मनोरञ्जन

भेट्रान खलनायक हेमन्‍त : जो असुरक्षित कला क्षेत्रसँग अझै डराउँछन्‌

भदौ २७, २०७७

    दमक : त्यो बेला झापाको दमक गाउँ नै थियो। शहरी छनक दिने एउटा सिनेमा घर चाँहि थियो। तर, त्यही पनि हिउँदे मात्र। झरी पर्न छोडेपछि त्रिपाल टाँगेर सिनेमा घरको स्वरूप बनाइन्थ्यो र हिउँद भरि विभिन्न हिन्दी फिल्म देखाइन्थ्यो। फाट्टफुट्ट बन्ने नेपाली सिनेमाले पनि मौका पाउँथे। 

    त्यही हिउँदे सिनेमा हलका एक जना ‘क्रेजी’ दर्शक थिए : हेमन्त बुढाथोकी। फिल्मका पर्दामा देखिने तिलस्मी पात्रहरूको नक्कल गर्नु उनको ठूलो शोख ! २०४४ सालमा एसएलसी पास गर्दासम्म त उनमा ती पर्दाका कलाकारले झैं अनेक अभिनय गर्ने भूत चढिसकेको थियो।

    एसएलसीपछि उनी झापा भद्रपुरकै मेची बहुमुखी क्याम्पसमा भर्ना भए। तर, कलाकार बन्‍ने लय समात्‍न पाएनन्। त्यसपछि मोडिए काठमाडौंतर्फ ! 

    लक्ष्य एकातिर, सपना अर्कैतिर

    काठमाडौं आउँदा उनले अभिभावकलाई देखाएको लक्ष्य भने उच्च शिक्षा नै थियो। तर, उनको लक्ष्य चाहिँ कुशल कलाकार बन्ने थियो। काठमाडौं पुग्‍नासाथ उनले दमकबाटै आएका अशोक पाठकलाई खोज्‍न थाले।

    पाठक हिमालय कल्चरल एसोसिएसनमा नृत्य र अभिनय सिकाउँथे। कलाकारितामा संघर्ष गरिरहेका उनका भाइ रमेश हेमन्तका दौँतरी ! अशोक र रमेशको माध्यमबाट नवप्रतिभा नाट्यशालामा हेमन्तको प्रवेश भयो​।

    हेमन्तले त्यहाँ नारायण पुरी र कमल अधिकारीलगायत साथीहरूसँग कलाकार बन्‍न निकै संघर्ष गरे। संघर्षका ती याम उनलाई ताजै लाग्छन्‌। भन्छन्‌, ‘जब म नाट्यशालामा प्रवेश गरेँ, मेरो सपना पूरा हुने दिन नजिक-नजिक आएको देखेँ।’ कलाकारिताको भोकले व्याकुल भएका बेला आफ्नो प्रतिभा देखाउन पाइने आशा पलाएको क्षण उनले सुनाए, ‘२०४४ सालको अन्त्यतिर हुनुपर्छ, मैले युगको अन्त्य, झुठो रहेछ गीता पनि जस्ता नाटकमा अभिनय गर्ने मौका पाएँ।’ त्यस बेला आफूलाई लामो यात्राका लागि मूलबाटो भेट्टाएको जस्तै लागेको उनको भनाइ छ। 

    घरबाट पढ्न पठाएको छोरो कलाकारितामा लागेको बुवा–आमालाई पत्तै भएन। जुन दिन टेलिभिजनका पर्दामा उनको पनि अनुहार देखियो, अनि मात्र काठमाडौंमा भएको छोराको गतिविधि आफन्तका आँखा र कानसम्म पुग्यो।

    त्यसपछि पनि कलाकारितामा नलाग्न र खुरुखुरु पढ्न परिवारले दबाब दिएको थियो। तर, उनी यति अघि बढिसकेका थिए कि पछि फर्किनेबारे उनले सोच्न पनि सकेनन्। परिवारले थाहा पाएको सुरुवाती दिन उनले सुनाए, ‘३०/३२ वर्ष अघि कलाकारिता गरेर बाँच्न सकिने अवस्थै थिएन नि! त्यस्तो अवस्थामा कुन चाँहि अभिभावकले पढाइ छोडेर कलाकारितामा लाग्‍न भन्थ्यो होला र!’

