सातासम्मलाई नियमित उडानको तालिका सार्वजनिक गरिसकेको छ। नियमित उडान सुचारु भएपछि युएईका लागि काठमाडौंबाट आठवटा उडान तालिका सार्वजनिक गरिएको छ। यस्तोमा पर्यटन मन्त्रालयले अतिरिक्त उडान अनुमति नदिने भनेपछि इत्तिहादको प्रस्ताव अलपत्र परेको हो। 

युएईका विभिन्‍न कम्पनीमा अलपत्र नेपाली नागरिकको उद्धार गर्न इत्तिहादले भदौ दोस्रो साता नै पर्यटन मन्त्रालयमा उडान अनुमतिका लागि निवेदन दिएको थियो। तर अझैसम्म पनि मन्त्रालयबाट स्वीकृति नमिलेको इत्तिहाद एयरवेजका नेपालस्थित प्रतिनिधिले थाहाखबरलाई जानकारी दिए।

'नेपाली कामदारलाई नि:शुल्क चार्टड उडानमा नेपाल फर्काउन तयार भएर अनुमति मागिएको थियो', इत्तिहादका ती प्रतिनिधिले भने, 'तर अझैसम्म अनुमति मिलेको छैन। किन ढिला गरिएको हो? आश्‍चर्यमा परेका छौं। नेपालीलाई निशुल्क उद्धार गर्छौ भन्दा पनि नेपाल सरकारले कुरै सुनेन।'

युएईबाट आउन तयार ११ सय बढी नेपाली कामदार छन्। एउटा उडानमा १ सय ४० जनाको उद्धार गर्न लागिएको थियो। जम्मा ८ वटा उडान भर्न अनुमति मागिएको इत्तिहादका ती प्रतिनिधिले जानकारी दिए। ती नेपालीलाई नि:शुल्क ल्याइदिन इत्तिहादले अतिरिक्त उडान अनुमति मागेको थियो।

नियमित उडानमा आउँदा नेपाली कामदारलाई आर्थिक भार नहोस भनेर निशुल्क उडान भर्न अनुमति मागिएको उनको भनाइ छ। व्यावसायिक उडान भर्नेलाई सरकारले पहिलो प्राथमिकतामा राख्दा चार्टर्ड र अतिरिक्त उडान अनुमति नदिएकोमा कम्पनीले आपत्ति जनाएको छ।

'पर्यटनले दिएन उडान अनुमति'

उडान अनुमति दिने खास जिम्मेवारी नेपाल नागरिक उड्ययन प्राधिकरणको हो। तर पछिल्लो समय उडानसम्बन्धी तालिका निर्धारण र अनुमति दिने सबै काम पर्यटन मन्त्रालयले गरिरहेको छ। नियमित उडान भरिरहेकाले पनि अनुमति पाउन नसकेको नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीले बताएका छन्।

उडान अनुमति दिने काम उड्डयन प्राधिकरणको भए पनि केही समयदेखि पर्यटन मन्त्रालयले नै त्यो काम गरिरहेको उनको भनाइ छ। यसअघि सामान्य अवस्थामा उडानसम्बन्धी सम्पूर्ण काम प्राधिकरणले गरे पनि अहिले मन्त्रालयबाटै हुने गरेको उनले बताए। 

'नियमित तालिकामा उडान भर्न मानेनन्'

इत्तिहादले नेपाल सरकारले बनाएको नियमित तालिकामा उडान भर्न नमानेकाले चार्टर्ड उडान अनुमति नदिइएको दाबी पर्यटन मन्त्रालयले गरेको छ।

नियमित तालिकामा उडान भर्न नमानेकोले अनुमति नदिइएको पर्यटन मन्त्रालयका सह-प्रवक्ता राजन पौडेलले बताए। उनका अनुसार सरकारले जारी गरेको उडान तालिकामा समावेश भएको भए यही तालिकामा इत्तिहादले उडान भर्न पाउँथ्यो।

,'निजी क्षेत्रको उडानलाई सरकारले सदा सहयोग गर्छ। कसैको प्रस्तावलाई बेवास्ता गर्ने हाम्रो गलत मनसाय छैन,' उनले भने, 'तर हाम्रो उडान तालिकामा उनीहरु उड्न तयार हुनु पर्‍यो।' अहिले पनि सरकारले जारी गरेको तालिकामा सहमति जनाए उडान भर्न दिने दाबी उनले गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.