|
फोटोहरु : अर्जुन आचार्य

विराटनगर : शनिबार विराटनगरबाट पहिलो पटक माउन्टेन फ्लाइट गर्नेहरु निकै हर्षित थिए। पहिलो फ्लाइटमा मोरङका प्रमुख जिल्ला अधिकारी, पूर्व क्षेत्र प्रहरी कार्यालयका डिआइजीलगायत यहाँका उच्च पदस्थ कर्मचारी र उद्योगीहरू समावेश भए।

विराट एक्स्पोको अवसरमा सुरु भएको माउन्टेन फ्लाइटले एक पटक फेरि विराटनगर पर्यटकीय सहरको रुपमा विकास हुन खोजिरहेको सन्देश दिएको छ।

विराटनगर आफैं पर्यटक आकर्षण गर्न सकिरहेको छैन, तर हिमालयको दृश्यावलोकनका लागि विराटनगर टेक्न बाध्य पार्ने गरी माउन्टेन फ्लाइटको सुरुवात गर्न खोजिरहेको छ। त्यही प्रयास स्वरुप शनिबारदेखि विराटनगरबाट विश्वको सर्वोच्च शिखर सगरमाथासहित अन्य ८ हजार मिटर भन्दा बढी उचाई भएका हिमाल मकालु, कंचनजंघा, गौरिशंकरलगायतको दृश्यावलोकन गराउने उद्देश्यले माउन्टेन फ्लाइट सुरु भएको हो। 'सामान्य नेपालीले नेपालका हिमाल पर्वत श्रृङ्खलाको महत्व नबुझेको हुनसक्छ, तर जस्ले माउन्टेन फ्लाइट गर्छ उसले त्यसको महत्व बुझ्छ,'’ उद्योग वाणिज्य संघ मोरङका अध्यक्ष मुकेश उपाध्यायले भने,'खास नेपाल त्यहाँ छ नेपालको शान, मान र इज्जत त्यही हिमाल र हिमश्रंखलामा छ।’

विराटनगर आउने भारतीय पर्यटकलाई लक्षित गरी माउण्टेन फ्लाइट सञ्चालन गर्न यहाँका पर्यटन व्यवसायीले लामो समयदेखि पहल गरिरहेका थिए। 'अहिले सम्भव भयो,' पर्यटन व्यवसायी भविष श्रेष्ठले भने,'निरन्तरता दिन आवश्यक देखिरहेकोले सबै पक्षले सहयोग गरिदिनुपर्‍यो।’

माउण्टेन फ्लाइट सञ्चालक समितिका संयोजकसमेत रहेका भविश श्रेष्ठका अनुसार नागरिक उड्ययन प्राधिकरणले फागुन १४ देखि १६ गते सम्मका लागि माउण्टेन फ्लाइट सञ्चालन गर्न स्वीकृति दिएको थियो। यति एयरलाइन्ससँग नियमित फ्लाइटबाटै उडान भर्न आग्रह गरिए पनि नमानेपछि जहाज चार्टर नै गरेर माउण्टेन फ्लाइट सञ्चालनमा ल्याइएको हो।

विराटनगरबाट एक उडानमा १९ जनाले कञ्चनजंघादेखि गणेश हिमालसम्मको अवलोकन गर्न पाउनेछन्। ५० मिनेटको माउण्टेन फ्लाइट गर्न चाहनेका लागि प्रतिव्यक्ति ९ हजार रुपैयाँ शुल्क तोकिएको छ। काठमाडौंबाट हुने माउन्टेन फ्लाइटको भाडा भने १३ हजार ५ सय रुपैयाँ पर्ने बताइएको छ।

‘माउण्टेन फ्लाइट पूर्वको पर्यटन विकासका लागि ऐतिहासिक कदम हो’ मोरङका प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले भने,‘यहाँका मानिसले काठमाडौं गएरै माउन्टेन फ्लाइट गर्नुपर्ने बाध्यता हट्नुको साथै भारतीय पर्यटकका लागि विराटनगर नजिकको गन्तव्य हुनसक्छ।’

यहाँका पर्यटन व्यवसायीले माउन्टेन फ्लाइट गर्ने विषयमा भारतमा प्रचार प्रसार सुरु गरिसकेका छन्। उनीहरुले लामो समयदेखि सरकारसँग विराटनगर विमानस्थलको बिस्तार र माउण्टेन फ्लाइटको एजेण्डा राखेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.