    रंगमञ्‍चबाट पर्दाको यात्रा

    हेमन्त रंगमञ्‍चमा रमिरहेका बेला नेपालमा पनि टेलिभिजनले गति लिँदै थियो। नेपाल टेलिभिजनले बनाउने सिरियल र टेलिफिल्मका लागि कलाकारहरू खोजी हुन थालेको थियो। अधिकांशले अनुभव भएकै कलाकार रोज्‍थे। प्रकाश सायमी र सुनिल पोखरेल लगायतसँग काम गरेका उनलाई राष्ट्रिय अखबारहरूले कुशल नयाँ कलाकार भनेर लेख्न भ्याइसकेका थिए।

    २०४८ सालमा उदयसिंह बोहोराको निर्देशनमा विवेक नामको टेलिफिल्म बन्ने भयो, त्यो पनि एक भाग। त्यसैबाट उनको यात्रा कपडाका पर्दा टाँग्‍ने रंगमञ्‍चबाट काँचको पर्दातर्फ मोडियो। 

    २०४६ सालको जनआन्दोलन भर्खरै सकिएको थियो। बहुदलीय व्यवस्थाका पक्षपातीहरूले तत्कालीन शासकलाई व्यङ्ग्य गरेर वा खुइल्याएर कलाकारिता प्रस्तुत गर्ने लहरै चलेको थियो। त्यसै बेला उनले एउटा सिरियलमा अभिनय गरे। केही भाग देखाइयो पनि।

    त्यहाँ उनको नागरिकलाई दुःख दिने खलपात्र प्रहरी हवल्दारको भूमिका थियो। तर, केही भाग प्रसारणपछि 'प्रहरीले मात्र ज्यादती गरेको देखाइयो' भनेर नेपाल प्रहरीको दबाबमा नेपाल टेलिभिजनले त्यस्ता दृश्य नराख्‍न वा सुधारेर मात्र ल्याउन निर्देशन दियो।

    बल्लबल्ल आफ्नो क्षमता खुलेर देखाउन पाएका बेला हेमन्‍तलाई पात्रको स्वभाव नै परिवर्तन गर्ने विकल्प मन परेन। त्यसैले उनले त्यो सिरियल नै छोडिदिए। तर, त्यसपछि पनि उनलाई अवसरहरूले पछ्याइरहे।

    सिन्दुर, दुई दिनको जिन्दगानी, अपराजिता लगायत दर्जनौँ सिरियलमा उनले आफूलाई प्रस्तुत गरि छाडे। विस्तारै उनले ठूला पर्दाका चलचित्रतर्फ पाइला बढाए । 

    खलपात्रको खराब मानक

    उनकै सहकर्मी नारायण पुरीले २०५० सालमा सौता नामको चलचित्र निर्देशन गर्ने भए। आफ्नै साथीले बनाउँदै गरेको चलचित्रमा उनी पनि समेटिए। त्यसअघि, अधिकांश नाटकहरूमा खलपात्रको भूमिका निर्वाह गरेका उनलाई पुरीले चलचित्रमा पनि त्यस्तै भूमिका दिए : सहायक खलपात्रको।

    त्यसपछि मोहनी, पृथ्वी, अग्नि परीक्षा, लक्ष्मीपूजा, सिमाना, दुःख, धर्म, बाटोमुनिको फूल हुँदै देश खोज्दै जाँदासम्म गरी ८० भन्दा बढी चलचित्रमा अभिनय गरे। अधिकांश चलचित्रमा उनको भूमिका खलपात्र नै रह्यो।

    खलपात्रमा चलचित्रकर्मीहरूले रुचाएका उनलाई आफ्नो भूमिकाप्रति निकै गर्व लाग्छ। तर, अढाई दशकअघि रिल लाइफका खलपात्रको रियल लाइफलाई पनि उस्तै ठानिने दृष्टिकोण भने असाध्यै खराब थियो।

    ‘सिनेमामा बलात्कार, लागुऔषधको कारोबार, हत्या जस्ता अपराध गरेको देखेर होला, हामीसँग मानिसहरू बोल्नै डराउँथे,’ आफ्नो भूमिकाले वास्तविक जीवनमा पारेको प्रभावबारे उनले भने, ‘यो अवस्था एक/डेढ दशक अघिसम्म पनि थियो। तर, अहिले विस्तारै वास्तविकता सबैले बुझ्दै गए।’

