|

बारा : बाराका पत्रकार वीरेन्द्र साहको हत्यामा संलग्न फरार एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा महागढीमाई नगरपालिका–२ तेलकुवाका ४५ वर्षीय हरेराम पटेल भन्ने हरेराम प्रसाद कुर्मी रहेका छन्।

कुर्मीलाई कोल्हवी नगरपालिका–४ सपहीबाट बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले सुराकीको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए।

कुर्मीलाई लुकिछिपी बसेका अवस्थामा कोल्हवी नगरपालिकाको सपहीबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक पंगेनीले बताए। ‘पक्राउ परेका कुर्मी भोलि जिल्ला अदालत पेश गरिनेछ,’ उनले भने, ‘अदालतबाट आदेश भएपछि जेल चलान गरिनेछ।’

यसरी मारिएका थिए साह

वि.सं. २०६४ असोज १८ मा तत्कालीन उम्जन गाविसको पिप्रा वसतपुरबाट इनर्वासिरा गाविसका पत्रकार साह अपहरणमा परे। 

अपहरणमा तत्कालीन नेकपा माओवादीका नेता हरेराम पटेल भन्‍ने हरेराम प्रसाद कुर्मी, कुन्दन फौजदार भन्‍ने नरेन्द्र कुमार फौजदार, राम एकवाल सहनी र मनेजर गिरी समेत ५ जना संलग्न थिए। 

अपहणकारीले पत्रकार साहलाई तत्कालीन डुमरवान गाविस–७ स्थित जंगलमा गोली हानी हत्या गरेका थिए। पत्रकार साहको शव खाडल खनेर गाडेको अवस्थामा एक महिनापछि कात्तिक २२ मा फेला परेको थियो।

हत्यामा संलग्न तीन जना यसअघि नै पक्राउ परिसकेका छन्। प्रहरीले ईनर्वासिराका मनेजर गिरीलाई एक वर्षपछि वि.सं. २०६५ असोज १९ गते र त्यसको तीन महिनापछि खोपवा-८ का राम एकवाल सहनीलाई २०६५ पुष २१ गते पक्राउ गरेको थियो। उनीहरुलाई सर्वस्वसहित जन्म कैद हुने  ठहरी फैसला भएको छ।

प्रहरीले पाँच महिनाअघि गडहल-५ का कुन्दन फौजदार भन्ने नरेन्द्र फौजदारलाई पक्राउ गरेको छ। उनलाई बारा जिल्ला अदालतको आदेशमा २०७६ फागुन २९ गते पुर्पक्षको लागि कारागार चलान भएका छन्। उनी मुख्य योजनाकारका रुपमा प्रहरीले सार्वजनिक गरेको थियो।

एक जना अझै फरार

हत्यामा संलग्न भएका ४ जना पक्राउ परेका छन् भने एकजना अझै फरार छन्। हत्यामा संलग्न लालबहादुर चौधरी अझै फरार छन्। 

उनीविरुद्ध बारा जिल्ला अदालतको वि.सं. २०६८ जेठ १६ गते, पुनरावेदन अदालत हेटौंडाको २०६९ साउन १६ गते र सर्वोच्च अदालतको २०७३ पुष २० गते फैसला आदेश भएको छ। फैसला आदेशले अभियुक्त चौधरी हकमा फरार करार गरी मुद्दा मुल्तबीमा रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.