भदौ ४ यता उपत्यकामा ७ हजार ८८ संक्रमित थपिए

|

काठमाडौं : उपत्यकामा तीन साताअघि जारी भएको निषेधाज्ञा खुकुलो भएको छ। बिहीबारदेखि काठमाडौं उपत्यकाको तीनै जिल्लामा जोरबिजोर अनुसार सवारीसाधन सञ्चालनमा आइसकेका छन्।

निषेधाज्ञाअघि काठमाडौं उपत्यकामा दैनिकजसो करिब ३ सयको हाराहारीमा कोरोना संक्रमित थपिँदै आएका थिए। निषेधाज्ञा जारी भएपछि दैनिक ३ सयभन्दा माथि संक्रमित थपिँदै गएका छन्। बिहीबार त त्यो संख्या ५ सयबाटै उकालो लाग्यो

उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयले जनजीवनमा प्रत्यक्ष असर परेको भन्दै बिहीबारबाटै निषेधाज्ञा खुकुलो बनाएका छन्। यस्तोमा अब नागरिक जिम्मेवार हुने अवस्था आएको छ। सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अनुसार नागरिकले आफ्नो सुरक्षा आफैं गर्नुपर्ने भएको छ। व्यवसाय चौपट भएपछि व्यवसायीहरुले निषेधाज्ञालाई निश्चित स्वास्थ्य मापदण्ड अपनाएर खुकुलो बनाउन दबाब दिएका थिए।

उपत्यकामा भदौ महिनामा निषेधाज्ञाको अघिल्लो दिनसम्म ७ हजार ८८ संक्रमित थपिएका छन्। निषेधाज्ञामा मात्रै काठमाडौंमा ५ हजार ६ सय ५९, भक्तपुरमा ६ सय ८६ र ललितपुरमा ७ सय ४३ जना संक्रमित थपिएका हुन्। सर्वसाधारणले स्वास्थ्य मापदण्ड पालना नगर्ने हो भने संक्रमणको दर बढ्दै जाने भएको छ।

निषेधाज्ञा खुकुलो गरेको भोलिपल्टै काठमाडौं उपत्यकामा ५ सय ७२ संक्रमित थपिएका छन्। काठमाडौंमा ४ सय ९५,भक्तपुरमा ३४ र ललितपुरमा ४३ संक्रमित थपिएका हुन्। नागरिक र सरकार थप जिम्मेवार नबन्‍ने हो भने उपत्यकामा संक्रमणको दर उच्च बिन्दुमा पुग्ने छ।

उपत्यका कोरोनाको हटस्पट बनिरहँदा स्वास्थ्य-सुरक्षाको मापदण्ड पालना नगर्दा संक्रमितको संख्या थपिने र झन जोखिम बढ्ने अवस्था छ। कोरोना नियन्त्रण का लागि सरकारसँगै नागरिक पनि उत्तिकै जिम्मेवार हुनुपर्ने अवस्था आएको छ। समुदायस्तरमा कोरोना पुगिसकेकोले अझै जोखिम बढ्ने विज्ञको तर्क छ।  संक्रमितको सम्पर्कमा पुगेका मानिसमा कन्टयाक ट्रेसिङ गर्नुपर्ने जनस्वास्थ्यविद्हरुले बताएका छन्। तर राजधानीकै धेरै ठाउँमा कन्ट्याक्ट ट्रेसिङ हुन सकेको छैन। 

'निषेधाज्ञा खुकुलो भएपछि सरकार बढी जिम्मेवार हुनुपर्छ'

निषेधाज्ञा खुलेपछि सबैभन्दा बढी जिम्मेवार सरकार र नागरिक हुनुपर्ने जनस्वास्थ्यविद् डा. सुरेश तिवारी बताउँछन्। निषेधाज्ञा खुकुलो  बनाए पनि कोरोना बढ्ने क्रम जारी छ। तर, नागरिकको लापरवाही नगरी स्वास्थ्य मापदण्ड अपनाए मात्रै उपत्यकामा कोरोना नियन्त्रण गर्न सकिने उनले बताएका छन्। 