    दर्जनौँ चलचित्रमा खलपात्रका रुपमा आफूलाई स्थापित गरेका उनले ३ वर्ष अघि प्रकाश आङ्देम्बेले निर्देशन गरेको ‘देश खोज्दै जाँदा’मा भने पृथक अनुभूति गरे। उनले भने, ‘मलाई पनि केही नयाँ गरौं भन्ने लागेको थियो, त्यहीबेला निर्देशक प्रकाशजीसँग कुरा भएपछि भुटानी शरणार्थीको कथामा आधारित त्यस चलचित्रमा विगतका भन्दा फरक चरित्र निर्वाह गर्ने मौका मिल्यो।’

    स्टार हुनु र सफल हुनु बीचको भिन्नता

    सबै असल कलाकार सफल बन्न नसक्ने उनको अनुभव छ। यस्तै, अभिनय र चरित्रमा सफल भएका सबै कलाकार पनि ‘स्टार वा सुपर स्टार’ बन्न सक्दैनन्। रंगमञ्‍चको जग भएका र नाटकमा अभ्यस्त कलाकार चलचित्रको चरित्रमा पनि चाँडै ढल्न सक्ने उनी बताउँछन्। रंगमञ्‍चमा दर्शकको प्रतिक्रिया पाउन र आफूलाई प्रतिक्रियाअनुसार रूपान्तरण गर्ने सुविधा पनि हुन्छ। तर, चलचित्रमा यो अवसर कम हुन्छ।

    हेमन्तको नजरमा चलचित्र क्षेत्रको कलाकारिता आर्थिक र व्यावसायिक रूपमै असुरक्षित पेशा हो। धेरै कलाकारहरूले जीवनभरी यही क्षेत्रमा आफ्नो ऊर्जा खर्चिए पनि बिरामी हुँदा वा दुर्घटनामा पर्दा राम्रोसँग उपचारसम्म गर्न नपाएका उदाहरण धेरै छन्।

    पछिल्लो समय रंगमञ्‍चबाट धेरै कलाकारहरू नेपाली सिनेमामा स्थापित भएको र अभिनय पनि रुचाइएकोप्रति उनी मख्ख छन्। ‘थिएटरबाट आएको कलाकारले धेरै सिकेको हुन्छ, त्यसैले ऊ जस्तो पनि चरित्रमा चाँडै रुपान्तरित हुन सक्छ,’ सिनेमा र रंगमञ्‍चबीचको फरक उनले सुनाए, ‘तर, यसो भन्दैमा सिनेमाका कलाकारले सिकेको हुँदैन भन्ने होइन। तर पनि थिएटरमा जग बसेको कलाकारलाई चरित्रमा भिन्नता ल्याउन चाँहि सजिलो हुन्छ।’

    बलिउडका स्टारहरू शाहरूख खान र राजेश खन्नाहरू पनि रंगमञ्‍चकै जगबाट आएका हुन्‌। अभिताम वच्चनले पनि केही समय नाटकमा बिताए। यी कलाकारहरू नै अहिले सिनेजगतकै सुपर स्टार बन्न सकेको हेमन्त बताउँछन्‌। उनी भन्छन्‌, ‘हामीकहाँ पनि थिएटरका कलाकारहरू सफल त भएकै छन्, तैपनि जसरी स्टार कलाकारको मानक हुन्छ : त्यो चाँहि प्राप्त गर्न नसकेका हुन् कि जस्तो लागिरहेको छ।’

    जागेन 'हिरो मोह'

    बलिष्ठ ज्यान र अग्लो कदका हेमन्त ५ दशक नाघेको उमेरमा पनि उनी हट्टाकट्टा नै छन्। तर, आकर्षक जिउडाल भए पनि उनलाई हिरो बन्ने रहर कहिल्यै जागेन।

    रंगमञ्‍चमा अभिनय विविधतामा रमाएका उनको एउटै लक्ष्य थियो : जसरी भए पनि राम्रो कलाकार बन्ने! फेरि हिरोको रुपमा अभिनय गर्दा रिल लाइफमा टिकिरहने समय पनि कम हुने उनको आँकलन रह्यो।

    केही सीमित कलाकारबाहेक अधिकांश ‘हिरो’हरू सोही भूमिकामा लामो समय टिकिरहन गाह्रो हुने उनी बताउँछन्‌। बरु, चरित्र अभिनेता हुँदा कलाकारिता र अभिनयमा विविधताको महसुस गर्न पाइने र लामो समय टिक्न पाइने उनको भनाइ छ। 

