|

  • श्रीशीशा राई

सुनसरी : आमन्त्रण बुढासुब्बा गोल्डकपको १९ औँ संस्करणको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। शनिबार धरानमा सम्पन्‍न फाइनल खेलमा पुलिसले संकटालाई सडन डेथमा ३–२ गोल अन्तरले पराजित गर्‍यो। 

यसअघि निर्धारित समयको खेलमा दुबै टोलीले १\१ गोलको बराबरी खेलेका थिए। पहिलो हाफको २८ औं मिनेटमा संकटाका राज पौडेलले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको ३३ औं मिनेटमा पेनाल्टीमार्फत जुमनु राईले पुलिसका लागि बराबरि गोल फर्काए। अनिल गुरुङले पुलिसका बुद्ध लामालाई फाउल गरेपछि यो अवसर प्राप्त भएको थियो।

निर्धारित समयको खेल १\१ गोलको बराबरीमै टुंगिएपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो। टाइब्रेकरमा दुबै टोलीले सुरुवाती ५\५ प्रहार गर्दा ३\३ गोलमात्रै गर्न सकेन। त्यसपछि सडेन डेथमा पुलिसले जित निकाल्यो।

प्रतियोगिताको उत्कृष्ट खेलाडी संकटाका गोलरक्षक विनय श्रेष्ठ घोषित भए। उनले यमाहा मोटरसाइकल पुरस्कार पाए। उत्कृष्ट नवप्रतिभाको उपाधि धरान फुटबल क्लव निलोका रजिन सुब्बाले जिते। फाइनल खेलको 'म्यान अफ द म्याच' पुलिसका रोशन खड्का घोषित भए ।

जीतसँगै नेपाल पुलिस क्लव गोल्डकपको पाँचौ पल्ट विजेता बनेको छ । यसअघि दोस्रो (०५६), चौथो (०५८), पाँचौ (०५९) र दशौँ ०६४ को विजेता रहीसकेको नेपाल पुलिस  तेस्रो (०५७), छैठौँ (०६०) बाह्रौँ ०६६) र गत वर्षको १८ औँ संस्करणको उपविजेता समेत हो।

संकटाको उपस्थिती बुढासुब्बा गोल्डकपको इतिहासमा पहिलोपल्ट हो। पहिलो सहभागीतामा नै यसले उपविजेताको सफलता हात पारेको छ। यो सिजनमा यो क्लब यसअघि नै नारायणगढमा सम्पन्न विकास रनिङ शिल्ड र आठौँ सिमरा गोल्डकप जितिसकेको छ।

एकसाता अघि फागुन ५ गते शुरु भएको यस संस्करणमा दुई विदेशी टिम युनाइटेड सिक्किम र दुर्गापुर स्टिल कलकत्ता सहित १० टिम सहभागी थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.