|

काठमाडौं : स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि क्याम्पसहरुमा उम्मेदवारी दर्ता गराउने दिन शनिबार अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता हुन सकेन। विभिन्न विद्यार्थी संगठनले क्याम्पस प्रशासन र निर्वाचन समितिमा ताला लगाएपछि उम्मेदवारी दर्ता हुन नसकेको हो।

ताला लाउने काममा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अधिकांश साना संगठन सहभागी छन्। शनिबार काठमाडौंका चारवटा क्याम्पसमा मात्र त्रिविको कार्यतालिका अनुसार उम्मेदवारी दर्ता भएका छन्। ती क्याम्पसमा पनि सबै संगठनबाट र सबै पदहरुमा उम्मेदवारी दर्ता भएका छैनन्। भक्तपुरको सानो ठिमी क्याम्पस र भक्तपुर क्याम्पस, थापाथली इन्जिनियरिङ क्याम्पस र रत्न राज्य लक्ष्मी क्याम्पसमा आंशिक रुपमा मात्र उम्मेदवारी दर्ता भएको छ।

यी बाहेक अन्य क्याम्पसमा तालाबन्दी, झडप र आगजनीसम्मका घटना भए। विद्यार्थी संगठनहरुबीचको विवादका कारण मीनभवनको नेपाल कमर्श क्याम्पस र प्रदर्शनीमार्गको रत्नराज्य लक्ष्मी क्याम्पसमा आगजनी नै भएको छ। यद्यपी आगजनीबाट ठूलो क्षति भएको छैन।

नेपाल ल क्याम्पसमा विभिन्न विद्यार्थी संगठनले लगाएको ताला चुनाव नगर्ने सहमतिपछि खुलेको छ। त्रिवि केन्द्रीय क्याम्पसमा अनेरास्ववियु क्रान्तिकारी प्रचण्डको विरुद्धमा अन्य संगठनले ताला लगाएका छन्। घण्टाघरको त्रिचन्द्र क्याम्पसमा नेविसंघले ताला लगाएको छ। उसले क्याम्पसको पढाइ सकिएपछि पनि स्ववियुमा बस्न पाउनुपर्ने माग गर्दै तालाबन्दी गरेको हो। प्रदर्शनी मार्गको रत्न राज्य लक्ष्मी क्याम्पसमा अनेरास्ववियुले फर्जी भर्ना गरेको भन्दै नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी विप्लवले तालाबन्दी गरेको छ।

शंकरदेव क्याम्पसमा फर्जी विद्यार्थी भर्ना गरेको भन्दै अखिल क्रान्तिकारी वैद्य, अखिल क्रान्तिकारी विप्लवले तालाबन्दी गरेको छ।  सोह्रखुट्टेको सरस्वती क्याम्पसमा पनि तालाबन्दी छ। पशुपति बहुमुखी क्याम्पस चावहिलमा नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी वैद्य र अनेरास्ववियु क्रान्तिकारी विप्लव र नयाँ शक्ति विद्यार्थी युनियनले ताला लगाएका छन्।

महेन्द्ररत्न क्याम्पस ताहाचल, थापाथली इन्जिनियरिङ क्याम्पस, पब्लिक युथ क्याम्पस, पद्मकन्या क्याम्पस, बानेश्वर क्याम्पस, पुल्चोक इन्जिनियरिङ क्याम्पसमा पनि तालाबन्दी भएको छ।

स्ववियु चुनावबारे कसले के भने? 

प्रा. डा. सुधा त्रिपाठी, शिक्षाध्यक्ष तथा स्ववियु निर्वाचन केन्द्रीय समिति संयोजक

हामीले त समन्वय मात्र गर्ने हो चुनावमा भाग लिने त विद्यार्थीहरुले हो। तर उनीहरु नै तालाबन्दी गरिरहेका छन्। हामी रात दिन स्ववियु चुनाव भनेर लागिरहेका छौं। तर विद्यार्थी संगठनहरु नै ताला लगाउँदै हिँडेका छन्। आचार संहिता लागू गर्ने, निर्वाचन कार्यतालिका लागू गर्ने र चुनाव सफल बनाउने सबै विद्यार्थीहरुकै हातमा छ।

पुष्प शाही, उपाध्यक्ष, नेपाल विद्यार्थी संघ 

विद्यार्थी संगठन इमानदार भए भने चुनाव हुन्छ। नभए स्ववियुको अस्तित्व खतरामा छ। २८ वर्षे उमेर हद अनि पढाइ सकिएपछि स्ववियु पदाधिकारी र सदस्य संवत्: खारेज हुने व्यवस्थाले समस्या ल्याएको हो। त्रिविले पनि विद्यार्थी भिडाउनका लागि स्ववियु चुनावको नाटक गरेको जस्तो लाग्यो। विद्यार्थी संगठनका पदाधिकारीलाई प्रलोभनमा पारेर २८ वर्षे उमेर हद राखेर नियमावली बनाए। त्यसले समस्या सिर्जना गरेको हो।

नविना लामा, अध्यक्ष अनेरास्ववियु

नेविसंघले गर्दा चुनाव भाँडिने अवस्था आयो। जति सम्झाउँदा पनि मानेनन्। गुण्डागर्दी गरेर क्याम्पसहरुमा असहज अवस्था सिर्जना गरिरहेका छन्। यति धेरै पैसा खर्च भइसक्यो। अब चुनाव सार्न पाइँदैन फागुन १८ गते जसरी पनि चुनाव गर्नुपर्छ। होइन भने त्रिवि पदाधिकारी र सबै क्याम्पसका प्रमुखहरुले राजिनामा दिनुपर्छ। चुनावका लागि सहज वातावरण बनाउन त्रिविले सकेको छैन। आचार संहिता पनि कार्यान्वयन भएको छैन।

नरेन्द्र न्यौपाने, अध्यक्ष अनेरास्ववियु क्रान्तिकारी प्रचण्ड

हामी चुनाव गराउनका लागि जोडतोडले लागेका छौं। तर अनेरास्ववियु र नेविसंघ ताला लगाउने र ताला लगाउनेलाई सहयोग गर्न जोडतोडले लागेका छन्। कतिपय विद्यार्थी संगठनका कार्यकर्ताले त ताला किनेरै राखेजस्ता छन्। उनीहरुले जतिखेर पनि ताला लगाउने काम गरेका छन्। नेविसंघ र अनेरास्ववियु आफूले जित्ने ठाउँमा ताला खोल्नुपर्ने भन्छन् आफूले हार्ने ठाउँमा ताला लगाउन प्रतिस्पर्धा नै गर्छन्। यसरी चुनावको वातावरण बन्दैन। जसरी पनि फागुन १८ गते चुनाव गर्न हामी त्रिविलाई पनि आग्रह गर्छौं। क्याम्पसहरुमा हाम्रो पक्षमा वातावरण बनेको देखेर चुनाव नचाहनेहरु स्ववियु चुनाव रोक्न लागिरहेका छन्। २८ वर्ष कटिसक्दा पनि क्याम्पसको राजनीति गर्न बसेकाहरु र पढाइ सकिएपछि पनि स्ववियुमा बस्न चाहनेहरुले चुनावको वातावरण विगारेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.