    निर्देशनतिर पनि उनले हात अघि बढाएनन्। बरु बेला-बेला आफ्नो चरित्रको स्क्रिप्टमा समय दिए। आफ्ना समकालीनहरू चलचित्रको निर्माता र निर्देशक बनिरहँदा किन त्यसतर्फ मोह बढेन त? उनले भने, ‘निर्देशक भन्ने कुरा बढी व्यवस्थापकीय काम हो। साह्रै धेरै काम गर्नुपर्छ। त्यसतर्फ लागियो भने अभिनयमा समय दिन भ्याइँदैन भन्ने लाग्यो। बरु निर्माणमा केही अनुभव गरियो।’

    मृगतृष्णा नामको चलचित्रमा उनको साझेदारी थियो। तर, चलचित्रले सुरुवाती व्यापार राम्रै गरिरहेका बेला लामो समय नेपाल बन्द भयो। जतोतसो लगानीसम्म उठायो। त्यसपछि लगातार अभिनयमा जोड दिँदै आएका उनले पछिल्लो समय गोपीकृष्ण मुभिजको ‘माइकल अधिकारी’ मा अभिनय गरे। तर, लकडाउनका कारण त्यसको पोष्टप्रोडक्सनको काम बाँकी नै छ।

    अवकाशका लागि पूर्वाधार

    हेमन्तको नजरमा चलचित्र क्षेत्रको कलाकारिता आर्थिक र व्यावसायिक रूपमै असुरक्षित पेशा हो। धेरै कलाकारहरूले जीवनभरी यही क्षेत्रमा आफ्नो ऊर्जा खर्चिए पनि बिरामी हुँदा वा दुर्घटनामा पर्दा राम्रोसँग उपचारसम्म गर्न नपाएका उदाहरण धेरै छन्।

    उनले भने, ‘पवन मैनालीकै उदाहरण हेरौं न, उहाँले आफ्नो जीवन कलाकारितामा समर्पित गर्नुभयो, तर राम्रोसँग उपचार पनि पाइरहनु भएको छैन। यस्तो दुःख अरू पनि धेरैले भोग्नुपरेको छ।’

    ३ वर्षदेखि काठमाडौंभन्दा झापा बसाइ लम्ब्याएका उनले गौरादह–९ मा रहेको आफ्नो पुर्ख्यौली जमिनमा दाजु प्रकाशसँग मिलेर मकैबाली कृषि फार्म सञ्चालन गरेका छन्।

    त्यहाँ माछा र भुरा उत्पादन भइरहेका छन्। कारोबार राम्रो छ। कृषि कर्ममा समय दिँदा केही चलचित्र भने उनले गुमाउनु पनि पर्‍यो। तर, अचेल फेरि काठमाडौं र सिने क्षेत्रसँग उनी जोडिइसकेका छन्। त्यसैले त माइकल अधिकारी चलचित्रको छायांकन सके। 

    अवकाशका लागि व्यावसायिक रूपमा कृषि कर्म रोजेका उनले कलाकारिताका लागि दमकमा कदम थिएटर नामको संस्थाको नेतृत्व गरिरहेका छन्। दमक नगरपालिकाले जग्गा दिएपछि उनकै अध्यक्षतामा रहेको सो थिएटरका लागि प्रदेश सरकारले रकम दियो। नाट्यशाला निर्माण भइरहेको छ।

    ‘एउटा जीवन्त सहरका लागि कम्तीमा एउटा सांस्कृतिक केन्द्र जरुरी हुन्छ,’ थिएटरको महत्व बुझाउँदै उनले थपे, ‘कला, संस्कृतिका विभिन्न पक्षमा काम गर्न सकियोस् भनेरै थिएटर निर्माणको काम थालेका हौं, आगामी वर्षदेखि आफ्नै थिएटरमा नाटक देखाउने लक्ष्य छ।’

    झण्डै २ दशकदेखि टुटेको रंगमञ्‍चसँगको नाता पनि यहि ‘कदम’सँग जोड्ने उनले सपना देखेका छन्।

गोपाल झापाली

झापाली थाहा खबरका झापाको दमकस्थित समाचारदाता हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]