लक्षण भएका संक्रमितको पहिचान भएमा तिनलाई पहिलो प्राथमिकतामा राखी उपचार प्रक्रिया अगाडि बनाउन उनले सुझाव दिए। उपत्यकामा बढी मात्रामा आइसोलेसन सेन्टर बनाउनुपर्ने तिवारीले बताए।

नागरिकको काँधमा कोरोना नियन्त्रणमा आएको पनि उनले बताए। हरेक नागरिकले भौतिक कायम गर्दै मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने सुझाव उनले दिएका छन्। 'मास्कको प्रयोग गर्दा अक्सिजनको अभाव हुन्‍न। मास्क र सामाजिक दूरीलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ,' उनले अगाडि भने ।

कडा निषेधाज्ञा लागु गरिए पनि उपत्यकामा संक्रमण दर किन बढ्यो? सरकारले त्यसको अध्ययन गर्नुपर्ने उनले बताए। समुदायमा संक्रमण फैलिएको अवस्थामा त्यसलाई तत्कालको उपायले रोक्न नसक्ने उनले बताए

'सार्वजनिक यातायात रोकौँ'

उपत्यका नगरपालिका फोरमका सचिव तथा मध्यपुर थिमी नगरपालिका नगर प्रमुख मदनसुन्दर श्रेष्ठ  निषेधाज्ञा खुकुलो भएपछि संक्रमित बढ्ने सम्भावना देखिएको बताउँछन्।

तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई जनजीवन सहज बनाउन सुझाव दिएकाले उपत्यकामा निषेधाज्ञा खुकुलो भएको उनले बताए। 'निषेधाज्ञा खुकुलो भए पनि सार्वजनिक यातायात सञ्चालन गर्न हुँदैन थियो', उनले भने, 'एक हप्ता पछाडि मात्र सार्वजनिक यातायात सञ्चालन गरिनुपर्थ्यो।'

निषेधाज्ञा खुकुलो भएपछि संक्रमणको दर बढने उनको दाबी छ। एक हप्ता पुन: निषेधाज्ञा थपिएको थियो भने संक्रमण दरमा केही कमी आउन सक्ने उनको अनुमान थियो।

'उपत्यका नगरपालिका फोरमको सुझाव अनुसार पछिल्लो समय १ हप्तासम्मका लागि निषेधाज्ञा थपिएको थियो,' उनले भने। बढी भीडभाड हुने क्षेत्रलाई तत्काल खोल्न दिन नहुने उनको भनाइ छ।

निषेधाज्ञामा संक्रमितलाई आईसोलेट र कन्टयाक ट्रेसिङको काममा प्राथमिकता दिएको उनले जानकारी दिए। पुनः संक्रमण थपिए उपत्यकामा कोरोना नियन्त्रण बाहिर जाने उनको भनाइ छ। पहिलो चरणको लकडाउन खुलेपछि संक्रमणको संख्या बढेको र पुन संक्रमण बढ्न सक्ने श्रेष्ठले बताए।

'नागरिक जिम्मेवार हुनुपर्छ'

तीन साता लामो निषेधाज्ञा खुकुलो गरिएसँगै कोरोना नियन्त्रणका लागि नागरिक आफैं जिम्मेवार हुनुपर्ने ललितपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट बताउँछन्। नागरिकलाई काम गर्न दिन र रोजगार गुम्‍ने अवस्था आएकोले पनि केही खुकुलो गरेको उनको भनाइ छ।

उनले भने,'महामारी नियन्त्रण गर्न सरकारको मात्रै हुँदैन। जनताले पनि सामूहिक उत्तरदायित्त्व बहन गर्न सक्ने हुनुपर्छ। निषेधाज्ञा खुकुलो नागरिकलाई जिम्मेवार बनाउन हो।'

आफ्नो दैनिक जीवन सहज बनाउँदै, कोरोनालाई नियन्त्रण गर्न विभिन्‍न उपाय अवलम्बन गरी नागरिक सचेत हुनुपर्ने उनले बताए। उपत्यका छिर्ने नाकामा सदाझैँ कडाइ गरिने उनले जानकारी दिए। 'नाकामा सेना परिचालनको विषयमा छलफल भएको तर अहिले केही निर्णय छैन,' अगाडि थपे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.